site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

संसद्मा प्रतिनिधित्व गर्ने ठूला दलका शीर्ष नेतृत्व नै राज्यलाई असफल बनाउने षड्यन्त्रमा लागेका त होइनन् रु त्यस्तो हुनु न नपर्ने हो तर तिनका आचरण तथा क्रियाकलापका कारण जनमानसमा स्वाभाविकरूपमा शङ्का उब्जेको देखिएको छ ।

नत्र, नेपाल यति निरीह र गतिहीन देखिनु नपर्ने हो । कारण, जनप्रतिनिधिले बनाएको तुलनात्मकरूपमा लोकतान्त्रिक र प्रगतिशील संविधान छ । पूर्वाग्रह नराख्ने हो भने संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता विशेषता भएको समावेशी शासन व्यवस्थालाई खोट लगाउन मिल्दैन ।  

नेपाली समाज छिमेकीका तुलनामा अपेक्षाकृत उदार छ । सामाजिक सद्भाव र सहिष्णुताका दृष्टिबाट पनि दुनियाँका असल समाजमध्येमै मानिन्छ । जनसाङ्ख्यिक लाभको चरणमा पुगेको युवा जनसङ्ख्याले वैदेशिक रोजगारीबाटै भए पनि देश धानेको छ ।

प्राकृतिक विविधता र सुन्दरतामा पनि नेपाल अनुपम छ भन्नु अतिशयोक्ति हुँदैन । खनिज पदार्थका बारेमा अझै राम्ररी थाहा भएको छैन तर जलस्रोतको सदुपयोगमात्रै गर्न सके पनि नेपाली समाजको समृद्धिका लागि पर्याप्त हुनसक्छ ।

एकअर्काका प्रतिस्पर्धी र नेपालसँगको सम्बन्धमा ‘ईर्ष्यालु’ भए पनि भारत तथा चीन दुवैको नेपालप्रति सद्भाव पनि छ । रणनीतिक महत्त्वकै कारणबाट भए पनि पश्चिमी लोकतान्त्रिक मुलुकहरू पनि नेपालको उन्नतिमा सहयोग गर्न उत्सुक रहँदै आएका छन् ।

तैपनि, न देशमा अपेक्षाकृत भौतिक विकासमै प्रगति भएको छ न सामाजिक सेवा र सुरक्षा नै सन्तोषजनक छ । जनसाधारणको असन्तुष्टिलाई स्वाभाविक मान्न सकिएला तर राज्यप्रति समाजमा बढ्दैगएको अविश्वासले अराजकताको रूप लिनसक्ने जोखिम जन्माएको छ ।

यसको मूल कारण विधिको शासनको सम्मान नगर्नु नै हो । अक्षर र भावनाको सम्मान नभए संविधान कमजोर हुन्छ । कमजोर संविधानले नागरिकको रक्षा गर्न सक्तैन । अनि, जनताले संविधानकै विकल्प खोज्न थाल्छन् अस्थिरताको चक्रमा मुलुक फस्छ ।

नेपाल अस्थिरताको यस्तै चक्रमा फसेको लामै समय भइसक्यो । मूलतः यही अस्थिरताकै कारण संसारकै पुरानो राष्ट्रको सूचीमा पर्ने नेपाल अहिले ‘असफल राज्य’ हुने जोखिमा पुगेको हो । दुर्भाग्य, त्यसलाई रोक्ने गम्भीर प्रयत्न भएको देखिएको छैन ।

संसद्लाई काम गर्न दिइएको छैन । सरकार तजबिजमा चलाइएको छ । न्यायपालिकामा अपेक्षाकृत विचलन कम देखिए पनि त्यसमा आवश्यकता समयसापेक्ष सुधारको प्रयत्न हुनसकेको छैन । लाग्छ, सबैतिरबाट नेपाललाई असफल  बनाउन कुनै अदृश्य शक्ति निरन्तर क्रियाशील छ । 

परन्तु, अलि गहिरिएर हेरे त्यो अदृश्यजस्तो लाग्ने शक्तिलाई चिन्न कठिन हुँदैन । त्यो शक्ति अरू कोही नभएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू नै हुन् । किनभने, राज्यका अङ्गहरूलाई कमजोर बनाउनमा मुख्य भूमिका तिनीहरूकै रहेको छ ।

भ्रष्टाचारविरुद्ध चर्को कुरा गर्ने ती नेताहरूको जीवनशैलीले नै तिनलाई भ्रष्ट प्रमाणित गरेको छ । तिनले आजीवन गरेको आर्जन र तिनको पैत्रिक सम्पत्तिबाट अहिलेको टाँटबाँट र विलासी जीवन सम्भव छ र रु पक्कै पनि छैन ।  

तिनले यो परिदृश्य जनताका आँखामा परेको छैन भन्ने ठानेका हुन् भने आत्मवञ्चना हो । थाहा पाएर पनि बेवास्ता गरेका भए त्यो जनताको उपेक्षा र देशप्रतिको विश्वासघात हो । होइन भने तिनले आफ्नो सम्पत्तिको छानबिन गराऊन् । 

सबैभन्दा पहिले शीर्ष नेताले आफ्नो जीवनशैली धान्ने आयको स्रोत पारदर्शीरूपमा देखाउन सक्नुपर्छ । तिनको विलासी जीवनशैलीको स्रोतमात्रै पनि पारदर्शी भयो भने सम्भवतः देशमा भ्रष्टाचार कम हुनेछ । कम्तीमा ठूला भ्रष्टाचारका काण्डहरू त पक्कै कम हुनेछ ।

शीर्ष भनिएका नेताहरूसँग समय धेरै छैन र देशमा पनि यस्तो 'भोरजुवा'मा धेरै राख्नु हुँदैन । अति भएपछि जनताले सहनेछैनन् । देशलाई त्यस अवस्था पुग्न नदिने हो भने शीर्ष नेताले संविधानको सम्मान गरेर जनताप्रति जिम्मेवार बन्नुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro