काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालका करण केसीले पहिलो विकेट लिएका छन् ।
टस हारेपछि फिल्डिङमा आएको नेपालबाट छैटौँ ओभर बलिङका लागि आएका करणले पाकिस्तानका फखर जमानललाई पभेलियनको दिशा देखाए । करणले १४ रनमा खेलिरहेका फखरलाई विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।
हाल ५.३ ओभरको खेल सकिँदा पाकिस्तानले एक विकेट गुमाएर २१ रन बनाएको छ ।
एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो ।
एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।