site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

यस वर्षको परीक्षाफलअनुसार माध्यमिक तहको पढाइ पूरा गर्ने आधा विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुने रहेछन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलवार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलअनुसार ५२ प्रतिशतमात्र अगाडि पढ्न ‘योग्य’ देखिए । 

सम्भवतः परीक्षामा कमजोर नतिजा ल्याउनेमध्ये अधिकांश विद्यार्थी सरकारी विद्यालयमा पढ्नेहरू नै छन् । तीमध्ये पनि अधिकांश निम्नमध्यम वर्गका होलान् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अर्थात्, यो शैक्षिक उपलब्धिको मात्र नभएर सामाजिक न्यायको पनि समस्या हो । 

हुनत ‘योग्य’ भनिएकामध्ये पनि सबैले उच्च शिक्षा अध्ययन गर्न सक्तैनन् । धेरैको मूलतः आर्थिक अभावका कारण अगाडि पढ्ने सपना त्यसै तुहिएर जाने गर्छ । नेपाली समाजमा हुर्केका सन्तानले परिवारको गुजारा चलाउन सघाउने प्रचलन कायमै जो छ ।

यसै पनि ३ घन्टामा दिएको सीमित प्रश्नको उत्तरका आधारमा विद्यार्थीले वर्षौं लगाएर हासिल गरेको समग्र विद्यालय शिक्षाको मूल्याङ्कन  गर्ने प्रणाली आफैँमा विसङ्गति हो । 
त्यसमाथि, त्यसैका आधारमा उच्च शिक्षा प्रवेशमा रोक लगाउनु अर्को विडम्बना हुने देखिन्छ ।

राज्यका निम्ति यो सङ्ख्या बर्सेनि थपघट भइरहने ‘तथ्याङ्क’मात्र हुनसक्छ । तर, व्यक्ति र उसको परिवारका लागि सिंगो जिन्दगीकै सबाल यसमा जोडिएको हुन्छ । यसरी 
विद्यालय शिक्षा समाप्त गरेका आधा युवा ‘अयोग्य’ ठहरिँदा राज्यकै पनि उन्नतिमा ठूलो तगारो लाग्छ ।

अर्कातिर, जति नै विसङ्गत भए पनि शिक्षा र परीक्षा प्रणालीमा तत्काल फेर्न सहज हुँदैन । परन्तु, विद्यालय तह नै पूरा नगरी बाहिरिएकादेखि यसरी बाहिर पारिएका बालबालिका तथा युवालाई उत्पादनमूलक सीप हासिल गर्ने उपाय भने तत्कालै अपनाउन सकिन्छ ।

यसका लागि आधारभूत शिक्षा हासिल गर्ने अवसर सबै बालबालिकालाई सुनिश्चित गर्ने जिम्मा स्थानीय तहले लिनुपर्छ । कक्षा १२ समाप्त गर्नेमध्ये उच्च शिक्षा पढ्न चाहने र पाउनेहरूका लागि नेपाल सरकार जमानी बसेर ऋण लिने व्यवस्था मिलाउन उचित हुन्छ ।

बाँकी रहेका युवालाई उत्पादनमूलक सीप सिकाउने जिम्मा प्रदेश सरकारले लिने हो भने क्षेत्रीय विकासका लागि आवश्यक जनशक्ति आपूर्ति गर्न पनि सकिनेछ । वैदेशिक रोजगारमै गए पनि दक्ष जनशक्तिले बढी पारिश्रमिक र अपेक्षाकृत सजिलो  काम पाउनेछन् । 

‘अयोग्य’ ठहर गरेर कुनै युवालाई उन्नतिको अवसरबाट वञ्चित गर्दा व्यक्ति र परिवारमात्र होइन राज्यकै पनि विकासको सम्भावनामा तगारो लाग्छ । यसैले सरकारले औपचरिक शीक्षाको सोपानबाट पन्छाइएका युवालाई राज्यको मूलधारमा समेट्ने उपयुक्त कार्यक्रम तत्काल लागु गर्नुपर्ने देखिन्छ ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro