site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जालमा प्रश्न गरेकै कारण गाउँपालिकाले दियो विद्युतीय अपराधको मुद्दा

पोखरा । फेसबुकमा गाली गरेको भन्दै दुई युवालाई विद्युतीय अपराधको मुद्दामा कारबाहीका लागि बागलुङको ताराखोला गाउँपालिकाले प्रहरीलाई पत्र पठाएको छ । गाउँपालिकाले गत साउन १५ गते कार्यपालिकाको निर्णयमा नै वडा नम्बर २ का इन्द्रबहादुर रोका र तुलसीराम घर्तीलाई कारबाही गर्न प्रहरीलाई पत्र पठाउने निर्णय गरेको थियो । रोका स्थानीय अर्गल माध्यमिक विद्यालयका शिक्षकसमेत हुन् ।

निर्णयपछि पालिकाले नै प्रहरीमा उजुरी दियो । उजुरीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले भदौ ४ गते पत्र पठाउँदै प्रहरीले ‘केही कुरा बुझ्नुपर्ने भएकाले उपस्थित हुन’ भन्दै पत्राचार गरेको छ ।

रोकाका अनुसार भदौ ५ गते आफूहरू जिल्ला प्रहरी कार्यालयमा पुगेपछि मात्र आफूले साइबर अपराधको बारेमा मुद्दा परेको थाहा पाएको बताए ।

Dabur Nepal
NIC Asia

“सामाजिक सञ्जालमा भए गरेका गतिविधि‍को बारेमा मुद्दा आएको छ । गाउँपालिकाको तर्फबाट गाउँपालिकाको आधिकारिक लेटरप्याडमा फलानो/फलानोलाई कारबाही गर्ने भन्ने आएको छ,” आफूविरुद्ध मुद्दा परेको जानकारी पाएपछि उनले भने । 

त्यसपछि उनीहरूले साउन १५ गतेको कार्यपालिका बैठक सूचनाको हक प्रयोग गरेर माग गरे । गाउँपालिकाको २५औँ बैठकको १६औँ नम्बरमा ‘सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी गाउँपालिका र सार्वजनिक पदाधिकारी तथा कर्मचारीको सार्वजनिकरूपमा गरिएको आरोप सम्बन्धमा’ भन्ने प्रस्ताव राखिएको छ ।

प्रस्तावमाथिको निर्णयमा भनिएको छ, “ताराखोला गाउँपालिकाको दैनिक कार्यसम्पादन तथा सेवाप्रवाहको सम्बन्धमा जानकारी लिने कानुनी पाटो हुँदाहुँदै पनि केही ताराखोलावासी नागरिकहरूले गाउँपालिकाको विषयमा र सम्पादन भएका सेवाका विषयमा बिनाप्रमाण, बिनाआधारमा सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरी, गलत प्रचारप्रसार गरी मानसिकरूपमा आतंक मच्चाउने र गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको चरित्रहत्या हुने गरी काम गर्ने मनस्थितिमा समेत खलल पुर्‍याउने तपशील बमोजिमका व्यक्तिहरूलाई सामाजिक सञ्जाल फेसबुकमा लेखेको प्रमाणसहित विद्युतीय अपराधमा कारबाहीका लागि सिफारिस गर्ने ।”

त्यो निर्णयकै आधारमा आफूहरूविरुद्ध गाउँपालिका जिल्ला प्रहरी कार्यालयमा गएको पछिमात्रै उनीहरूले थाहा पाएका थिए । गाउँपालिकाले उजुरीमा नाम किटानसहित फेसबुक पोस्ट र कमेन्टको स्क्रिनसट पनि पठाएको थियो ।

“मेरो चाहिँ थुप्रै कमेन्टहरू छन् भन्ने छ । आफ्नो फेसबुक पोसंट नभएको र कमेन्टको स्क्रिनसटहरूलाई राखिएको छ । उहाँको (तुलसीराम) फेसबुकमा लेखेका स्टाटसलाई राखिएको छ,” रोकाले भने ।

उनीहरूले जायज सवाल उठाएकै कारण पालिकाले जवाफ दिनुको सट्टा उजुरी दिएको बताएका छन् । “हामीमाथि जुन तरिकाले यो खालको मुद्दा दायर गरिएको छ, यो हुनुपछाडिको कारण के हो भने हाम्रा थुप्रै मुद्दा सवालहरू हामीहरूले राखेको हो । यो कुरा अहिलेपनि आइरहन्छ र भविष्यमा पनि यस्ता आवाज उठाइरहन्छौँ,” रोका भन्छन् ।

आफ्नो अभिव्यक्तिलाई विभिन्न माध्यमबाट, सरोकारका विषय, साझा सवालका विषयलाई राख्नु आफ्नो मौलिक हकमा नै सुरक्षित गरिएको उनले बताए ।

“त्यही हकको प्रयोग गरेर गाउँपालिकाबाट गरिएका गतिविधिहरू एकपक्षीय छन्, जनताको पक्षमा छैनन् । निर्वाचित जनप्रतिनिधिहरू हिजोको आन्दोलनबाट आउनुभएको हो, जगजाहेर छ । जुन मुद्दा उठाएर त्यहाँ पुग्नुभएको हो, त्यही काम गर्नुहोस्, जनपक्षीय काम गर्नुहोस्, जनताका आवाज सुन्नुहोस् भनेर आवाज उठिरहेका छन्,” उनले भने ।

आफूहरूले यस्तै प्रकृतिका कमेन्ट गरेर र आगामी दिनमा पनि गरिरहने रोका बताउँछन् ।

घर्ती र रोकाले धेरै पहिलादेखि गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिलाई पारदर्शी बन्न, उत्तरदायी हुन र जनताले उठाएका मागको सम्बोधन गर्न माग गर्दै आएका थिए । उनीहरूले बेलाबेलामा यी विषयमा सामाजिक सञ्जालमा पनि लेख्ने गरेको बताए । उनीहरूले बिहीबार पत्रकार सम्मेलन गरेर गाउँपालिका अध्यक्षले चढ्ने निजी  सवारी साधनमा गाउँपालिकाको इन्धन भरिएको बताए । 

"सेतो प्लेटमा के भयो हामीलाई थाहा छैन, रातो प्लेटमा अध्यक्षले इन्धन भर्ने र मर्मत खर्च पनि पालिकाबाट कसरी लिए," उनीहरूको प्रश्न थियो । 

केही समयअगाडि मात्रै सार्वजनिक सुनुवाइ कार्यक्रममा तुलसीराम घर्तीले गाउँपालिका अध्यक्षलाई प्रश्न गरेका थिए, “तपाईं चढिरहेको गाडी गाउँपालिकाले भाडामा लिएर चलाएको हो कि व्यक्तिगत ?”

जवाफमा पालिका प्रमुख धनबहादुर बिकले भनेका थिए, “मैले यहाँ भन्दा पहिले दिएको छु दिन्न ।”

अध्यक्ष बिकले इन्धन भर्ने अधिकार भएको दाबी गरेका छन् । उनीहरूले ताराखोला बहुउद्देश्यीय सहकारीलाई लाखौँ अनुदान दिइएको पनि बताए ।

अध्यक्षले सञ्चालन गरेको ढुंगा उद्योगले गाउँपालिकामा कर नतिरेको तथा निर्माणधिन जलविद्युत् आयोजनाबाट गाउँपालिकालाई कर नतिरेकोलगायतका मुद्दामा समेत उनीहरूले पटकपटक पालिकामा पुगेर सोधपुछ गरेको बताएका छन् । लिखित सूचना माग गरेपछि कतिपय तथ्य भेटाएको उनीहरूले बताए । सूचनाको हक प्रयोग गर्दा घर्ती र रोकाले अध्यक्ष धनबहादुर बिक चढ्ने निजी गाडीमा एक वर्षभित्र मर्मतका लागि ५५ हजार ५ सय ५९ रुपैयाँ र इन्धनका लागि दुई लाख २३ हजार ८८० रुपैयाँ गरी दुई लाख ७९ हजार ४३९ रुपैयाँ भुक्तानी भएको देखिएको छ ।

भविष्यमा पनि आफूहरूले त्यसरी नै लेख्ने र मुद्दा फेस गर्ने उनीहरूले बताए ।

रोका भन्छन्, “गाउँपालिकाका पदाधिकारीहरूलाई मन परेन होला, तर हामीले उठाएका कुरा जायज छन् । गाउँपालिको दैनिक क्रियाकलापमा अवरोध नपुर्‍याएको र अनुशासितरूपमा नागरिकले उठाउनुपर्ने कुराहरू सामाजिक सञ्जालबाट उठाएका हौँ । त्यसको सम्बोधन गर्नुपर्नेमा साइबर क्राइमको मुद्दा लगाइनु गम्भीर आपत्तिजनक रहेको छ ।”

चित्त नबुझे न्यायिक समितिमा बोलाएर छलफल गर्ने विकल्प भए पनि गाउँपालिका भने आफूहरूको भविष्यमाथि खेलबाड गर्न लागेको उनीहरूको आरोप छ ।

कार्यपालिकाको निर्णयको बारेमा गाउँपालिकाका उपाध्यक्षले नै आफूलाई कुनै जानकारी नभएको बताएको उनीहरूको दाबी छ ।

“गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकालाई निर्णयको बारेमा हामीले सोध्यौँ । उहाँले त्यतिबेलाको बैठकमा म उपस्थित हो, यतिधेरै निर्णय भएको पनि होइन । यो विषय उठेको पनि होइन । निर्णय भएको पनि होइन । यो विषय उठेको भए मलाई थाहा हुन्थ्यो । त्यतिबेलाको निर्णय यो होइन भन्नुभयो,” रोकाले बताए ।

मुद्दा लागेपछि दुवैले स्वतन्त्ररूपमा छानबिन गर्न दिइने निर्णय गरेको उनले बताए । “हामीहरूले सामाजिक सञ्जालमा लेखेका कुरा मेट्दैनौँ, आफूहरूले लेखेका पोस्टदेखि अभिव्यक्त गरिएका टिप्पणीहरूलाई नेपालको कानुनले गलत ठहराउँदो रहेछ भने हामी सजाय भोग्न तयार छौँ । आफूहरूले मुद्दा फेस गर्ने तर झुकेर माफी नमाग्ने र मुद्दा पनि फिर्ता लिँदैनौँ,”रोकाले भने ।

जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरूलाई हाजिर हुन पत्राचार गरेकोबारे प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए । उनीहरूबारे छानबिन भैरहेकाले अध्ययनपछि मात्र के भएको स्पष्ट हुने केसी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro