
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका छन् ।
शुक्रबार संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले चिकित्सा शिक्षा आयोग र सीटीईभीटीको विवादका कारण रोकिएका परीक्षाहरू सञ्चालन गर्न छलफल भइरहेको बताएका हुन् ।
त्यसका लागि आयोगले जाँचबुझ गरी कोटा निर्धारण गरेर परीक्षा लिने अवस्थासम्म पुर्याउने उनको भनाइ छ । सीटीईभीटीको बैठक बसी स्तरोन्नति हुन चाहेका कलेजहरूको सम्बन्धमा निर्णय गरेर आयोगमा पठाइने उनको भनाइ छ ।
त्यस्तै, नर्स तथा स्वास्थ्यकर्मीको जनशक्ति उत्पादनका लागि नीतिगत तहमै अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।
“अपग्रेडको चरणमा रहेका ४८ वटा स्वास्थ्य संस्थालाई सम्बन्धन दिने निर्णय पनि पहिले नै भइसकेको रहेछ, अब परीक्षा लिने सम्बन्धमा परिषद्सँग बसेर सम्बन्धन दिएर अपग्रेड गरिने संस्थाहरूलाई आयोग समक्ष प्रस्तुत गर्छौं” उनले भने ।
आयोगले आफ्नो प्रक्रिया पुर्याएर यसै वर्ष पठन–पाठन हुनसक्ने वातावरण बनाउन मन्त्रालय, आयोग र सीटीईभीटीबीच समझदारी भएको पनि मन्त्री राईले भने ।
“प्राविधिक शिक्षालाई गुाण्स्तरीय बनाउन सीटीईभीटीलाई पनि नयाँ ढंगले रिस्ट्रचरिङ गर्नुपर्ने आवश्यकता छ । यसको गुणस्तरलाई कस्तो किसिमबाट हेरदेख गर्दा बढी गुणस्तरीय पनि बनाउन सकिन्छ र दुई संस्थाहरूको बीचमा सहकार्य हुन्छ भन्ने कुरालाई पनि ध्यानमा राखेर हेर्नुपर्छ”, मन्त्री राईको भनाइ छ ।