site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

केही समययता नेपालका विभिन्न भागमा धार्मिक सामाजिक विद्वेष फैलाउने कुचेष्टामा निहित स्वार्थी तत्त्व सक्रिय हुनथालेको देखिएको छ । पूर्वाञ्चलकै अपेक्षाकृत प्रगतिशील मानिने सुन्दर नगरी धरानमा समेत यस्तो कुचेष्टा हुनु गम्भीर क्षोभ र चिन्ताको विषय हो ।

सामाजिक सञ्जालमा धरानमा ‘गोरु काटेर मासु खाएको’ प्रचार गरियो । त्यसको विरोधमा सामाजिक सञ्जालमै तीव्र प्रतिवाद भएको थियो । त्यही क्रममा धार्मिक अतिवादीहरूले धरानमै शक्ति प्रदर्शनको तयारी गर्न थाले । त्यसबाट शान्ति र व्यवस्था खलबलिने जोखिम बढ्यो ।  

त्यही जोखिम रोक्न सुनसरीका प्रमुख जिल्ला अधिकारीले धरानमा निषेधाज्ञा जारी गरेको हुनुपर्छ । धरानमा शक्ति प्रदर्शन नगर्न त्यहाँका राजनीतिक दलका प्रतिनिधिले पनि आग्रह गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले पनि संयम अपनाउन अपिल गरेको छ । 

राजनीतिक दलका प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोगले वार्ताबाट विवाद समाधान गर्न पनि आह्वान गरेका छन् । धरानमा गरिने भनिएको शक्ति प्रदर्शन नभएपछि तनाव बिस्तारै शिथिल हुँदैजाने अपेक्षा गर्न सकिन्छ । तर, ढुक्क हुन भने सकिँदैन । 

गोरु काटेर खाएको सामाजिक सञ्जालमा प्रचार गर्नुको तात्पर्य बहुसङख्यक गौपूजक हिन्दु समुदायलाई उत्तेजित गराउनु नै देखिन्छ । नत्र, गोरु काट्नु सार्वजनिकरूपमा प्रचार गर्नुपर्ने कुनै बहादुरी होइन । बरू, यसबाट भोज खानेहरूप्रति अर्को समुदायमा द्वेष र क्षोभ उत्पन्न हुनसक्छ ।

यसैले राज्य सञ्चालन गर्ने व्यक्ति र सञ्चारकर्मीहरूले पनि स्थितिको गम्भीरताप्रति सजग रहनुपर्ने देखिन्छ । यसैले, धरानमा शान्ति सुव्यवस्थामात्र होइन सामाजिक सद्भाव पनि फर्काउन स्थानीय राजनीतिक नेतृत्व र नागरिक समाजका अगुवाहरूले सक्रियता एवं संवेदनशीलता देखाउन आवश्यक देखिन्छ ।

सामाजिक सञ्जालमा कुनै समुदायलाई अप्रिय लाग्ने दृश्य र विचार व्यक्त गरेर सद्भाव खलबल्याउने कुचेष्टालाई यत्तिकैमा क्षमादान गर्ने हो भने भविष्यमा त्यस्तै हर्कत बढ्न सक्छ । अर्कातिर कानुनी कारबाही वा बहुसङ्ख्यक समुदायको प्रतिवादले पश्चातापको साटो प्रतिशोध जन्मन पुग्छ । 

सद्भाव र सहिष्णुता नेपाली समाजको मौलिक चरित्र हो । यसलाई खलबल्याउने कुचेष्टा गर्नेहरू कानुनका मात्र होइन समाजका पनि शत्रु हुन् । यसैले अहिले  राज्य, नागरिक समाज र राजनीतिक दलका प्रतिनिधिका साथै सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तामा पनि गम्भीर संवेदनशीलता जरुरी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro