काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले अघि सारेका माग पूरा नभए भदौ २९ गतेदेखि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्तिमार्फत केसीले सरकारले आफूसँग गरेका प्रतिबद्धता कार्यान्वयन नभए भदौ २९ गतेबाट सत्याग्रह थाल्ने जनाएका हुन् ।
उनले आफूले विभिन्न माग राखेर गएको साउन २९ गतेबाट सत्याग्रह थाल्ने तयारी गरेको तर सरकारका तर्फबाट विभिन्न प्रतिबद्धता आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेको पनि स्मरण गराएका छन् ।
डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटको विषयमा पनि ध्यानाकार्षण गराएका छन् । सरकारले आजमात्र आयोगको उपाध्यक्षमा प्राडा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । त्यसै क्रममा अहिलेसम्म सिफारिस समितिले तीन जना व्यक्तिको नाम सिफारिस गरिसकेको हुनुपर्छ ।
समितिले आयोगको उपाध्यक्ष पदका लागि योग्य उम्मेदवारहरुकै नाम सिफारिस गरेको हाम्रो विश्वास छ । तर सरकारले भने तीन जनामध्ये कुनै एकलाई छान्दा योग्यतम तथा कुनै राजनीतिक प्रभाव, दबाब, प्रलोभन वा स्वार्थको द्वन्द्वमा नपरी आयोगलाई स्वायत्त निकायका रुपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई नै छान्नुपर्ने हुन्छ । त्यसका लागि चिकित्सा शिक्षाका क्षेत्रमा कार्यकुशलता प्रमाणित गरेको तथा कुनै पनि स्वार्थ समुहसित कुनै सम्बन्ध नभएको विगतमा कुनै अनियमिततामा नमुछिएको व्यक्तिलाई छान्नुपर्ने हुन्छ । त्यसो नभएमा चिकित्सा शिक्षा आयोगले गत चार वर्षमा स्थापित गरेको साख तथा संस्थागत गरेको सुधार जोखिममा पर्ने हुन्छ ।
त्यसैले कुनै अनुचित प्रभावमा नपरी योग्यतम व्यक्तिलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउन सरकारको ध्यानाकर्षण गराउँछौं । त्यसो नभएर भोलिका दिनमा आयोगको कार्य सम्पादन प्रभावित भयो भने त्यसले उत्पन्न गर्ने जटिलताका लागि सरकार जिम्मेवार हुनेछ ।
साथै हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं ।
डा गोविन्द केसी
२०८० भदौ २१