site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाललाई नयाँ इतिहास कोर्ने अवसर, १५ वर्षपछि पाकिस्तानी भूमिमा एसिया कप

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । 

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । उसो त नेपाली टिममा आत्मविश्वास पनि देखिन्छ ।

“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

“हामी पहिलोपटक एसिया कप खेलिरहेका छौँ । यो हामी सबैका लागि ठूलो उपलब्धि हो । हाम्रा लागि यो विशेष अवसर पनि हो । पाकिस्तान निकै राम्रो टिम हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ, भारतविरुद्ध पनि । हामी यहाँका लागि योग्य थियौँ । त्यसैकारण आज यहाँ छौँ । उनीहरूसामु चुनौतीपूर्ण खेल पस्किने छौँ,” रोहितले थपे ।

पाकिस्तानी टिमको कप्तानी सम्हालिरहेको बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानका ब्याटर हुन् । नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो 'प्लेइङ–११' सार्वजनिक गरिसकेको छ । जसमा बाबरबाहेक इमाम उल हक (तेस्रो) र फकर जमान (पाँचौँ) गरी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष १० भित्र रहेका दुई ब्याटर छन् । बलिङतर्फ साहिनसाह अफ्रिदी एकदिवसीय बलिङ वरीयताको नवौँ स्थानमा छ ।

नेपालले पहिलोपटक एसिया कप खेल्दैगर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ । यसैकारण सफल आयोजकमा नाम लेखाउने दौडमा रहेको पाकिस्तानका लागि पनि यो खेल निक्कै महत्त्वपूर्ण छ । नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान कप्तान आजमले पनि नेपाललाई सहज रूपमा नलिएको प्रतिक्रिया दिएका थिए । 

“मलाई ठ्याकै मिति थाहा छैन । तर, पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ । त्यसकारण अहिलेको टिममा धेरैजसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ । उनीहरूसँग राम्रा खेलाडीहरू छन् । त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहज रूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,” नेपाली टिमको बारेमा प्रश्न गर्दा पाकिस्तानी कप्तान बाबरले भनेका थिए । 

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमनेसामनेको अवसर पाएको नेपाली टिम गत हप्ता नै पाकिस्तानको यात्रामा निस्किएको थियो ।

पाकिस्तानी कप्तान आजमले क्रिकेटमा कुनै पनि टिमलाई कमजोररूपमा लिन नहुने भन्दै नेपालसँगको खेलका लागि पनि अन्य टिमविरुद्ध जसरी नै योजना बनाएको बताए ।

“क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहज रूपमा लिनु हुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्दछ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ,” बाबर थप्छन् । 

नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलोपटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रूपमा । 

तर, भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्न पाएन । भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो ।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो ।  पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन । 

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । क्रिकेट महाशक्तिबीचको  शक्ति संघर्षका कारण अहिलेको संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो । तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’को प्रस्ताव गर्‍यो । 

पाकिस्तानको यो मोडेलअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्ने छ । पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’मा भारत सहमत भएसँगै प्रतियोगिताबारे उब्जिएका शंका–उपशंका मेटिएको थियो ।

जे होस्, आज नेपाली टिममात्र होइन समर्थकले पनि क्रिकेट इतिहासमा एउटा नयाँ अनुभव गर्दै छन् । विश्वको 'नम्बर वान' टिमलाई पन्छाउन सजिलो नभए पनि असम्भव भने नरहेको पाकिस्तानकै कप्तानले अप्रत्यक्षरूपमा बताइसकेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro