काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)बाट गरिएको विद्रोहको औचित्य पुष्टि भएको बताएका छन् ।
पार्टी कार्यालय आलोकनगरमा पोलिटब्युरो बैठक समापन गर्दै नेपालले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन समाप्त पारिसक्ने आरोप लगाए ।
“हामीले विद्रोह नगरेको भए देशको संविधान, संघीयता र संसद् सबै ओलीले समाप्त गरिसक्ने थिए,” उनले भने, “हामीले विद्रोह नगरेको भए पार्टीभित्र हाम्रो विचार समूहलाई चरम अत्याचार गरिने पक्का थियो । आजसम्मका सबै घटनाक्रम र प्रवृत्तिलाई हेर्दा हाम्रो विद्रोहको औचित्य पुष्टि भइसकेको छ ।”
दुईदिनसम्म चलेको पोलिट्ब्युरो बैठकमा ४८ जनाले धारणा राखेको उपममहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । भोलिबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्ने र पार्टी महाधिवेशनबारे निर्णय लिने जानकारी दिए ।