site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालको राजनीतिक प्रतिवेदन : एमाले दक्षिणपन्थी विसर्जनवादी गुट
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेकपा (एमाले)लाई प्रतिगामी विर्सजनवादी गुटका रुपमा व्याख्या गरेका छन् ।

पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरेको अध्यक्षको राजनीतिक प्रतिवेदनमा उनले एमालेले प्रतिगामी पुनरुत्थानवादी तत्वहरूसँग सहकार्य अघि बढाइरहेको पनि उल्लेख गरेका छन् ।

नेपालले एमालेबाट अलग भएको नेकपा एसले माक्र्सवाद, लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्ने भन्दै एमालले भने जबजलाई समेत मार्गदर्शक सिद्धान्त मान्ने गरेको उनको टिप्पणी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“०६/६३ को जनआन्दोलनपछि प्रतिगमनलाई परास्त गरिएको छ । संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भएको छ । प्रतिनिधिसभा पुनःस्थापित भएर पूर्ण कार्यकाल क्रियाशील रहेको छ,” नेपालको प्रतिवेदनमा भनिएको छ, “संविधान क्रियाशील भएको छ र संघ, प्रदेश र स्थानीय तहका निर्वाचन सम्पन्न भएका छन् । जनताले नगरेको भए यी सब काम हुने थिएनन् ।”

उनले एमाले दक्षिणपन्थी विसर्जनवादमा गएको भन्दै विद्रोहको औचित्य स्थापित भएको उल्लेख गरेका छन् ।

“नेपाली कम्युनिष्ट आन्दोलनको हिसाबले हेर्दा हामीले तत्कालीन नेकपा (एमाले)को नेतृत्व गुटमा देखापरेको दक्षिणपन्थी विसर्जनवादका विरुद्ध विद्रोह गरेका थियौँ,” नेपालको प्रतिवेदनमा भनिएको छ, “त्यस दक्षिणपन्थी विसर्जनवादी गुटसँग हाम्रा थुप्रै भिन्नताहरू रहेका छन् ।”

यस्ता छन् माधव नेपालले देखाएको एमालेसँगका भिन्नता

१. हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी क्रान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौँ भने एमाले यो मान्दैन ।

२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पुँजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन ।

३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन ।

४. हामी मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिद्धान्त मान्दछ ।

५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने भन्छौँ भने एमाले यो मान्दैन ।

६. हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन ।

७. हामी प्रतिगामी पुनरुत्थानवादी तत्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ । यी मूलभूत सवालहरूमा हाम्रो पार्टी र एमालेबीच भिन्नता रहेको हुनाले पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्