
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताका सन्तानले शक्तिको दुरुपयोग गरिरहेको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताका छोराछोरीको व्यवहार निन्दनीय भएको बताए ।
“बाबुआमाले युद्ध, गोलीसँग नडराएर, ज्यानको बाजी लगाएर युद्ध आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपश्याको बलमा आएका नवयुराजहरुको र उहाँहरुको छोराछोरीको कुन अवस्था आएको छ, छोराछोरी पुस्ताले गरेको नाच निन्दनीय छ,” उनले भने ।
सभपाति लामिछानेले भुुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरीको सरुवा भएको, सुन प्रकरणमा सत्तारुढ दलको नेतहरुको नाम आउनेबित्तिकै सरकार सुस्ताएको भन्दै सरकारले दिन खोजेको सुशासन यही हो भन्दै प्रश्न गरे ।
“हामी पुलिसको सरुवा बढुवामा आँखा लाएर बसेका छौँ । आर्थिक अवस्थामा टाट पल्टिन लागेको देशमा लज्जास्पद के हुन्छ ?,” उनले भने ।
साथै, उनले यतिका दिनसम्म संसद् किन र कसले बन्द गर्यो, जनताको आवाज राख्ने र कयौँ विधेयकका छलफल गर्ने सदन किन बन्द भयो ? भन्दै प्रश्न गरे । उनले छानबिन समिति बने पनि विगतमा बनेका छानबिन समितिले के गरे, कसो गरे प्रष्ट नेपाली जनतामाझ रहेको उल्लेख गरे ।