site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनी एमालेमा 'गुटगत प्रतिष्पर्धा' : बहालवाला अध्यक्ष र केन्द्रीय सदस्य मैदानमा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)मा प्रदेश अधिवेशनको गर्मागर्मी सुरु भएको छ । लुम्बिनी प्रदेशबाट प्रदेश अधिवेशनको सुरुवात हुँदै छ । भदौ १६ र १७ गते हुने अधिवेशनका लागि नेताहरूको दौडधुप चलिरहेको छ ।

अधिवेशनका लागि एकहजार चारजना प्रतिनिधि चयन गरिएको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । 

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको तयारी तीव्ररूपमा भइरहेको नेताहरू बताउँछन् । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिवेशनका लागि उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरू पनि उपस्थित हुने तय भएको छ । 

बन्द सत्र पनि सम्मेलन केन्द्रमा नै हुने छ । प्रतिनिधिहरूलाई खाना र बस्ने व्यवस्था मिलाइएको छ । पहिले खानाको मात्रै व्यवस्था गर्ने भनिए पनि अहिले प्रतिनिधिहरूलाई बसोबासको पनि व्यवस्था मिलाइएको नेताहरूको भनाइ छ । 

Global Ime bank

महाधिवेशनले २०५ सदस्यीय कमिटी चुन्ने छ । एमालेको दशौँ महाधिवेशनपछि वडा र जिल्लाको अधिवेशन भए पनि प्रदेशको अधिवेशन भएको थिएन । प्रदेश कमिटी केन्द्रले नै घोषणा गरेको थियो । अहिले महाधिवेशन हुन लागेको हो ।

गुटगत प्रतिष्पर्धाको सम्भावना

प्रदेशको नेतृत्वका लागि तीनजना आकांक्षी देखिएका छन् । नेताहरू अधिवेशनलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल गुटको प्रतिष्पर्धाको रूपमा अर्थ्याउँछन् । 

प्रदेशका बाहलवाला अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य हरि रिजाल र सचिव लक्ष्मण आचार्य नेतृत्वमा दाबी गरेका छन् । तर, मुख्य प्रतिष्पर्धीका रूपमा कँडेल र रिजाल देखिएको नेताहरू बताउँछन् ।

बहालवाला अध्यक्ष कँडेल उपाध्यक्ष पौडेल निकट हुन् भने रिजाल महासचिव पोखरेल निकट हुन् । प्रदेश अध्यक्ष चुनिनेमा नेताहरूको आआफ्नै दाबी छ । सकेसम्म सर्वसम्मत गर्ने पक्षमा उनीहरू देखिन्छन् । 

कँडेलले आफैँ सर्वसम्मत भएर अध्यक्षमा दोहोरिने जिकिर गरे । सँगैका नेताहरू केन्द्रीय सदस्य भइसकेकाले आफूलाई नै पार्टीले प्रदेशको नेतृत्व दिने विश्वासमा उनी देखिन्छन् । 

“मसँगैका साथीहरू केन्द्रीय सदस्य भइसकेका छन् । पहिले मलाई केन्द्रीय सदस्य नबनाएर प्रदेश अध्यक्ष बनाइएको हो,” उनी भन्छन्, “मेरै नाममा सर्वसम्मत हुन्छ । अरू साथीहरू प्रतिष्पर्धाका लागि आउनुहुन्छ भन्ने विश्वास छैन ।”
उनले नेतृत्वका लागि पार्टीमा छलफल हुने पनि बताए ।

“छलफल त भइहाल्छ नि । उमेदवारी दर्ता गर्नुअघि पनि हुन्छ । उमेदवारी भइसकेपछि पनि हुन्छ,” कँडेल भन्छन्, “मेरो नाममा सर्वसम्मत हुन्छ भन्ने लाग्छ । चुनावमा लान खोजे त छुट्टै कुरा हो ।”

उता केन्द्रीय सदस्य रिजाल पार्टी बनाउनका लागि केन्द्रीय सदस्य छाडेर आफू प्रदेशको नेतृत्वको दाबेदारी गरेको बताउँछन् । केन्द्रीय सदस्य भन्दा प्रदेश अध्यक्षको काम धेरै भएको उनको बुझाइ छ ।

“पार्टी बनाउनका लागि प्रदेश आएको हो । केन्द्रीय सदस्यको काम थोरै हुन्छ । प्रदेश अध्यक्ष कार्यकारी भएकाले प्रदेशभरी गतिविधि गर्न सक्छौँ,” उनले भने, “पार्टीलाई व्यवस्थित गर्न सक्छौँ । अराजकता छन् भने अन्त्य गर्न सकिन्छ । त्यसैले मेरो दाबेदारी हो ।”

बाहलवाला नेतृत्वले राम्रो काम गर्न नसकेकाले आफू नेतृत्वको दाबी गरेको रिजाल बताउँछन् । 

“अहिलेको नेतृत्वले खासै राम्रो काम गर्न सकेजस्तो मलाई लागेन । त्यसो भएकाले अध्यक्षका लागि केन्द्रीय सदस्य छाडेर आएको छु,” रिजाल भन्छन्, “प्रदेशमा बस्ने धेरै साथीहरूले प्रदेश बलियो बनाउन अघि सर्न आग्रह गर्नुभयो । मेरो पनि मन थियो ।”

रिजाल पनि आफू नै सर्वसम्मत हुने दाबी गर्छन् । चुनाव भए पनि हार्दिकताका साथ प्रतिष्पर्धा हुने उनको भनाइ छ । 

“अधिवेशन भनेको निर्वाचन हो । सर्वसम्मत भएन भने भोटिङ हुन्छ । भोटिङ भनेको अन्तिम कुरा हो,” उनले बाह्रखरीसँग भने, “त्यसअघि छलफल हुन्छन् । निर्वाचन नहोला । सर्वसम्मत मै हुन्छु । सर्वसम्मतको माहोल बनिसकेको छ ।”

प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यले नेतृत्वको आकांक्षा राखेका छन् । तर, उनी प्रवल दाबेदार देखिएका छैनन् । उनी पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने पक्षमा देखिएका छन् । 

“प्रदेशको बाहलवाला सचिव भइसकेँ । नेतृत्वका लागि मेरो दाबेदारी हो,” उनी भन्छन्, “ तर, सर्वसम्मत नेतृत्व छानिँदा राम्रो हुन्छ । सर्वसम्मत हुँदा म पनि हुन सक्छु, अरू पनि हुन सक्छन् ।”

सम्भावना कसको कति ? 

प्रदेशको नेतृत्वमा दाबेदारमध्ये सर्वसम्मत भएमा बाहलवाला अध्यक्ष कँडेलको सम्भावना रहेको नेताहरू बताउँन् । एमालेका एक नेता रिजाल केन्द्रीय कमिटीमा रहेकाले कँडेलकै सम्भावना प्रवल रहेको बताउँछन् ।  

“रिजालजी राजकीय सेवा सुविधा प्राप्त गरेको व्यक्ति र बहालवाला केन्द्रीय सदस्य हो,” ती नेता भन्छन्, “कँडेलजीको अरू केही छैन । उहाँ प्रदेश कमिटीको अध्यक्ष मात्रै हो । त्यसैले सहमति हुँदा कँडेलकै सम्भावना प्रवल छ ।”

तर, निर्वाचन भएमा माहोल रिजालको पक्षमा बन्ने बुझाइ ती नेताको छ । 

“निर्वाचनमा जाँदा प्रतिनिधि छनोटको अवस्था हेर्दा रिजालजीको सम्भावना छ,” ती नेताले सुनाए । 

रिजाल तत्कालीन मुख्यमन्त्री शंकर पोखेरलका नेतृत्वमा स्वास्थ्यमन्त्री बनेका थिए । उनी मंसिर ४ मा भएको निर्वाचनमा भने पराजित भएका थिए । 

रिजाल आफूलाई महासचिवको साथ रहेको भनेर हल्ला चलाइएको बताउँछन् । आफूलाई पार्टी अध्यक्षकै साथ रहेको दाबी उनको छ । 

“मसँग कार्यकर्ता हुनुहुन्छ । मलाई महासचिव मात्रै होइन, एमालेको सबैको सपोर्ट छ । पार्टी अध्यक्ष, उपाध्यक्ष सबैको साथ छ,” रिजालले भने । 

प्रदेश अधिवेशनलाई नजिकबाट हेरेका एक केन्द्रीय नेता बाहिर हल्ला गरिएजस्तो उमेदवारहरूलाई नेताहरूको साथ बाहिरीरूपमा नदेखिएको बताउँछन् । 

“उहाँहरू (पौडेल–पोखरेल) बाहिर त्यसरी लागेको देखिँदैन । हाम्रो फलानो उमेदवार हो भनेर भन्नुभएको पनि छैन ,” उनी भन्छन्, “तर, दुई नेताको नाम बाहिर आएको छ । भित्री रूपमा सदाशयता त हुन सक्छ ।” 

अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि पनि नेताहरूबीच छलफल भइरहेको पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।  

“अनौपचारिक छलफल भइरहेको छ । सहमतिका हिसाबले नेतृत्व चयन गर्ने कोसिस भइरहेको छ,” उनले सुनाए, “सहमति नभए सौहार्दपूर्ण वातावरणमा प्रतिष्पर्धा हुन्छ । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुन्छ ।” 

अधिवेशनका लागि पोलिट ब्युरो सदस्य भट्टराई, सूर्य थापा, ठाकुर गैरेलगायतका नेताहरू पनि सक्रियताका साथ लागेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement