site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
... अनि भाटा र रड लिएर सुधार गृहबाट जुलुस निस्कियो

काठमाडौं । सोमबार उपत्यकाको मौसम खराब थियो । झमझम् पानी परिरहेको थियो । सडकमा दुईपाङ्ग्रे सवारी चालकहरु अधिकांश रेनकोट ओढेरै गन्तव्यतर्फ हुइँकिदै थिए । साढे ३ बजेतिरको समय भएकाले पनि होला ट्राफिक जाम तुलनात्मक रुपमा कम थियो । 

त्यही झमझम् पानीकैबीच अचानक भक्तपुर जडिबुडी हुँदै कोटेश्वर्फबाट एकहुल किशोरहरु अर्धनग्न अवस्थामा हातमा भाटा र फलामका रड बोकेर सडक जाम हुनेगरी बानेश्वरतर्फ अघि बढे । उनीहरुको हर्कतले सडकका यात्रुहरुनै अलमलमा थिए । फिल्मी शैलीमा हातमा भाटा र फलामका रड बोकेका युवाहरु को हुन् ? कहाँ जान लागेका हुन् ? कसैले भेउ पाएका थिएनन् । 

सडकको छेउछाउमा हुने केहीले मोबाइलमा तस्बिर तथा भिडियो कैद गरे, सामाजिक सञ्जालमा राखे, सञ्चारमाध्यममा समाचार सार्वजनिक हुन थाले त्यसपछिमात्रै उनीहरु को रहेछन् भन्ने पत्तो भयो । 

Dabur Nepal
NIC Asia

बीचमा ६ जनाको समूहमा रहेका सशस्त्र प्रहरीले रोक्न खोजेको सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिन्छ । तर ठूलो संख्यामा रहेका बालबालिकाले उनीहरुमाथि ढुंगा प्रहार गरेपछि सशस्त्र प्रहरी भाग्न बाध्य भएका थिए ।

सडकमा निस्किएका बालबालिकाले देखाएको शैली अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ नै छ ।  त्यसरी आतंक सिर्जना गर्दै हिँड्ने किशोरहरुको समूह भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा राखिएका बालबन्दीहरु थिए ।

विभिन्न अपराध कसुरमा जेल सजाय तथा पुर्पक्षका लागि राखिएका उनीहरुले सोमबार भने सुधार गृहको मूल ढोकानै फोडेर बाहिर निक्के त्यो पनि रवाफका साथ । सुधार गृहबाट २ सय १२ जना किशोर भागेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार भागेकामध्ये अझै १४ जनालाई प्रहरीले नियन्त्रयामा लिन सकेको छैन ।  कोटेश्वरतर्फबाट आतंक सिर्जना गर्दै हिँड्ने समूहलाई भने बानेश्वर प्रहरीले तिनकुनेबाट नियन्त्रणमा लिएको थियो । भक्तपुर सुधार गृहभित्र कूल २ सय ५३ किशोर र ४२ किशोरी थिए । त्यसमध्ये २ सय २६ जना सोमबार एकाएक तोडफोड गर्दै भागेका हुन् ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई काठमाडौंका विभिन्न प्रहरी थुना तथा ललितपुर प्रहरी परिसरको थुनामा राखेको छ ।  त्यसरी सुधार गृहका किशोरहरु भाग्नुको कारण भने रामेछाप मन्थली नगरपालिका–३ का कमल बस्नेतसँग जोडिएको छ ।

बलात्कार अभियोगमा २९ जेठ ०७७ देखि भक्तपुर बाल सुधार गृहमा राखिएका कमलको आइतबार मृत्यु भयो ।  तिघ्रामा पिलो निस्किएका कमललाई केही दिनदेखि ज्वरो आएको थियो । पिलोकै कारण ज्वरो आएको आशंका गरेको बाल सुधार गृहले आइतबार अलि असहज भएको देखिपछि भने उनलाई उपचारको लागि भक्तपुर नागरिक अस्पताल पुर्‍यायो ।

तर, अस्पताल पुर्‍याएको केही समयमै अस्पतालले उनलाई मृत घोषणा गर्‍यो । कमलको मृत्युको खबरले बालसुधार गृहका अन्य बन्दीहरु आक्रोशित भए । बाल सुधार गृह प्रशासनले कमललाई समयमै अस्पताल नलगेको आरोप उनीहरुको छ ।

आइतबारदेखिनै अशान्त भएको बालसुधार गृहका बन्दीहरुले सोमबार भने सुधार गृहको सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरे ।  गेट फोरेर सडकमा निस्किए । सुधार गृहको सुरक्षामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा २२ जना प्रहरी खटिएका थिए ।

उनीहरुलाई कुटपिट गरेर बालबन्दी भागेको सुधार गृहका प्रशासन प्रमुख केशव सुवालले बताए ।

उनी भन्छन्, “कमललाई सामान्य ज्वरो आएको थियो । हामीले उनका आफन्तलाईसमेत उनको स्वास्थ्यबारे जानकारी गराइसकेका थियौँ । उनको त्यही कारण मृत्यु होला भन्ने कल्पना गर्न सकिने कुरा नै थिएन । तर, आइतबार एकाएक गाह्रो भयो भनेपछि अस्पताल लिएर गएका थियौँ । तर, घटना घट्यो ।”

बालसुधार गृहभित्र बालिग
सोमबार बाल सुधार गृह तोडफोडको मूख्य योजनाकारहरु भने बाल सुधार गृह भित्र रहेका बालिगहरु रहेको खुलेको छ । सुधार गृह भित्र रहेका कूल २ सय ५३ मध्ये एक सय ३१ जना भने बालिग भइसकेकोे सुधार गृहका प्रशासन प्रमुख केशव सुवालले जानकारी दिए ।

“१८ वर्षमुनिका बालकलाई राखेर उनीहरुको भविष्य सुधार गर्ने ठाउँमा २२–२५ वर्षकै युवाहरु राखिएको छ । त्यसैको परिणाम हिजोको घटना हो,” सुवालले भने । उनका अनुसार जघन्य अपराधमा दोषी ठहर भएका बालकहरु लामो समय जेल बस्नु पर्ने र १८ वर्ष पूरा हुँदा पनि अन्य जेलमा सरुवा नहुँदा उनीहरु बालसुधार गृहमै राखिएको छ ।

बाल सुधार गृहभित्र बलात्कार, हत्या लागूऔषध अपराधमा जेल सजाय भएका अधिकांश बालक छन् । आइतबार मृत्यु भएका कमलसमेत २० वर्षका थिए । उनले रामेछापकै एक पाँचवर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सुधार गृहमा राखिएको थियो ।

सुधार गृह तोडफोड गरेर भागेकालाई नियन्त्रणमा लिन उपत्यकाका प्रहरी कार्यालयले ललितपुर र काठमाडौंबाटसमेत प्रहरी भक्तपुर पठाउनु परेको थियो ।

प्रहरीले बनायो छानबिन गर्न समिति

घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति बनाएको छ ।  उपत्यकाकै सुधार गृहबाट प्रहरीलाईसमेत घाइते बनाएर तोडफोड गर्नु र भाग्नुले प्रहरीको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ ।

यद्यपी बाल सुधार गृहमा खटिने प्रहरी कर्मचारीलाई हतियार बोक्नसमेत अनुमति हुँदैन ।  त्यसैको फाइदा उठाएर थुनुवा बालकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि आक्रमण गरेर भाग्न सफल भएको भक्तपुर प्रहरीको भनाइ छ ।

घटना के कारण प्रहरीको कन्ट्रोल बाहिर जान पुग्यो भन्ने विषयमा छानबिन समिति बनेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । कार्यालयकै अर्का एसएसपी ओमबहादुर रानाको नेतृत्वमा एकजना एसपी जनकबहादुर शाही र एक जना निरीक्षक शंकर आचार्य रहने गरी समिति बनेको हो ।

त्यस्तै भक्तपुर प्रशासनले पनि घटनाको छानबिन गर्न सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छुट्टसमिति बनाएको छ । भक्तपुर बाहेक मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रूपन्देही गरी ८ जिल्लामा बाल सुधारगृह सञ्चालनमा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro