site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । 

अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा गत साउन २८ गते कालीगण्डकीमा आएको बाढीका पीडित परिवारलाई आइतबार कागबेनीमा राहत वितरण गरिएको हो ।  

बाढीबाट प्रभावित भएका परिवारलाई अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले राहत वितरण गरेका हुन् । उनले गत हप्तामात्र पोखरामा पत्रकार सम्मेलन गरी कागबेनीमा अप्रत्याशितरुपमा आएको बाढीबाट ठूलो क्षति पुगेको र कैयौँ पीडित भएकाले उनीहरुलाई आवश्यक सहयोग गर्न नेपाल सरकार र उसका निकाय एवं स्थानीय सरकार तथा व्यक्तिलाई आग्रह गरेका थिए ।  

पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिए ।  

बाढीले यहाँका कम्तीमा २९ घरपरिवारलाई पूर्णरुपमा क्षति पुर्याएकाले तत्कालका लागि केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर उनीहरुलाई यी अत्यावश्यकीय सामग्री प्रदान गरिएको बडालले जानकारी दिए ।  

बाढीबाट मुक्तिनाथ, दामोदरकुण्ड एवं कागबेनीधाम जाने तीर्थालुको आवास तथा भोजनका लागि कागबेनीमा मुक्तिनाथ बाबाको संकल्पमा निर्माण भएको अतिथि आश्रम गृहमा पनि क्षति पुगेको छ । 

उक्त विकट धार्मिक क्षेत्रमा जाने तीर्थालुको सेवामा रहेको सो आश्रम पनि बाढीले बगाएपछि साधुसन्त एवं टाढाबाट मुक्तिक्षेत्रमा पुग्ने तीर्थयात्रीका लागि अब यहाँका होटलबाहेक अर्को विकल्प नरहेको बताइएको छ । उक्त आश्रमबाट तीर्थालुलाई निःशुल्क सेवा प्रदान हुँदै आएको थियो । 

उक्त बाढीबाट एक अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । नगद सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख बराबरको क्षति भएको छ । सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत १४ वटा गरी भौतिक पूर्वाधारतर्फ २१ करोड दुई लाख बराबरको क्षति पुगेको विवरण संकलन गरिएको थियो । 

व्यक्तिका ५० वटा घरमा ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । उक्त बाढीबाट २९ वटा घरमा पूर्ण क्षति पुगेको छ । नौवटा गोठमा पूर्ण र १५ वटामा आंशिक क्षति भएको तथा बाढीले बगाउँदा २४ वटा पशु चौपाया मरेका छन् । रासस
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro