आधारभूत तहमा साहित्य विषय पढाउने गुरुले हरेक सप्ताहान्तमा स्वतन्त्रलेखन प्रतियोगिता गराउनु हुन्थ्यो । विद्यार्थीले पाठ्यपुस्तकमा पढेका, जीवनमा भोगेका, सुनेका र अरू लेखक साहित्यकारका पुस्तक पढेर आउँथे र प्रतियोगितामा भाग लिने गर्थे । एक दिन आफूलाई मनपर्ने कुनै एउटा विषयमा लेख भनेर गुरुले प्रतियोगिता सुरु गरिदिनु भयो ।
भुवनले “उपियाँ” शीर्षकमा यसरी लेख्यो - एउटा गाढा खैरो रंगको सानो परजीवीको नाम उपियाँ थियो । त्यो घर पालुवा पशुपंक्षीका भुत्लामा लुकेर बस्थ्यो । उपियाँका पछाडिका खुट्टा लामा र सजिलै उफ्रने खालका थिए । त्यो एक फुटसम्म उफ्रिन सक्थ्यो र एक जनावरबाट अर्को जनावरमा उफ्रिएर सर्थ्यो । त्यसले जस्को शरीरमा आश्रय लिन्थ्यो त्यसैको रगत चुसेर सताउथ्यो । सानो भए पनि वीर थियो ठूल्ठूला जनावर पनि उस्ले टोकेपछि जमिनमा लडिबुडी गर्थे ।
भुवन मध्यमस्तरको विद्यार्थी थियो उस्ले उपियाँका विषयमा लेखेको यो लेख सबै हिसाबले उत्तम भएकाले सर्वोत्कृष्ट घोषणा भयो । सबै शिक्षक र साथीले उस्को मुक्तकण्ठले प्रशंसा गरे ।
अर्को सप्ताहान्तमा फेरि कथा प्रतियोगिता आयोजना भयो । यसपटक गरुले कुकुरका विषयमा लेख्न लगाउनु भयो । भुवनले कुकुरका विषयमा यसरी लेख्यो - कुकुर एउटा घर पालुवा जनावर हो । यस्को शरीर भुत्लाले ढाकेको हुन्छ । कुकुरको भुत्लामा उपियाँ लुकेर बस्थ्यो । उपियाँका पछाडिका खुट्टा लामा र सजिलै उफ्रने खालका थिए । त्यो एक फुटसम्म उफ्रिन सक्थ्यो एउटा जनावरबाट अर्को जनावरमा उफ्रिएर सर्थ्यो । त्यसले कुकुरको शरीरमा आश्रय लिन्थ्यो र त्यसैको रगत चुसेर सताउँथ्यो । सानो भए पनि वीर थियो ठूलाठूला जनावर पनि उस्ले टोकेपछि जमिनमा लडीबुडी गर्थे ।...
यसपटक मुसुमुसु हाँस्दै गुरुले भुवनको लेख पढ्नुभयो । सर्वोत्कृष्ट नभए पनि तिम्रो लेखन शैली ठीक छ । सबै विषयमा लेख्न सक्नेगरी राम्ररी पढ । अध्ययन गरे तिमी राम्रो लेख्न सक्छौ भन्दै भुवनलाई धाप मार्नु भयो ।
अर्को सप्ताहान्तमा गुरुले “गाई” विषय तोकेर लेख्न लगाउनु भयो । भुवनले “गाई” विषयमा फेरि उसैगरी लेख्यो - गाई एउटा घर पालुवा जनावर हो । यस्ले हामीलाई दूध दिन्छ । यस्को शरीर भुत्लाले ढाकेको हुन्छ । गाईको भुत्लामा उपियाँ लुकेर बस्थ्यो । उपियाँका पछाडिका खुट्टा लामा र सजिलै उफ्रने खालका थिए । त्यो एक फुटसम्म उफ्रिन सक्थ्यो एउटाबाट अर्को जनावरमा उफ्रिएर सर्थ्यो । त्यसले गाईको शरिरमा आश्रय लिन्थ्यो र त्यसैको रगत चुसेर सताउँथ्यो । ठूलाठूला जनावर पनि उस्ले टोकेपछि जमिनमा लडीबुडी गर्थे ।
भुवनको लेख पढेर गुरु हैरान हुनुभयो र उहाँले एक्लै राखेर सम्झाउनु भयो । तिमिलाई मैले सबै विषय अध्ययन गरेर आऊ है भनेको थिएँ । किन तिमीले तयारी गरेनौ भनेर सोध्नुभयो । अर्कोपटक त्यही दोहोर्याउन नमिल्नेगरी विषय छनोट भयो ।
यो पटक गुरुले “माछा” विषय तोकेर लेख्न लगाउनुभयो । भुवनले माछा विषयमा पनि फेरि उसैगर लेख्यो - माछा पानीमा बस्ने प्राणी हो । यस्को शरीर भुत्लाले ढाकिएको हुन्थ्यो भने माछाको भुत्लामा उपियाँ लुकेर बस्थ्यो ।
उपियाँका पछाडिका खुट्टा लामा र सजिलै उफ्रने खालका थिए । त्यो एक फुटसम्म उफ्रिन सक्थ्यो एक जनावरबाट अर्को जनावरमा उफ्रिएर सर्थ्यो । त्यसले माछाको शरीरमा आश्रय लिन्थ्यो र त्यसैको रगत चुसेर सताउँथ्यो । ठूलाठूला जनावर पनि उस्ले टोकेपछि जमिनमा लडीबुडी गर्थे ।...
अब भुवन उपहासको पात्र बन्न थाल्यो । उस्को जुन छवि निर्माण भएको थियो त्यसमा ह्रास आउन थाल्यो । सुरुमा उस्को लेखन शैली ठीक थियो तर उस्ले आफ्नो क्षमता विकास र अध्ययनमा ध्यान दिएन । आफ्नो पहिलो लेखनले पाएको प्रशंसाबाट माथि उठ्न सकेन । यही लेख्यो भने सफल भइने रहेछ भन्ने बुझ्यो र एउटै विवरणलाई हरेक विषयमा घुसाई रहयो ।
हर्क साम्पाङ्ग
विसं २०७९ को स्थानीय चुनावमा धरानका जनताले पुराना राजनीतिक दलविरुद्ध विद्रोह गर्दै हर्क साम्पाङलाई अनुमोदन गरे । मतपरिणाम नआउदासम्म उनी विजय प्रक्षेपित उमेद्वार नभए पनि आफ्नै ल्याकतले औसत उमेद्वार थिए । पानी उनको पहिलो विषय थियो । काकाकुल धराने जनतालाई पानी खुवाउने उनको एक सूत्रीय चुनावी एजेण्डा थियो ।
चुनाव जितेपछि देशविदेशमा बस्ने नेपालीलाई धरानमा पानी ल्याउन सहयोगको अपिल गर्दै श्रम अभियान सुरु गरे । नभन्दै धरानका मात्र हैन टाढाटाढाबाट मानिससमेत स्वःस्फूर्त श्रम अभियानमा जोडिन धरान पुगे । उनीहरूबाटै संकलन गरेको चन्दाबाट श्रम अभियान चल्यो, राज्यकोषलाई केही भार परेन ।
एक वर्षसम्म धरान श्रमदानको सहर बन्यो । उनको एक सूत्रीय अठोट, पसिनाले भिजेका लुगा र हाते माईकमार्फत भिरपाखा र चोकमा गरेको सम्बोधन र परिचालनले देशभरका जनतालाई नेता त यस्तो पो हुनुपर्छ भन्ने र जनप्रतिनिधिलाई यसो पो गर्नुपर्ने रहेछ भन्ने सन्देश दियो ।
झापाको कनकाई नगरपालिकाका एकजना पूर्व वडाध्यक्षको क्यान्सरका कारण अल्पायुमै निधन भयो । निधन हुनुअघि उनले आफनो फेसबुकमा स्टाटस लेखेका थिए - “हर्क साम्पाङ जस्तै जनप्रतिनिधि बन्ने धोको थियो तर म त ढलेँ ।"
चुनाब जितेको करिब एक वर्षभित्र भालु खोला, सर्दु, लर्दु निसाने र कोकाह खोलाको पानी धरानका चोक चोकमा झारे । भिरपाखामा लस्कर लागेर पाइप तानेको र पानी आइपुगेको दिन चोक चोकमा लुगा लगाई लगाई पखालिएको दृश्य मेहनत र सफलताका रोमाञ्चित दृश्य थिए ।
उनको जनतासम्म पुग्ने, श्रमका लागि अपिल गर्ने र विरोधीलाई तहलगाउने माध्यम सामाजिक संजाल हो । छिनछिनमा फेसबुकमा स्टाटस लेख्दै, टिकटक र फेसबुकमा गिटार बजाउँदै लाइभ बसेर गुँइठे, झोले, जाबो, लखन्तरे भन्दै गीत गाएर विरोधीलाई तह लगाए ।
जनश्रमदानको अभियानले देशविदेशमा उनको प्रशंसा भयो । सबै हिसाबले जनताले दिएको पहिलो म्यान्डेडमा हर्क साम्पाङले उत्कृष्ट अङ्क पाए ।
हर्क साम्पाङले खानेपानी अभियान सकिएपछि वृक्षरोपणको अर्को श्रम अभियान चलाए । सामाजिक सञ्जालबाट श्रमदानका लागी अपिल गरे । व्यक्तिका जग्गामा वृक्षरोपण गरेको विवाद र प्रतिवाद भए पनि छिनछिनमा फेसबुकमा स्टाटस लेख्दै, टिकटक र फेसबुकमा गिटार बजाउँदै लाइभ बसेर गुइँठे, झोले, जाबो, लखन्तरे भन्दै गीत गाएर विरोधीलाई तह लगाए ।
पसिनाले भिजेका लुगा र हाते माइकमार्फत भिरपाखा र चोकमा गरेको सम्बोधन र परिचालनले सबैको मन जित्यो । खानेपानीजस्तो सर्वोत्कृष्ट नभए पनि वृक्षरोपण अभीयान सफल भयो । उनको कामलाई सबैले प्रशंसा गरे ।
तेस्रो विषयका रूपमा उनले आफैँ जातीय द्वेषको विषयलाई प्रवेश गराए । निश्चित दलित समुदायलाई ठेस पुग्ने शब्द सामाजिक सञ्जालमा प्रयोग गरेर अरू कसैलाई गाली गरे । समाजमा विभिन्न समस्या, अवसर र चुनौती हुन्छन् । तिनलाई समाधान र सामना गर्ने विधि पनि भिन्न हुन्छन् । उनले प्रयोग गरेको शब्दले निश्चित दलित समुदायलाई चोट पुग्यो । यसमा उनले क्षमायाचना गर्नुपर्छ भनेर धेरैले उनलाई सुझाब दिए तर उनले आफ्नो पुरानै शैली अपनाए । छिनछिनमा फेसबुकमा स्टाटस लेख्दै, टिकटक र फेसबुकमा गिटार बजाउदै लाइभ बसेर गुइँठे, झोले, जाबो, लखन्तरे भन्दै गीत गाएर विरोधीलाई तह लगाउने कोसिस गरे । तर, उनले क्षमा नमागी धर पाएनन् ।
यसैबीच डेंगुसम्बन्धी स्वास्थ्य समस्याले धरान आक्रान्त बन्यो । डेंगुकौ संक्रमणको 'हटस्पट' बनिरहँदा धरानका जनताले हर्क साम्पाङले स्वास्थ्य क्षेत्र र जनप्रतिनिधिबीच समन्वय नगरेको गुनासो गर्दै डेंगु नियन्त्रणको वैज्ञानिक विधि अपनाउन सुझाव दिए । तर, उनले आफ्नो पुरानै पारा छोडेनन् । छिनछिनमा फेसबुकमा स्टाटस लेख्दै, टिकटक र फेसबुकमा गिटार बजाउँदै लाइभ बसेर गुँइठे, झोले, जाबो, लखन्तरे भन्दै गीत गाएर विरोधीलाई तह लगाउने कोसिस गरे ।
सबै विषयमा एउटै भुत्ला र उपियाको बयान घुसाउने भुवनलाई जसरी गुरुले भुत्लै नभएको पानीमा बस्ने माछा शीर्षक दिनुभयो त्यसै गरी सबै काममा एउटै विधि अपनाइरहेका हर्क साम्पाङका अगाडि समस्या समाधानको कुनै सर्वमान्य विधि नै नभएको धर्म र जातीय विवाद आइपुग्यो । थोरबहुत यस्मा उनको पनि हात छ भनेर जनताले सोच्न थालेका छन् ।
मेयर साम्पाङ हरेक जसो भाषणमा धरानका जनताले बहुमत दिएर जिताएकाले मेरो सहमतिबिना यहाँ केही पनि हुन सक्दैन र हुनु हुँदैन भन्ने गरेका छन् । तर, हिन्दुहरूको पवित्र क्षेत्रमा मन्दिरको ठ्याकै अगाडि क्रिस्चियनको चर्च निर्माण भयो । धरान उपमहानगरसँग स्वीकृति लिएर, भौतिक संरचना निर्माणको नक्सा पास गरेरमात्र भवन निर्माण गर्न पाइन्छ । तर, हर्क साम्पाङ अदालततिर औला देखाएर भन्दैछन् - यो अदालतले मात्र रोक्न सक्छ ।
संसारभर धार्मिक विवाद द्वन्द्वको भट्टी हो । बाटो वारिपारि जुनदिनसम्म यी संरचना रहन्छन् तिनको सम्बन्ध बारुद र सलाइको जस्तो हुन्छ । कुनै पनि बेला विस्फोट हुन सक्छ । अहिले मन्दिरकै अगाडि चर्च बनाएर जित्यौँ भन्नेलाई जुनसुकै बेला धरानले मात्र हैन मानव समुदायले नै लज्जित हुने घटना घट्न सक्छ भन्ने हेक्का हुनुपर्छ ।
मन्दिरभन्दा अलि वरपर चर्च सार्न लगाऊ भनेर सबै जना मेयर साम्पाङलाई सुझाव दिँदैछन् । पढेलेखेका उत्तरआधुनिक जीवनशैली भएका देशविदेश घुमेका लाहुरे र तिनका सन्ततिको बाक्लो बसोबास भएको शिक्षित, विवेकी धरानको सार्वजनिक स्थानमा कुनै पनि जनावरको काटमार आफैँमा शौभनीय हैन ।
मासुका लागि जनावरको काटमार गर्दा पनि सुरक्षितरूपमा जनवारलाई पीडा नहुनेगरी गर्नुपर्छ । राष्ट्रिय जनवारको हत्या कानुनले वर्जित गरेको हुन्छ । आफ्नो आसपासका धेरैको आस्थामा चोट पुग्छ भने हत्या नगरेकै राम्रो भन्ने सन्देश दिन मेयर साम्पाङ्गलाई सुझाव दिँदैछन् ।
तर साम्पाङ भने उही पुरानै शैली अपनाएर छिनछिनमा फेसबुकमा स्टाटस लेख्दै, टिकटक र फेसबुकमा गिटार बजाउदै लाइभ बसेर गुँइठे, झोले, जाबो, लखन्तरे भन्दै गीत गाएर विरोधीलाई तह लगाउने कोसिस गर्दैछन् । हुलका बलमा समस्या समाधान गर्ने कोसिस गर्दैछन् ।
माछाको भुत्लामा पनि उपियाँ उफार्ने भुवनको विधिले जसरी उसैको छविलाई हाँसोको पात्र बनायो त्यसैगरी जुनसुकै समस्यामा पनि गुइँठे, झोले, जाबो, लखन्तरे भन्दै हाते माइक र सामाजिक सञ्जालबाट गाली गरेर भिडबाट समाधान खोज्ने हर्क साम्पाङको विधिले जनताले अपेक्षा गरेको राजनिति एवं सामाजिक व्यवहार सफल हुँदैन बरु भुवनकै नियति दोहोरिन्छ । त्यसभन्दा पर क्षमतावान, स्वतन्त्र उमेदवारप्रति जनतामा नकरात्मक छाप पर्नेछ । सामाजिक द्वन्द्वका नयाँ बीउ रोपिने त छँदैछ ।
(कनकाई - १ झापा)