सप्त बुद्ध – विपस्सी, सिखी, वेस्साभू, ककुसंघ, कोनागमन, कस्यप र गौतम बुद्ध
भारतको मध्यप्रदेश राज्यको सतना जिल्लामा अवस्थित विशाल भरहुत स्तुपको उत्खनन् बेलायती सेनाका जर्नेल सर अलेक्जेन्डर कनिंघमले गराएका थिए । त्यतिबेला स्तुपको इँटा चोरेर २०० घर बनाइएको थियो रे ! त्यसैले त्यहाँको सम्पूर्ण पुरातात्विक अवशेष/सामान कलकत्ता लान कनिंघमले चन्द्रहवा रेलवे स्टेसन बनाउन लगाए । भरहुत स्तुपको अभिलेख हाल कलकत्ता म्युजियम छ । यो धम्म (व्राम्ह) लिपिमा लेखिएको छ । यसमा कस्सप, कोरागमन, ककुसंघ बुद्धहरूको उल्लेख छ ।
अजन्ताको गुफा नम्बर १७ मा पूर्व बुद्धहरूको चित्र पाइन्छ ।त्यसैगरी एलोराको गुफा नम्बर १२ मा ७ बुद्धका मूर्तिहरू पाइन्छन् । सारनाथ, बोधगयामा पनि ७ बुद्धको मूर्ति पाइन्छ । साँची स्तुपमा सात बुद्धको रेखाङ्कन पाइन्छ । तीन बुद्धको स्तुपबाट र चार बुद्धको बोधिवृक्षबाट देखाइएको छ । यसमा 'भगवतो कोणागमन वोधी' र 'भगवतो विपस्सीनो वोधी' भनेर कोनागमन बुद्ध र विप्पसी बुद्धको नाम उल्लेख गरेको पाइन्छ ।
चौथो शताब्दीमा भारत आएका चीनी यात्री फाहयानको डायरीको २१ओ अध्यायमा कसप, कोरागमन र क्रकुछन्द बुद्धहरूको उल्लेख छ ।
सुकिती (सिद्धार्थ गौतम) वुध (बुद्ध) :
असोक (अशोक) कालीन अभिलेखहरूमा सिद्धार्थ गौतम बुद्धलाई सुकिति वुधको नामले सम्बोधन गरेको पाइन्छ । उनको जन्म कपिलवस्तुको लुम्बिनी वनमा भएको हो । त्यतिबेला त्यहाँ शाक्य गणराज्य थियो । कतिपय अभिलेखमा बुद्धलाई 'शाक्यमुनि' पनि लेखिएको पाइन्छ । उनको पिताको नाम सुदोदन (शुद्धोधन); माताको नाम रूप्पन देई (महामाया); सानीमाको नाम प्रजापति गौतमी, पत्नीको नाम भद्द काचाना/कात्यायनी (यसोधरा) र पुत्र राहुल अनि ससुराको नाम सुप्पबुद्ध थियो ।
जन्म स्थान लुम्बिनी (हाल नेपाल) मा अशोक स्तम्भ रहेको छ । यो स्तम्भ सन् १९३६ मा जर्मन पुरातत्वविद डा. एलोइस फेहररले पत्ता लगाएका हुन् ।
कस्सप बुद्ध :
कस्सप बुद्धको जन्म बाराणसी (कासी)मा भएको थियो । उनको पिताको नाम वस्नदत्त थियो भने आमाको नाम धनवती थियो । उनको पत्नीको नाम सुनन्दा थियो र छोराको नाम विजित सेन थियो । उनले प्रथम उपदेश सारनाथमा दिएका थिए । उनको शिष्यको नाम भारद्वाज थियो ।
उत्तरप्रदेश श्रावस्तीबाट ९ मिल पश्चिम टन्दवामा कस्सप बुद्धको स्तुप थियो । यो स्तुप पनि कनिंघमले उत्खनन् गरेका थिए । त्यतिबेला स्तुपमाथि शिव लिङ्ग रहेकाले उनलाई स्थानीयले उत्खननबा रोकेका थिए । अहिले त्यो स्तुप नष्ट अवस्थामा छ ।
सातौं शताब्दीमा सक्कली विनय पिटक खोज्दै नालन्दा आएका ह्वेनसाङले आफू बोधगया गएको र पल्लमा कस्सप बुद्धको स्तुप देखेको वर्णन गरेका छन् ।
काठमाडौंको खास्ति चैत्य (खासाबाट आउनेहरूलाई राख्ने/बस्ने चैत्य हाल बौद्धनाथ स्तुप) कस्सप बुद्धको अस्ति राखेर निर्माण गरिएको मानिन्छ ।
काठमाडौं नघ:(ल) टोलस्थित सिघ:को चैत्य कस्सप बुद्धकै चैत्य मानिन्छ । यस चैत्यलाई कस्सप (कासी) स्वयंम्भू पनि भनिन्छ । यहाँको श्री शान्तिघट बज्रधातु महाविहारमा अवस्थित भूमिस्पर्श मुद्रामा रहेको बुद्धलाई क्वापा:द्यो: (कस्यप देव) को रूपमा अहिलेसम्म पनि पूजा गरिन्छ ।
कोनागमन (कनकमुनि) बुद्ध :
कोनागमन बुद्धको जन्म हेमावती नगरमा भएको थियो । उनको पिताको नाम यजदत्त थियो भने आमाको नाम उत्तरा थियो । उनको पत्नीको नाम रूचिगाता थियो भने छोराको नाम सतबाहु थियो ।
अहिले नेपालमा पर्ने निगाली सरोवरस्थित सम्राट असोकको ३०० ईपूको ४० फिट अग्लो स्तम्भ पाइएको छ । राज्याभिषेकको चौधौं वर्षमा यो जीर्ण स्तुपको असोकले मर्मत गराएका थिए । यो स्तम्भमा "वुधस् कोनागमनस " उल्लेख गरिएको पाइन्छ । कोनागमन बुद्ध, सुकिती (गौतम) बुद्ध भन्दा १०० वर्षअघिका मानिन्छन् ।
ककुसंघ (क्रकुछन्द) बुद्ध :
ककुसंघ बुद्धको जन्म हेमवती नगरमा भएको थियो । उनको पिताको नाम अग्निदत्त थियो भने आमाको नाम विसाखा थियो । उनको पत्नीको नाम लोचनी थियो भने उनको शिष्यको नाम विदूर हो ।
सम्राट असोकले नेपालको कोटिहवामा ककुसंघ बुद्धको जन्मस्थलमा स्मारक (स्तम्भ) बनाएका थिए । यो स्मारक अहिले टुक्रेर साढे चार फिटमात्र बाँकी छ । भरहुत स्तम्भमा समेत ककुछन्द बुद्धलाई 'भगवतो ककुछन्दस् वोधी' भनेर उल्लेख गरिएको पाइन्छ ।
चौथो शताब्दीमा भारत आएका चीनी यात्री फाहियानले श्रावस्तीको दक्षिण-पश्चिममा ककुसंघ बुद्धको स्मृतिस्थल देखेको उल्लेख गरेका छन् ।
वेस्साभू बुद्ध :
वेस्साभू बुद्धको जन्म अनुम नगरमा भएको थियो । उनको पिताको नाम राजा सोपतित थियो भने आमाको नाम यस्वी थियो । उनको पत्नीको नाम सुचित्रा थियो ।
सिखी बुद्ध :
सिखी बुद्धको जन्म अरूणावती नगरमा भएको थियो । उनको पिताको नाम राजा अरूण थियो भने आमाको नाम प्रभावती थियो । उनको पत्नीको नाम सव्दकामा थियो भने छोराको नाम अतुल थियो ।
विप्पसी बुद्ध :
विपस्सी बुद्धको जन्म वधुमती नगरमा भएको थियो । उनको पिताको नाम राजा वन्धुमणी थियो भने आमाको नाम वन्धुमती थियो । उनको पत्नीको नाम सुदर्सना थियो भने छोराको नाम सम्वतकन्द थियो । उनले पातली वृक्ष तल बोधज्ञान प्राप्त गरेका थिए । विपसी बुद्ध विप्पस्यना (आनापाना सती) को प्रवर्तक मानिन्छन् ।
भरहुत स्तम्भमा पनि "भगवतो विपस्सीनो वोधी " भनेर उल्लेख गरिएको पाइन्छ । फाहयानले आफू आएको बेला विपस्सी बुद्ध बितेको १३०० वर्ष भयो भन्ने उल्लेख गरेका छन् । यसबाट विपस्सी बुद्ध भगवान बुद्ध भन्दा लगभग ४०० वर्ष अघिको भन्ने अनुमान लगाउन सकिन्छ ।
स्वयम्भू महापुराणमा विपसी बुद्धले काठमाडौं ताललाई तीनचोटि परिक्रमा गरी नागार्जुनमा तपस्या गरी रोपेका बीउबाट कमलको फूल फुलेको र त्यसमाथी स्वयम्भू चैत्य उत्पन्न भएको उल्लेख छ ।
दिपंकर बुद्ध :
बुद्ध धर्मको महायानी वज्रयानी परम्परामा दिपंकर (दीपक लिएको) बुद्ध चार असंख्य र एक लाख कपस अगि थियो भन्ने विश्वास गरिन्छ । यो कुरा विज्ञान सम्मत देखिँदैन । तर, दिपंकर बुद्धको अभय मुद्राका मूर्तिहरू जताततै पाइन्छ । उनको मूर्ति नेपाल, भारत, श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड, कोरिया, जापान, मंगोलिया, अफगानिस्तान आदि देशहरूमा पाइन्छ । सन् २००१ मा अफगानिस्तानमा तालिवानहरूले ध्वस्त बनाएको बामियान बुद्धको मूर्ति पनि दिपंकर बुद्धकै हो ।
दिपंकर बुद्धको जन्म रम्मवती नगरमा भएको थियो । उनको पिताको नाम सुदेवो थियो भने आमाको नाम सुमेधा थियो । उनको पत्नीको नाम पद्मा थियो भने छोराको नाम स्वागत थियो । उनले पिपल वृक्ष मुनि बोधज्ञान प्राप्त गरेका थिए ।
नेपालमै पनि स्वयम्भू महाचैत्यमा हारती माताको पश्चिममा सातौं शताब्दीको दिपंकर बुद्धको मूर्ति अझै छ । बौद्धहरू स्वयम्भू भुरङ्ख्य:(ल)मा मनाइने सम्यक पूजामा दिपंकर बुद्ध कै पूजा गर्छन् । काठमाडौंको इटुम्बहालमा पनि दिपंकर बुद्धको पूजाआजा गरिन्छ । पाटनका बौद्ध धर्मालम्वीहरू नागबहालबाट सुरू गरेर उपत्यकाको १३१ बहाबहि घुम्दै दुईदिनमा महालक्ष्मीस्थानसम्म आएर टुङ्ग्याउने परम्परा भएको "दिपंखा (दिपंकर) यात्रा" अझै जारी नै छ ।
बुद्ध परम्पराको इतिहास
बुद्ध परम्पराको इतिहास अनुसार २८ बुद्धहरू रहेको पाइन्छ । ती हुन् -
१. तन्नाकार, २. मेधंकर, ३. सरगंकर, ४. दीपंकर, ५. कौण्डिन्य, ६. मङ्गल, ७. सुमन, ८. रेवत, ९. सोभित, १०. अनोमादसी, ११, पदुम, १२. नारद, १३. पदमतर, १४. सुमेध, १५. सुजात, १६. पीयदस्सी, १७. अत्थदस्सी, १८. धम्मदस्सी, १९. सिद्धत्थ, २०. तिस्स, २१. फुस्स, २२. विपस्सी , २३. सिखी, २४. वेस्साभू, २५. ककुसंध, २६. कोनागमन, २७. कस्यप , २८. गौतम बुद्ध
तर, सुत्त पिटकको खुद्दक निकायको बुद्ध वंशपाली ग्रन्थमा पहिलो तीन बुद्धको उल्लेख पाइँदैन र दीपंकर बुद्धदेखि गौतम बुद्धसम्म मात्र पाइन्छ । त्यसमा पनि पाँच बुद्धको मात्र प्रामाणिक इतिहास पाइएको छ । तथापि सिन्धु घाटीको सभ्यता मोहनजो दारोको चैत्यरूपी संरचना, तरणताल, बुद्ध सूचक पिपलको पात, छ सूत्रीय चक्र, चिवर जस्तै लवाइ आदिले गर्दा गौतम बुद्धभन्दा पनि पहिले बौद्ध परम्परा रहेको अनुमान गर्न सकिन्छ । भगवान बुद्धले नयाँ धर्म दिनुको सट्टा सनातन धर्ममै "धर्म चक्र प्रवर्तन" गरेर आठ सुईको चक्र अर्थात अस्टाङ्गिनी मार्गको उपदेश दिएको पाइन्छ ।
*****
(नोट : बुद्धकालमा पाली प्राकृत भाषा र धम्म लिपि प्रचलनमा थियो । पाली प्राकृत नै संस्कारित भएर दसौं शताब्दीपछि अहिलेको जस्तो पूर्ण संस्कृत भाषा बनेको केही भाषाशास्त्रीको मत छ । यसैले यस लेखमा प्रयोग भएका कतिपय नामको वर्णविन्यास लेखकको अनुरोधमा पालीमै जसरी लेखिएको छ । )