site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हठात् चौरासी पूजा सम्झिएँ 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मूलतः अंग्रेजी भाषामा आख्यान लेख्ने सर्जक हुन्, प्रज्वल पराजुली । औपन्यासिककृति ‘ल्यान्ड ह्वेर आई फ्ली’मार्फत उनी पाठकमाझ परिचित छन् । अहिले त्यसकै नेपाली अनुवाद बजारमा ल्याइएको छ, ‘चित्रलेखाको चौरासी’ । यसअघि नै अंग्रेजी कथाकृति ‘द गुर्खाज डटर’ लेखिसकेका पराजुली सिक्किमको कालिङपोङवासी हुन् । ‘द गुर्खाज डटर’को पनि नेपाली अनुवाद सार्वजनिक भइसकेको छ, ‘गोर्खाकी छोरी’ । इलाम मामाघर भएका उनले बेलायतबाट उच्चशिक्षा हासिल गरेका छन् । प्रज्वलका कृतिहरू बेलायतको ‘डिलन थोमस प्राइज’ र मोगफोर्ड प्राइज’का लागि मनोनयनमा पर्न सफल भएका थिए । दुवै नेपाली अनुवाद पुस्तकको प्रकाशक नेपालय हो । बिनु लुइँटेलको अनुवादमा ‘चित्रलेखाको चौरासी’ तयार भएको छ । प्रस्तुत छ, उनै साहित्यकार पराजुलीसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली संस्कृतिको एउटा पाटो चौरासी पूजाका विषयमा लेख्न कसरी आकर्षित हुनुभयो ?
चौरासी पूजाको विषयवस्तुसित म लछप्पै भिजेको छु भन्ने लाग्छ । मैले दुनियाँ हेरेँ, तर चौरासी पूजा, चौरासीऔँ जन्मदिन उत्सवका रूपमा मनाउने परम्परा कहीँ पनि भेटिनँ । नेपालीबाहेक अन्त कहीँ कतै यो उत्सव मनाउने गरेको पाइनँ । मैले कतिलाई सोधेँ पनि, तर अहँ यस्तो परम्परा कतै भेटिनँ । हेर्नुस्, दिवाली तमिलनाडुमा पनि मनाउने गरिन्छ, दिल्लीमा पनि । सिक्किममा पनि मनाइन्छ, नेपालमा पनि । दसैँ नेपालीहरूले पनि मनाउँछन् । बंगालीहरूले पनि मनाउँछन् । तर, नेपालीहरूले मात्रै मनाउने उत्सव यही एउटा चौरासी पूजा रहेछ । भारतमा बस्ने कतिपय नेपाली परिवारमै पनि चौरासी पूजाको प्रचलनबारे थाहा रहेनछ ।

कस्तो राम्रो परम्परा, चौरासी वर्ष पुगेपछि गरिने पूजा । वृद्धावस्थालाई सेलिब्रेट गर्ने एउटा फरक परम्परा । अर्को पाटोबाट हेर्ने हो भने हुनसक्छ, यो मृत्युलाई पनि स्वीकार गर्न खोजिएको होला । मेरो मावल र घरतिरका गरेर चारैजना हजुरबुवा–हजुरआमाहरूले चौरासी पूजा गर्नुभएको छ । यो पूजा पारिवारिक मिलनको विशेष उत्सव भएको मैले महसुस गरेको छु ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

म एउटा कथा लेख्ने मनस्थितिमा थिएँ । त्यसमा नेपालीपन प्रस्तुत होस् भन्ने चाहना थियो । त्यसका लागि दसैँ वा तिहारको विषय समेट्नु स्वाभाविक थियो । तर, चौरासी पूजाको उत्सव नेपाली परिवारमा मात्रै हुने भएकोले यही विषयलाई प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।

चौरासी पूजाका विषयमा उपन्यास नै किन ?
म सानै हुँदा मामाघरका हजुरबुवाको चौरासी पूजा काठमाडौंमा भएको थियो । सिक्किम बस्नुहुने हजुरबुवाको चौरासी पूजा म अलिक ठूलो भइसकेपछि कालिङपोङमा भएको थियो । चौरासी पूजाले त्यसै बेला मलाई अत्यन्तै प्रभावित बनाएको थियो । त्यसैले त्यो कतै मेरो मन–मस्तिष्कमा विद्यमान थियो । जब मैले अंग्रेजी उपन्यास ‘ल्यान्ड ह्वेर आई फ्ली’को परिकल्पना गरेँ, त्यसमा नेपाली चाडपर्व, नेपाली सांस्कृतिकतालाई प्रस्तुत गर्दै गएँ ।

Royal Enfield Island Ad

तर, कताकता के नपुगे नपुगेजस्तो अनुभव भइरह्यो । म आफ्नो कथानकदेखि आफैँ सन्तुष्ट हुन सकिरहेको थिइनँ । हठात् मैले हजुरबुवा–हजुरआमाहरूको चौरासी पूजा सम्झिएँ । ओहो, यो विषय त मैले उठाएकै रहेनछु ! भन्ने लाग्यो । यसरी मेरो अंग्रेजी उपन्यासमा चौरासी पूजाको प्रवेश भयो । कथाभन्दा उपन्यासबाट यो विषयलाई अझै फैलाउन सकिन्छ भन्ने ठानेँ ।

चौरासी पूजालाई उपन्यासमा प्रस्तुत गर्दा प्रकाशकको दृष्टिकोण कस्तो रह्यो ?
उपन्यास लेख्दै जाँदा बेलाबेला आफ्ना परिवार, साथीभाइलाई पनि लेखेका अंशहरू पढ भनेर पठाउँथे । उनीहरूले प्रश्न गर्थे— हैन, यो चौरासी पूजाबारे युरोप अमेरिका वा अष्ट्रेलियाका पाठकहरूले के बुझ्छन् ? तर, म लेख्दै गएँ । यद्यपि, मलाई नै थाहा थिएन मेरो किताब कसकसले प्रकाशित गर्छ, कुनकुन देशमा पढिन्छ भनेर । उपन्यास लेख्दा मेरो अनुमान थियो– किताब भारतबाट प्रकाशित हुन्छ । अरू दर्जन बढी देशहरूमा पनि प्रकाशित होला भन्नेतर्फ मैले सोचेको पनि थिइनँ । त्यसैले उपन्यास लेख्दा स्वतन्त्र भएर लेखेँ । अंग्रेजीमै लेख्दा पनि त्यसमा धेरै नेपाली शब्दहरू प्रयोग गरेँ । ती शब्दहरू नेपाली उपन्यासमा पढ्दा थाहा हुँदैन, किनभने ती सबै अंग्रेजीबाट नेपालीमा अनुवाद भइसकेका छन् ।

यसमा उच्च मध्यमवर्गीय बाहुन परिवारको कथा पस्केको छु, जुन मैले बाल्यावस्थादेखि नै देख्दै आएका कुरा हुन् । त्यसका लागि मैले कुनै पनि किसिमको अनुसन्धान गर्नु परेन । किनकि, मैले भोगेको भूगोल र परिवेश नै त्यही थियो । मैले अरू कुनै विषयमा लेखेको भए त्यसबारेमा अनुसन्धान गर्नुपर्थ्यो होला । त्यहाँका बारेमा बुझ्नुपर्ने हुन्थ्यो होला । तर, यसका लागि मैले केही पण्डितहरूसँग भेटेर चौरासी पूजाको मूल विषयमा बुझ्नुबाहेक अरू केही गर्नु परेन ।

धेरै देशमा यो किताब छापिन्छ भन्ने थाहा पाएको भए उपन्यासको स्वरूप फरक हुन्थ्यो ?
यदि, यो उपन्यास धेरै मुलुकबाट छापिन्छ, धेरै देशका पाठकहरूले पढ्नुहुन्छ भन्ने थाहा पाएको भए सायद मैले अर्कै पाराले लेख्थेँ हुँला । धन्न थाहा भएन । नेपाल र भारतका पाठकले चौरासी पूजा भन्ने बुझिहाल्छन् भन्ने लागेको थियो । त्यसैले पनि स्वतन्त्र भएर लेख्न सकेँ । लेखनका क्रममा कुनै तनाव भएन । पुस्तकका पाठक अरूका देशका पनि हुनेछन् भन्ने सोचेको भए अर्कै तरिकाले लेख्नुपर्थ्यो ।

बेलायतका प्रकाशकलाई पाण्डुलिपि बुझाउँदा कस्तो प्रतिक्रिया पाउनुभयो ?
प्रकाशक आफैँ दंग परे । उनले किताब पढ्दा आफूलाई मजा लागेको कुरा गरे, मसँग । ‘यस्तो पनि हुँदो रहेछ !’ भन्ने प्रतिक्रिया थियो उनको । उनले केही सन्दर्भहरूलाई स्पष्ट पार्न भने – जस्तो, सेलरोटी हाम्रा लागि सामान्य भए पनि उताका मानिसका लागि नौलो थियो । त्यसैले यस्ता सन्दर्भलाई स्पष्ट पार्दै गएँ ।

पछि अमेरिकाका प्रकाशकले नेपाली शब्दहरू आफूलाई मन परे पनि तिनलाई अंग्रेजीमा अनुवाद गरिदिन भने, मैले त्यसै गरिदिएँ । बेलायतका प्रकाशकले भने नेपाली शब्दहरूको अनुवाद खोजेनन् । उनले पाठकले आफैँ खोजेर नेपाली शब्दको अर्थ बुझ्छन् भन्ने कुरा गरे । र, कृति पनि त्यही रूपमा प्रकाशित भयो ।

हेर्नुस्, म चाहन्छु– मेरा किताब बढीभन्दा बढी पाठकले पढून् । कतिले भन्छन् नि– मलाई पाँचजना गम्भीर र बुद्धिमान पाठक भए पुग्छ, अरूले पढे पढ्छन्, नपढे पढ्दैनन् । म त्यो मान्दिनँ । म चाहन्छु– मेरो सिर्जना अनगिन्ती पाठकहरूले पढून् ।


उपन्यासकी पात्र चित्रलेखाबारे केही भन्नुस् न !
चौरासी वर्षकी बूढी हजुरआमा चित्रलेखाजस्तो पात्र उनीहरूले कहिले पढेकै थिएनन् । तिनले मलाई सोधे, किन चित्रलेखाजस्तो पात्र लेख्यौ भनेर । खासमा म भारतीय लेखकहरूले लेखेको अंग्रेजी किताबहरू पढेर हुर्किएँ । ती किताबहरूमा एउटी हजुरआमा हुन्थिन्, जो कौसीमा गएर अचार बनाउँथिन् । मिठोमिठो परिकार बनाएर खुवाउँथिन् ।

मैले सोचेको हजुरआमा अलिक पृथक् थिइन्, जो नपढेको भए पनि व्यावसायिक सोचकी थिइन् । उनी राजनीतिज्ञलाई थर्काउन सक्ने सामर्थ्य राख्थिन् । जो बिँडी खाएर सबैका अघिल्तिर उभ्भिन्थिन् । उता तिनको खरो व्यवहारले नातिनातिनासँग पनि चर्काचर्की हुन्थ्यो । यसरी मैले त्यही पात्रको सेरोफेरो उपन्यासको कथा बुन्दै गएँ । नेपाली चाडपर्व पनि त्यसमा मिसाउँदै थिएँ ।

बेलायतवासी नेपालीमा चौरासी पूजाको प्रचलन छ ?
मैले त्यहाँ चौरासी पूजा गरेको देखेको छैन । एउटा परिवारमा चौरासी पूजा भएको थियो रे भन्नेसम्म सुनेको छु । अहिले विश्वलाई ग्लोबल भिलेज भनिन्छ, अमेरिकाबाट १६/१७ घण्टामा भारत आइपुगिन्छ । पहिलेजस्तो जान–आउन गाह्रो छैन । वर्षमा दुई खेप आउन–जान सक्छन्, जो कोही । त्यसले गर्दा चाडपर्व, सांस्कृतिक परम्परामा परिवारजन सहभागी हुँदै आएका छन् । विदेशमा बस्ने कतिपय नानीको व्रतबन्ध र गुन्युचोली गर्न आफ्नो घर फर्किने गरेको मैले देखेको छु । त्यसैले विदेशमै सांस्कृतिक उत्सव मनाउनुभन्दा घरतिरै फर्किंदा सांस्कृतिकताको जगेर्ना पनि हुँदै आएको जस्तो मलाई लाग्छ ।

‘चित्रलेखाको चौरासी’मा नेपाल र भारतको नेपाली समाजलाई कसरी प्रस्तुत गर्नुभएको छ ?
चित्रलेखाको परिवार भनेको उच्च मध्यमवर्गीय बाहुन परिवार हो । चित्रलेखा न्योपानेको कथा छ, यसमा । मलाई कतिपयले उपन्यासमा नकारात्मक सोच रहेको पनि टिप्पणी गरे । तिनलाई भनेँ— मैले उपन्यास लेखेको हुँ, उपन्यासमा राम्रो नराम्रो सबै पक्ष समेटिन्छन् । सबै खालका चरित्र मैले उपन्यासमा प्रस्तुत गरेको छु । कुनै एउटा पक्षको वाहवाही गर्ने काम त मेरो होइन नि !

हेर्नुस्, नेपालीहरू जहाँजहाँ रहेका छन्, खुसी रहेको मैले पाएको छु । जति दुःखपीडामा पनि हाँसिरहेको पाएको छु । मेलै तिनै कुरालाई उपन्यासमा प्रस्तुत गरेको छु । यसमा सबै खालका प्रवृत्तिलाई दर्साउन खोजेको छु । उपन्यासका पात्रहरूले आफैँलाई रिप्रिजेन्ट गरेका छन् ।

‘चित्रलेखाको चौरासी’को सन्देश के हो ?
मलाई कतिजनाले भने पनि, ‘चौरासी पूजाको प्रचलन हाम्रो परिवारमा पनि भित्र्याउनुपर्यो, यो त हामीले कहिले पनि सुनेका थिएनौँ’ भनेर । यो एकदुईजनाले मात्रै नभएर धेरैले भनेका छन् । यसलाई सकारात्मक रूपमा लिएका छन् ।

नेपाली साहित्य कत्तिको पढ्नुहुन्छ ?
पढ्छु । तर, चाहेजति पढ्न सकिरहेको छैन । महिनामा एउटा नेपाली किताब पढ्छु नै । हो, नेपालीबाट अंग्रेजीमा अनुवाद भएर आएका किताबहरू भने भेटेजति सबै पढेको छु । पढ्छु नै ।

नेपाली साहित्यको अंग्रेजी अनुवाद कस्तो पाउनुभएको छ ?
कुनै पनि कृति अनुवाद गरिँदा अलिकति त्यसको स्वाद खस्किन्छ नै । त्यसो भन्दैमा अनुवाद नगर्ने हो भने त्यो किताबलाई विश्वबजारमा कसरी पुर्याउने ? त्यसैले नेपाली किताबहरूलाई विश्वबजारमा पुर्याउन अंग्रेजी भाषामा मात्रै होइन, फ्रेन्च, जर्मन, जापानिज, स्प्यानिस, बंगाली जुनै भाषामा होस्, अनुवाद गराउनुपर्छ । कृति अनुवाद हुनु भनेको विश्वका हरेक ठाउँमा उपस्थित हुनु हो । विश्व बुझ्न अर्काका कथा, उपन्यास, विचार त बुझ्नैपर्छ । यो अत्यन्त महत्त्वपूर्ण विषय हो ।

अब हेर्नुस्, म अंग्रेजीमा किताब लेख्छु, तर मेरा उपन्यासका पात्रहरूले नेपालीमा संवाद गर्छन् । एकार्कासित नेपालीमा बोलिरहेका हुन्छन् । अहिले त म आफैँ दंग छु, मैले नेपालीमा सोचेर अंग्रेजीमा लेखेको किताब नेपाली भाषामा अनुवाद भएको छ । आज हामी जुन युगमा छौँ, त्यो अनुवाद साहित्यले विश्वलाई प्रभावित बनाइरहेको युग हो । अनुवाद साहित्यका लागि यो समय अत्यन्तै राम्रो भएको मलाई लाग्छ । राम्रो लेख्नुपर्छ, नेपाली साहित्य अंग्रेजी वा अन्य भाषामा अनुवाद हुन्छ हुन्छ ।

‘चित्रलेखाको चौरासी’बाट कस्तो अपेक्षा गर्नुभएको छ ?
यसको अंग्रेजी संस्करणलाई पाठकहरूले जुन रूपमा मन पराइदिनुभयो, मलाई लाग्छ– नेपाली संस्करणलाई पनि पाठकहरूले त्यतिकै मन पराउनुहुनेछ । म विश्वस्त छु । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro