site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय एवं प्रदेश सभाका सांसदले विकासका नाममा खर्च गर्ने ‘तजबिजी कोष’को बजेट खर्च गर्न रोक लगाएको छ । लामो समयदेखि विवाद र आलोचनाको भुमरीमा रहेको यो तजबिजी खर्चमा रोक लगाउने इजलासको निर्णय कोसेढुंगा साबित हुनेछ ।  

गत वर्ष रोकिएको भए पनि यो वर्ष सङ्घीय र प्रादेशिक वार्षिक बजेटमा ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ नामक कार्यक्रममा अर्बौ‌ रकम विनियोजन गरिएको थियो । यस्तो तजबिजी कार्यक्रममा संघमा प्रतिसांसद पाँच करोड रुपियाँ तथा प्रदेशमा प्रदेशैपिच्छे फरक फरक रकम विनियोजन गरिएको छ । 

पञ्चायतकालमा ‘विशेष कार्यक्रम’का नाममा सुरु भएको निर्वाचित जनप्रतिनिधिले ट्ठ्वविवेकमा राष्ट्रिय ढुकुटीको रकम खर्च गर्ने परम्परा पछि पनि विभिन्न नाममा कायम राखियो । यसले राष्ट्रिय ढुकुटीको अपचलन त भएको थियो नै राजनीतिक अन्यायसमेत भएको थियो । संवैधानिक इजलासले त्यसको अन्त्य गरिदिएको छ ।

प्रधानमन्त्री राष्ट्रिय पञ्चायतप्रति पनि उत्तरदायी हुने व्यवस्था भएपछि राजालाई रिझाएरमात्रै नपुग्ने भयो । यही क्रममा राष्ट्रिय पञ्चायतका सदस्यलाई विशेष कार्यक्रम, भन्सार छुटजस्ता सुविधा दिइएको थियो । पञ्चायत व्यक्तिवादी व्यवस्था थियो तर बहुदलीय शासन पद्धतिमा पनि त्यही विकृति अपनाइयो ।

संघीय बजेटको सिको गर्दै प्रदेशको बजेटमा पनि यो विकृत अभ्यास भित्र्याइयो । फलस्वरूप, निर्वाचन क्षेत्र विशेष कार्यक्रमका नाममा बर्सेनि अर्बौं रुपियाँ राष्ट्रिय ढुकुटीबाट अपचलन गरियो । त्यो विकृति हटाएर सर्वोच्च अदालतले राष्ट्रिय ढुकुटीबाट अपव्यव र अन्याय हुने एउटा अभ्यासमा रोक लगाइदिएको छ ।  

बजेट निर्माणजस्तो विषयमा अदालतले बोल्न नपरेको भए अझ बेस हुनेथियो । परन्तु, विधायिका वा कार्यपालिकालगायत राज्यका कुनै अङ्गले पनि संविधान । विधिको शासनको मान्यता तथा अक्षर र भावनामा प्रहार गरेमा रक्षा गर्नु अदालतको दायित्व हो । स‌वैधानिक इजलासले पनि यही धर्मको पालन गरेको हो ।  

यस निर्णयबाट अर्थमन्त्री सम्भवतः सबैभन्दा खुसी भएको हुनुपर्छ । प्रस्तावित राजस्व सङ्कलन नहुने लगभग निश्चित देखिएकै बेला १८ अर्ब रुपियाँ भन्दा बढी खर्च गर्न नपर्दा ढुकुटीमा चाप कम जो हुनेछ । यद्यपि, जस्केलाबाट सांसदलाई सुविधा दिन अरू उपाय अपनाइनसक्ने जोखिम भने छँदैछ । 

साबिकको व्यवस्थामा बजेटमै विनियोजित हुँदा सबै निर्वाचित सांसद्ले बराबर रकम तजबिजमा खर्च गर्ने अधिकार पाउँथे । अब सत्ता पक्षका त्यसका त्यसमा पनि अर्थमन्त्री र प्रधानमन्त्रीको गुटका सांसदले तजबिजमा खर्च गर्न सकिनेगरी योजना पाउने अरूले नपाउने पनि हुनसक्छ ।

सरकारको नियत सही हुँदो हो त सधैँ विवादको भुमरीमा परेको यो कार्यक्रम बन्द नै गरिन्थ्यो । तर, एक वर्ष बन्द गरिएको कार्यक्रमलाई निर्वाचनपछि फेरि ब्युँताइयो । यसैले अब पनि सरकारले प्रकारान्तरले तजबिजी रकम जुटाउने र खर्च गर्ने तारतम्य मिलाउनसक्छ । त्यसलाई रोक्न निकट र सजगरूपमा निगरानी राखिरहनु आवश्यक देखिन्छ ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro