site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सपना खोज्न तातो भूमिमा हिँडेका उनी 

उनी भन्ने गर्थे जहिल्यै पनि– मन छैन मलाई पटक्कै आफ्नो देश छाेडेर परदेश जान । जे गर्छु आफ्नै देशमा गर्छु । जति सक्छु आफ्नै भूमिमा गर्छु ।

उनले उस बेला खाएको कसम यस्तै थियो ।

विनयशील थिए उनी । ज्ञानले भरिएको थियो उनको मगज । मिलनसार, सहयोगी भावनाले भरिएका । स्कुलमा गुरुजनको प्रिय । गाउँघरमा जेहेन्दार केटाको उदाहरण बनेका थिए उनी ।

Dabur Nepal
NIC Asia

हिमालको काख, सुन्दर पहाडी जिल्लामा थियो उनको घर । बाआमा, एउटी बहिनी र हजुरमुमा समेत गरेर पाँचजनाको सुन्दर परिवार । सोचेरै बनाएको जस्तो । सुखी थियो उनको परिवार । देउताको आशीर्वाद परेजस्तो ।

बा कृषिमा आबद्ध, आमा घरायसी कामकाजमा व्यस्त । हजुरमुमा आमाका लागि मजाको साथी । बहिनी र उनको दिनचर्या स्कुल जानु–आउनु अनि बचेको समय घरायसी काममा सघाउनु ।

आज असार १५, तल मसेर खोलाछेउमा रहेको बगर खेतमा रोपाइँ छ । स्कुलमा बर्खे बिदा भइसकेकोले बा र बहिनी बिउ काटेर रोपारलाई पुर्याउने काम गर्दै छन् । दाजु बाउसेहरूसँग मिलेर हिलो सम्याउने काम गर्दै छन् ।

आमा खेतालाहरूका निम्ति खाजा बनाउने जिम्मा पाएर घरमै व्यस्त छिन् । रोपाइँ धमाधम हुँदै छ । असारको महिना, छिनछिनमा दर्के पानी पर्दा रोपारहरू घुम ओढ्दै असारेगीतमा लट्ठिन्छन् । हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्छन् ।

आमाले खाजा खुवाउने काम गर्छिन् । खाजा खाएर सबै घरतिर लाग्छन् ।

बाआमा, छोराछोरी चारैजना घर फर्किन्छन् । दिनभरको कामले लखतरान शरीरलाई बिस्तरामा लगेर बिसाउँछन् ।

मिठो हुन्छ गाउँले जिन्दगी । पाखापखेरा, टारीबेँसी, उकालीओराली गर्दै जीवनको यात्रा लम्ब्याउन पाउने । आफ्नै मिहिनेतमा फलेको अन्न, ताजा सागसब्जी, ताजा फलफूल खाना पाउने ।

जरुवाको चिसो पानी पिउँदै पहाडी खोलाको झरनामा डुबुल्की मार्दै बिताएका क्षण सम्झँदै वाग्मती र रुद्रमती देख्दा भने टिठ लागेर आउँछ ।

बर्खे बिदा सकियो । पुनः स्कुले जीवन सुरु भयो । यो वर्ष अन्तिम हो, उनको स्कुले जीवनको । अहिले दशौँ कक्षामा अध्ययन गर्दै छन् ।

टेस्टपछि एसईईको तयारी गर्नु छ । त्यसैले यो वर्षको दसैँ–तिहार खासै उल्लासपूर्ण लागिरहेको छैन उनलाई । जसरी हुन्छ राम्रो अंक ल्याएर उच्च शिक्षा हासिल गर्ने सपना छ उनको ।

मनले सोचेजस्तै आफूले आफैँलाई नियन्त्रणमा पार्न सफल भए । दसैँ–तिहारभन्दा पनि आफ्नो लक्ष्यलाई माथि राखेर उनी अघि बढे । मिहिनेतसाथ उनले गरेको प्रयास सफल भयो ।

टेस्ट परीक्षा राम्रो अंक ल्याएर उत्तीर्ण गरे । एसईईको निम्ति उनी डटेर लागे र परीक्षामा सामेल भए । यसपटक पनि उनको मिहिनेत खेर गएन । सफलताको घाम झुल्कियो उनको जीवनमा ।

पछिको पढाइ घरबाटै भ्याउने ठाउँमा थिएन । कि जिल्ला सदरमुकाम जानुपर्दथ्यो या काठमाडौं । सहज सदरमुकाम भए पनि सपनाको सहर काठमाडांै उनको छनोटमा पर्यो ।

काठमाडांै सुन्दा र देख्दा जतिसुकै सुन्दर भए पनि विकट गाउँको मान्छेका लागि ठूलो चुनौती हो, यहाँ बाँच्नु र सपनाहरू केलाउनु ।

तथापि, केही रकम गोजीमा राखेर पसे काठमाडौं, हजार सपनाहरू सजाएर । गोजीको रकमले डेरा लिए । प्लस–टुमा भर्ना लिए, ठिकठिकै कलेजमा ।

पढाइ सुरु भएसँगै विस्तारै अपरिचित काठमाडौंसँग परिचित हुन थाले । उता गाउँमा विनापैसा बाँचेका दिन सम्झँदै यता काठमाडौंमा पैसाविना जीवन नचल्ने कालो यथार्थले उनलाई हायलकायल बनायो ।

गाउँ बसेर सोचेको काठमाडौं र यहीँ आएर भोगेको काठमाडौंमा पाएको भिन्नताले उनको मनमा विराट सपना र धारिला अभिमान विस्तारै पलाउन थाल्यो ।

बिहानको क्लास सकेर, दैनिक आठ–दश घण्टा खटेर पाएको मासिक तलबले खाना र भाडा तिर्न नपुग्दा मन दुख्थ्यो । बेलाबेला फोन गरेर बाआमा र बहिनीसँग झुटो खुुसी बाँड्थे ।

बाले सोध्थे, ‘बाबु, कस्तो रहेछ काठमाण्डु ?’

“जाती छ बा, सोचेको भन्दा’नि ।’

‘तेरो पढाइ कस्तो हुँदै छ ?’

‘राम्रो हुँदै छ बा ।’

‘ल ल, बहिनी पनि एसईई सक्काएर उतै आउने भन्दै छे ।’

‘हुन्छ नि ।’

भन्न मन नलागेर होइन, बाको मन नदुखोस् भनेर सत्य लुकाएर यथार्थभन्दा टाढाको कुरा सुनाउने गर्थे । वास्तवमा कठिन थियो जिन्दगी चलाउन । हरेक वर्ष चाडपर्वमा घर आउँथे ।

पढाइ निरन्तर चलिरहेको थियो । उनले प्लस–टु सकेर स्नातकका लागि सरकारी विश्वविद्यालयमा भर्ना लिए । यतिखेरसम्म काठमाडौंसँग उनी निकै परिचित भइसकेका थिए ।

यो अवधिमा उनले पटकपटक अनेक ठाउँमा जागिरको खोजी गरे । कुनै मन पर्यो, कुनैकुनै मन परेन ।

लोकसेवा आयोगले लिएको सीमित संख्यामा उनी परेनन् । लाख कोसिस गरे पनि उनका कोसिसहरू एकएक गरेर मृत्युवरण गर्दै गए । निजी क्षेत्रको जागिरबाट जिन्दगी उकासिने छाँटकाँट देखेनन् ।

व्यवसाय गरौँ, लगानी गर्ने पुँजी छैन । गाउँ फर्केर आधुनिक कृषि गरौँ भने तल बगिरहेको खोलोमाथि बारीमा उक्लिने सम्भावना नै थिएन । पहिलेजस्तो जताततै मूल फुट्ने अवस्था अहिले छैन ।

यस्तै नानाभाँती अप्ठ्यारो तेर्सिएको छ उनको जीवन गोरेटोमा । बाआमा बग्दै गरेको समयसँगै बगेर बुढ्यौली उमेरमा प्रवेश गर्दै छन् । हुर्कंदै गरेकी बहिनीको अनगिन्ती चाहना पूरा गर्नुपर्ने भार आफैँमाथि छ ।

आधा जूनले आकाश अँगालेको एक साँझ उनी आफू बस्ने डेराको बाल्कोनीमा टोलाउँदै बस्छन्, मन एक दशक पुरानो अतीतको सामीप्यमा पुर्याउँदै ।

उनी आफैँलाई प्रश्न गर्छन्– त्यसबखत किन मैले म यो देश छाडेर अन्त कतै जान्न भनेँ ? किन जे गर्छु आफ्नै देशमा गर्छु भन्ने खोक्रा कुरा गरेँ ?

फेरि, अर्को तर्कना भयो– म कतै ठूला नेताको नातेदार भएको भए भन्सारमै जागिर मिल्थ्यो होला ! मेरा बा उद्योगपति भएको भए म पनि आफ्नै कम्पनीको म्यानेजर बनेर हिँड्थेँ होला !

यही ऊहापोहमा रात निकै छिप्पिँदै गएको चहकिलो हुँदै गरेका ताराहरूले बताउँदै थिए । मनलाई दोबाटोमा ठिंग उभ्याएर उनी कोठामा पसे ।

ओछ्यानमा ढलेको निकै समयपछि निदाए । र, सपना पनि गजबको देखे– परदेश गएको, राम्रो कम्पनीमा जागिर पाएको, मनग्य तलब थापेको अनि औधी खुसी भएको ।

मिठो सपनाले गर्दा आज अलि ढिलो उठे उनी । क्याम्पस नगएर सिधै काममा जाने निधो गरे । अफिसमा कामभन्दा पनि सपनाले चिमोटिरह्यो उनलाई ।

त्यसैले बर्सौँअघि खाएको शपथ भुलेर एकपटक विदेश जाने मन बनाए । बालाई फोन गरे ।

‘बाबु, सन्चै छस् ?’

‘ठिकै छ, अनि हजुरहरूलाई ?’

‘हामीलाई पनि ठिकै छ ।’

‘बा, एउटा कुरा गरौँ कि भनेको !’

‘भन्, के कुरा हो ?’

‘बा, म पनि विदेश जाऊँ भनेको ।’

बा केही बोलेनन्, केही बेर । पछि खुइय्य गर्दै भने, ‘मैले के भनूँ ! तँ आफैँ बुझ्ने छस् । जे गर्दा राम्रो हुन्छ, त्यही गर् बाबु । हामी भनेको त डाँडापारि पुगेको घाम न हौँ । आज हो कि भोलि । नजा भन्न सक्दिनँ । जा भन्न’नि सक्दिनँ । घरको पूरै जिम्मेवारी तेरै काँधमा छ । जे गर्छस्, विचार पुर्याएर गर् ।”

बाको करुणामिश्रित कुराले बोल्न सकेनन् उनी । पछि फोन गर्छु भनेर राखिदिए ।

सोचाइमा डुब्दै छन् उनी । जिन्दगीको धार परिवर्तन गर्न मन लागेको छ । जीवनलाई उँधो होइन, उँभो पुर्याउने कोसिसमा लाग्छन् । निकै दिनपछि उनी निर्णयमा पुग्छन्– नेपालीको सहज विकल्प अर्थात् वैदेशिक रोजगार ।

अन्ततः उनले यो निर्णय परिवारसम्म पुर्याउँछन् । परिवारबाट अस्वीकार गर्नुको विकल्प पनि थिएन सायद । स्वीकार भयो ।

त्यसपछिको संघर्ष सुरु भयो साथीसंगीमार्फत म्यानपावरको खोजी गर्दै । वैदेशिक रोजगारीमा जाँदा चाहिने, गर्नुपर्ने सबै प्रक्रियाहरू पूरा गर्दै उनका दिनहरू बिते ।

समयले कसैलाई पर्खेर बस्दैन । आफ्नो गतिमा हिँडिरहन्छ । त्यही चलायमान समयले चिलगाडी चढाएर परदेश ओराल्ने दिन तय गर्छ । उनी उड्ने दिन गाउँबाट बा र बहिनी आइपुगेका हुन्छन् ।

बाले एकजुनी पुग्ने आशीर्वाद दिए बिदा गर्दै । बहिनीले पनि नओइलिने मखमली फूलको माला लगाएर बिदाइ गर्छिन् ।

आकाशको बाटो हुँदै सपनाको सहर पुग्ने यात्रामा उनी तल्लीन हुन्छन् । निर्धारित समय र हवाईअड्डामा जहाज ओर्लिन्छ । उनीसँगै यात्रारत एक हुल युवा एजेन्टले दिएको क्याप लगाउँदै बाहिरिन्छन् । क्यापमा म्यानपावरको नाम लेखिएको हुन्छ ।

कागजात आफूलाई लिन आउने मानिसलाई जिम्मा लगाउँदै उनी पनि हुलसँगै पछिपछि लाग्छन् । गन्तव्यमा पुग्छन् ।

एक दिनको आरामपछि तिनको डिउटी सुरु हुन्छ ।

नसोचेको कुरा भयो जीवनमा । यस्तो गर्दिनँ भनेका थिए, तर जुन काम गर्दिनँ भने त्यही काम गर्नुपर्यो । उनले विगतमा खाएको कसम तोडिसकेका थिए । आफ्नै माटोमा केही गर्छु भन्ने उत्साहलाई निरुत्साहित गर्दै अर्को बाटो रोजे, जुन लाखौँ युवाले रोजेका छन् । कति रहरले होलान् कति बाध्यताले ।

सबैथोक हुँदाहुँदै पनि केही नभएजस्तो अरूको देशमा घोटिनुुपरेको छ उनले, जिन्दगीको सम्भ्रान्त सपनाहरूका खातिर !

आफ्नो देशमा छँदा खासै अप्ठ्यारो काम गरेका थिएनन् । अर्काको देशमा कन्स्ट्रक्सनको काम परेको छ । वर्षमा एकदुईपटक कोदाली चलाउने उनलाई परदेशको दिनचर्याले गैँती र बेल्चाको नजिकको साथी बनाएको छ ।

गहु्रँगो अनि गाह्रो काम, त्यसमाथि ४५–५० डिग्रीको तातो । अतिशय तापमानमा काम गर्दागर्दै उनी धेरैचोटि बेहोस भएर ढले । तथापि, सकिनसकी काम गर्नुपर्छ उनले । नगरे तलब काटिन्छ ।

आपत्विपत्का बेला उनका कुरा सुनिदिने पनि कोही हुन्नन् । यहाँ उनको वेदना सुनेर मायाको मलम लगाइदिने आमा खोजेर के पाउनु र !

आफ्नो कर्म सम्झेर खटेर काम गर्छन् । र, आठ–दश महिनामा बल्ल आउँदाखेरि लिएको ऋण तिर्छन् । ठूला सपनाहरू पूरा हुनु त कहाँ हो कहाँ !

प्रवासी दैनिकीले साह्रै गाह्रो बनाएको छ उनलाई । साह्रोगाह्रो सुनिदिने कोही छैन ।

मध्य अगस्ट, रोड कन्स्ट्रक्सनअन्तर्गतको काम । शरीर ढाक्ने युनिफर्म लगाएर उनी काम गर्दै थिए । हठात् बेहोस भएर ढले । साइट सुपरभाइजरले आइसपानी छ्याप्दै उठाउने कोसिस गर्यो । तर, यसपटक निकै बेरसम्म पनि होस आएन ।

केही समयपछि एम्बुलेन्स आएर उनलाई लिएर गयो अस्पताल । अस्पतालमा डाक्टरले चेकजाँच गरे । नाडी छामे । र, सुक्खा स्वरमा भने, ‘ही इज नो मोर ।’

उनको शरीर मुर्दाघरको चिसो बरफले भरिएको फ्रिजरमा थन्कियो । जिउँदो छँदा तातो घाममा जलिरहेको ज्यान मृत्युपछि मुढो भएर चिसो बरफमा लडेको छ ।

यो अशुभ खबर कसरी सुनाउने ? साथीभाइलाई आपत् पर्यो । लुकाउने पनि कति दिन, कसरी सुनाउने बुढा बाआमालाई तन्नेरी छोराको मृत्युको खबर !

मरेको भोलिपल्ट उनको घरमा खबर गरियो । घरपरिवार मात्रै होइन, सिंगै गाउँ शोकाकुल भयो ।

कम्पनीले नेपाली दूतावासलाई खबर गर्यो । मृत्युको कारण र अन्य कागजात एकदुई दिनमा बुझाउने जानकारी गरायो ।

मृत्युको कारण रहेछ, हृदयाघात ! पोस्टमार्टमले त्यही भन्यो । अन्ततः कम्पनी, साथीभाइ, सामाजिक संघसंस्था र दूतावासको प्रयासले बितेको एक महिनापछि उनी बाकसमा बन्द भएर फर्किए । जहाँ फर्कंदै थिए उनका अधुरा सपनाहरू, जो जाँदा उनीसँगै गएका थिए ।

(पाँचखाल, काभ्रे/हाल : साइप्रस)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro