राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालले यही भदौ १५ गते ‘नारायण रायमाझी सांगीतिक साँझ–२०८०’ आयोजना गर्दै छ । प्रतिष्ठानको २३ वर्षे इतिहासमा पहिलोपटक सांगीतिक साँझ गर्न लागिएको हो । प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वमा कार्यक्रम गरिँदै छ । उनै अध्यक्ष थापासँग बाह्रखरीका नरेश फुयाँलले सांगीतिक साँझको उद्देश्य, लोकदोहोरीमा विकृति, प्रतिष्ठानका गतिविधि, आरोपलगायत विषयमा गरेको कुराकानीको सम्पादित अंश :
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले पहिलोपटक सांगीतिक साँझ गर्दै छ, यो आवश्यकता हो कि प्रतिष्ठानको उपस्थिति ?
यो आवश्यकता वा उपस्थितिभन्दा पनि हाम्रो नयाँ कार्यसमिति आएपछि गरेको निर्णय हो । हाम्रो स्लोगन नै ‘अग्रजलाई सम्मान, नयाँ प्रतिभालाई प्रोत्साहन’ भन्ने छ । कसरी अग्रजलाई सम्मान गर्ने भन्ने सन्दर्भमा हामी कलाकार आफैँले एउटा यस्तो खालको कार्यक्रम गरौँ, जसले अग्रजलाई सम्मान हुन्छ भनेर निर्णय गरेका हौँ । हामी कलाकार अरूले बनाएको मञ्चमा कार्यक्रम गर्छौँ, अरूले बनाइदिएको मञ्चमा गीत गाउँछौँ, तर आफैँले बनाएको स्टेजमा अग्रज कलाकारलाई उतार्दा कस्तो हुन्छ ? सम्मानका लागि पनि यो कार्यक्रम गर्नुपर्छ भन्ने महसुस भयो । त्यसैले हामीले यो कार्यक्रम गर्ने निर्णय गरेका हौँ ।
यो व्यावसायिक कार्यक्रम पनि हो कि सम्मान मात्र ?
यसलाई व्यावसायिक कार्यक्रम भन्न मिल्दैन ।
हाम्रो तीनवर्षे कार्यकाल हुन्छ । यो कार्यकालभर अर्थात् अझै दुईवटा सांगीतिक साँझ गर्छौँ । अर्को कार्यसमिति आएपछि यो कार्यक्रमले निरन्तरता पाउँछ/पाउँदैन, त्यो पछिको कुरा हो । आउने अध्यक्षको आफ्नै कार्ययोजनामा भर पर्ने कुरा भयो ।
तत्कालका तपाईंका अरू कार्ययोजना ?
भदौ २४ गते तिज उत्सव गर्दै छौँ । जिल्ला, प्रदेश हुँदै छनोट भएका टिमको केन्द्रमा लोकदोहोरी रनिङ सिल्ड हाम्रो अर्को कार्यक्रम हो । यसबाहेक नियमितसँगै अरूअरू कार्यक्रम पनि गर्दै जानेछौँ । कतिपय मेरा कार्ययोजना मैले पाँच महिनाअगाडि सम्पन्न प्रतिष्ठानको साधारणसभामा पनि अध्यक्षको उमेदवार बनिरहँदा चुनावी एजेन्डाकै रूपमा अघि सारेको थिएँ । यसको कार्यान्वयन पनि गर्दै जानेछौँ ।
सहरका लोकदोहोरी फोहोरी भए भन्ने टिप्पणी छ नि ?
यो धेरै पुरानो प्रश्न हो । तपाईंहरूलाई यो प्रश्न गर्ने संस्कार नै बसेजस्तो लाग्छ । म सञ्चारमाध्यमका साथीहरूलाई यो प्रश्न गर्नुभन्दा अगाडि प्रतिष्ठानले यो विषयमा काम गर्यो कि गरेन र रिजल्ट निकाल्यो कि निकालेन भन्ने विषयमा पनि तपाईंहरूले अध्ययन गरिदिनु है भन्ने गरेको छु । पत्रकारको काम प्रश्न गर्ने मात्रै भयो । पोजेटिभ रिजल्ट आयो कि आएन भनेर अध्ययन पनि गर्नुपर्छ ।
निवर्तमान अध्यक्ष रमेश बिजीको पालादेखि नै प्रतिष्ठानले यसमा काम गरेको छ । शिव हमालको नेतृत्वमा विकृति–विसंगति न्यूनीकरण विभाग गठन गरेर धेरै काम भएको छ । अहिले पनि हामीले त्यस्तै खालका विभाग गठन गरेका छौँ ।
फोहोरी गीत बजारमा एकदुईवटा आएका छन् । दोहोरीको माहोल छ । भेलमा केही नराम्रा कुरा बगेर आउँछन् नै । तर, प्रतिष्ठानले यसमा काम गरिरहेकै छ । हामीले नैतिक रूपमा कारबाही गर्ने हो ।
समस्या नै नभए विसंगति न्यूनीकरण विभाग किन चाहियो ? कारबाहीको चेतावनी दिँदै पटक–पटक विज्ञप्ति किन निकालियो ?
केही समस्या हुनु स्वाभाविक हो । दोहोरीगीत धेरै आउँदा एकाध समस्या हुनुलाई सामान्य रूपमै लिनुपर्छ । पत्रकारहरूसँग मेरो आग्रह के हो भने, राम्रा र मौलिक गीतका विषयमा पनि तपाईंहरूले लेखिदिनुस् । राम्रो लोकदोहोरी गाउने पनि थुप्रै हुनुहुन्छ । लाइभ दोहोरी सुनेर आँसु झार्ने पनि धेरै हुनुहुन्छ । मर्मस्पर्शी दोहोरी गाउने कलाकारका विषयमा पनि पत्रकारले बोल्दिनुपर्यो । भिडियोको विषयमा पनि लेखिदिनुपर्यो । तपाईंहरू टीकाटिप्पणी भएका लोकदोहोरीमा मात्रै घोत्लिनुभएको छ भन्ने मलाई लाग्छ । यो मेरो तपाईंहरूसँगको गुनासो हो ।
शब्दभन्दा भिडियोमा केन्द्रित हुँदा समस्या भएको हो ?
पहिला अडियो सुनिन्थ्यो । पछि भिडियो आयो । भिडियो आएपछि कसले कति लाखको भिडियो गर्ने भन्ने भयो । युट्युबाट थोरै भए पनि पैसा आउन थालेपछि कस्तो भिडियोले भ्युज तान्छ भन्ने प्रतिस्पर्धा छ । भ्युजमा कलाकार केन्द्रित भएको देखिन्छ । प्रतिष्ठानमा आबद्ध जो मौलिक गीतसंगीतमा लाग्नुभएको छ, उहाँहरूले त्यस्तो गर्नुभएको छैन । हामीले यस्तो नगर्नुस् भन्ने मात्रै हो । हाम्रो आग्रह नमान्नेलाई प्रतिष्ठानले केही गर्न सक्तैन । यो काम दर्शक/स्रोताकै हो ।
प्रतिष्ठानले बेलाबेलामा कारबाहीको चेतावनी दिँदै आएको छ, यो अधिकार प्रतिष्ठानले कहाँबाट पायो भन्ने प्रश्न पनि गरिन्छ नि ?
टीकाटिप्पणी गर्नेले त जे पनि भन्ने भए । प्रतिष्ठानले आफूसँग कारबाही गर्ने अधिकार छ भनेकै छैन । हामीले प्रतिष्ठानमा आबद्ध सदस्यले गलत काम गरेको छ भने यस्तो नगरौँ, गीतसंगीतलाई नबिगारौँ भनेर आग्रह मात्रै गर्ने हो । कारबाही गर्ने दायरामा जाने हामीसँग अधिकार छैन ।
दुई/चार वर्षयता लोकदोहोरी र तिजका गीतमा विकृति कम भएको हो ?
विकृतजन्य गीत छ भन्ने थाहा भएको अवस्थामा त्यस्तो गीत रेकर्ड नगरौँ भन्ने आग्रह गरेर रोकेका छौँ । भिडियो पनि त्यस्तै बन्दै छ भन्ने थाहा भएको अवस्थामा त्यसलाई विवादित नहुने गरी बनाऔँ भन्दै आएका छौँ । यसरी रोकिएका कुरा बाहिर आउँदैनन् । यति हुँदाहुँदै बाहिर आएका केही गीतलाई पत्रकारले अतिरञ्जित गरेको जस्तो लाग्छ । प्रोत्साहन गर्ने ठाउँमा कलाकारलाई प्रोत्साहित पनि गरेको छैन ।
यसको अर्थ सञ्चारमाध्यम/पत्रकारमा समस्या देख्नुभएको हो ?
मिडियामा पनि होइन । तर, मिडियाको नजर नराम्रा कुरामा मात्रै पुग्छ । बजारमा अहिले कतिवटा मौलिक गीत आए भनेर सोध्ने हो भने तपाईंलाई पनि थाहा छैन । यो अवश्य हो । मैले तपाईंलाई अहिले मौलिक गीत गाउने कलाकार को–को छन् भनेर सोध्ने हो भने तपाईंलाई पनि थाहा छैन । बिग्रिएको, भत्किएको र छाडा गीत कसले गाउँछ भनेर सोध्यो भने तपाईंलाई सबैको नाम आउँछ ।
हामी आफ्ना आफन्त सबै छोडेर गाउँबाट काठमाडौं आयौँ । यो क्षेत्रलाई पूजा गरेर लाग्यौँ । घरपरिवारको इज्जतसँगै आफ्नो इज्जत र प्रतिष्ठा अझ उँचो बनाएर बाँच्न सकौँ भनेर यो क्षेत्रमा आएका हौँ । बेइज्जत र तिरस्कृत हुन दोहोरी गाउन आएका हैनौँ । आफ्नो क्षेत्रलाई आफैँले हो इज्जतदार बनाउने । कलासंस्कृति र पर्वविशेषको गीत गाएर नेपाली गीतसंगीतलाई विश्वमा फैलाउने काम गर्ने हामी कलाकार स्वयंले हो । त्यसैले हामी जिम्मेवार हुनुपर्छ । हामीलाई यो राम्रोसँग थाहा छ । त्यसैले लोकदोहोरी सुदृढ हुँदै छ ।
कलासाहित्यको जगेर्नाभन्दा व्यावसायिक हुने तडकभडकका कारण लोकदोहोरीमाथि प्रश्न उडाइएको हो कि !
केही हदसम्म यसको प्रभाव परेको छ । लाइभ दोहोरी गाउँदा साथीहरू बन्द कोठाभित्र गाउनुहुन्छ । उस्तै उमेर समूहका साथीहरूबीच गाउँदा केही उच्छृंखल शब्द आउँछन् । तर, मासमा गाउने हो भने त्यस्ता शब्द आउँदैनन् । यो मेरो आफ्नै अनुभव पनि हो । एउटै उमेरका साथीभाइबीच हाँस्दै, रमाउँदै गाउँदा केही त्यस्ता शब्द आउन सक्छन्, जुन मासमा गाउँदा सम्भव छँदै छैन । बन्द कोठाभित्र गाइने लाइभ दोहोरी रेकर्ड गरेर बाहिर ल्याउन थालेपछि थोरै विकृति आएको हो । तर, यो पनि विस्तारै न्यूनीकरण हुँदै छ ।
बन्द कोठाभित्र गाइएको लोकदोहोरी बाहिर नल्याऊँ भन्न पनि नसकिने रहेछ । कलाकारको लगानी त्यहाँ नहुँदो रहेछ । लगानी अर्कैको हुँदो रहेछ । लगानीकर्ताले भ्युजको लोभमा कलाकारको मुखबाट फुत्किएको नराम्रा शब्दलाई हाइलाइट गरेर बजारमा ल्याउनुहुँदो रहेछ । यो कुरा म अहिले बुझिरहेको छु । एउटा उमेरमा जस्तो गाए पनि राम्रो लाग्छ । तर, अब हामी प्रतिष्ठित भएर बाँच्नुपर्छ । त्यसैले शब्द छनोटमा ध्यान दिन म कलाकारहरूलाई आग्रह गर्छु ।
संस्थाका साथीहरूको वास्ता नगरी एक्लै हिँडिरहनुभएको छ भन्ने आरोप छ नि ?
मलाई त्यस्तो लाग्दैन । सांगीतिक साँझबारे गत सोमबार भएको पत्रकार सम्मेलनमा कार्यसमितिका सबै साथी आउनुभएको थियो । म इन्द्रेणीमा गीत गाउन गएँ, त्यहाँ २२/२३ जना कार्यसमिति सदस्य सँगै जानुभएको थियो । काम सबैले गरिरहनुभएको छ । कहिल्यै नआउने साथीहरू पनि आउनुभएको छ । प्रतिष्ठानमा नरहेका साथीहरू संस्था हाम्रो पनि हो, राम्रोसँग काम गर्नुस् भनेर आउनुभएको छ । जिल्ला, प्रदेशदेखि केन्द्रसम्मका सामथीहरू उत्साही हुनुहुन्छ । एक्लै दौडिएको भन्ने मैले पहिलोपटक तपाईंबाटै सुनेँ ।
म यसमा सचेत छु । कसले उल्टोसुल्टो खेलिरहेको छ र कैँची चलाइरहेको छ, त्यो पनि मलाई थाहा छ ।
दोहोरीले मौलिक लोकगीतलाई छायामा पारेको हो ?
मौलिक लोकगीत र लोकदोहोरी आइरहेका छन् । सयौँ साथीहरूले मौलिक लोकगीत गाइरहनुभएको छ । तर, उहाँहरूका गीतबारे सञ्चारमाध्यममा चर्चा भइरहेको छैन । म त युट्युबमा मौलिक गीत मात्रै देख्छु । तर, प्रश्न लोकगीत छाडा भयो भन्ने कुरा मात्रै आउँछ । म आफैँ आश्चर्यमा छु ।
राज्यबाट कत्तिको सहयोग पाइरहनुभएको छ ?
लोकगीतसंगीतलाई राज्यले अपहेलित गर्यो भनेर नै २३ वर्षअगाडि अब आफैँ केही गर्नुपर्छ भनेर प्रतिष्ठानको जन्म भएको हो । आज प्रतिष्ठानको यो गरिमा छ । राज्यबाट सहयोग भएन भन्नु नै बेकार हो भन्ने लाग्छ । किनभने, यहाँ हरेकले राज्यले हेरेन भन्ने गुनासो गरिरहेको छ । प्रतिष्ठान आफ्नै बलबुतामा काम गरिरहेको छ । अहिले हामीभन्दा पनि हुम्ला, जुम्लाका नागरिकलाई पहिला सरकारले नुन दिन सकोस् । हामी त्यसमै खुसी हुनेछौँ ।
विगतमा प्रतिष्ठानमै रहेका केही गायकगायिकाले अहिले अर्कै संस्था (सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल) खोल्नुभएको छ, यसले प्रतिष्ठानलाई असर गर्छ/गर्दैन ?
एक इन्च पनि फरक पर्दैन । उहाँहरूले पनि लोकगीत तथा लोकसंस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनकै लागि काम गर्ने हो । कलाकारको हकहितका लागि खोल्नुभएको संस्था हो । हाम्रो र उहाँहरूको उद्देश्य एउटै हो । साथीहरू संगठित हुनु र लोकसंगीतको उत्थानमा लाग्नु त राम्रो हो ।
एउटै उद्देश्य भए एकै ठाउँमा बस्न किन सक्नु भएन ?
उहाँहरूले सक्नु भएन । कुनै कालखण्डमा कसैसँग रुष्ट हुनुभएको थियो कि ! अथवा, अरू केही कारण पो थियो कि !
उहाँहरूले प्रतिष्ठान लोकदोहोरीमा मात्र सीमित भयो, संगीतका विधालाई बेवास्ता गर्यो भन्ने आरोप लगाउनुभएको छ !
हाम्रो संस्था नै लोकदोहोरीका गायकगायिकाहरू संगठित भएर खोलेको हो । अन्य विधामा काम गर्ने संस्था छुट्टै छन् । हामी लोकदोहोरी गाउनेलाई कुनै समय राज्य होइन, अन्य गीत गाउनेले नै ‘लोके’ भनेर हेप्थे । यो हामीले भोगेर आएका छौँ । हाम्रो संस्थाको उद्देश्य नै लोकदोहोरी क्षेत्रलाई बलियो बनाउने छ भने अन्य क्षेत्रमा, विधामा कसरी काम गर्छ ?
पछिल्लो दशक बन्द कोठाभित्र सिर्जित रचनालाई लोकगीत वा दोहोरी भनेर बजारमा ल्याइयो भन्ने गुनासो छ, यसमा प्रतिष्ठानले केही गर्न सक्छ ?
हाम्रा सयौँ साथीहरूले गाउँगाउँबाट लोकभाका तथा शब्द संकलन गरेर ल्याएर गाउनुभएको छ । तर, यसको संख्या केही कम छ । यही भएकाले पनि मिडियामा स्थान पाउँदैन । मिडिया नपाएपछि जनतासामु पुग्दैन । भ्युज पाउँदैन । भ्युज नपाएपछि यस्तो खालको गीत कम गाउनुपर्छ भन्नेमा कलाकार पुग्छन् । कोठामै बसेर गरेका रचना पनि मौलिक छन् । कोठामा बसेर रचना गरिएका कतिपय लोकदोहोरी पनि राम्रा छन् । यस्ता गीत पनि दर्शक स्रोताले मन पराउनुभएको छ ।
प्रतिष्ठाले यो गर वा त्यो नगर भन्न मिल्दैन । हामीले त बाहिर बसेर हेर्ने मात्रै हो । तपाईंहरूले जस्तो मूल्यांकन गर्ने र धारणा बनाउने मात्रै हो । संस्थामा लागेका संगठित कलाकारहरूले मौलिक गीत गाइरहनुभएकै छ ।
तपाईंका गीतको संख्या निकै कम छ, किन ?
हो, मेरो गीतको संख्या कम छ । मैले गीत कम गरेकै हुँ । ११ वर्ष मैले पोखराको पामेमा रेस्टुराँ व्यवसाय गरेँ । यो अवधिमा म गीत गाएर हिँडिनँ । वर्षको एउटा एल्बम मात्रै निकाल्थेँ । त्यसैले सुरुका वर्षमा मेरो गीतको संख्या कम भयो । अहिले प्रतिष्ठानको काममा केन्द्रित छु । मसँग केही गीत छन्, तर अहिलेको मेरो प्राथमिकता गीतभन्दा पनि लोकदोहोरी क्षेत्रलाई कसरी थप व्यवस्थित गर्ने भन्ने छ । मैले गीत साँचेर राखेको छु । विस्तारै लिएर आउँछु ।