site stats
बाह्रखरी :: Baahrakhari
देश
मिथिला बिहारी नगरपालिका कार्यालयमा अख्तियारको छापा

काठमाडौं । मिथिला बिहारी नगरपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार छापा मारेको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा गरिए पनि सम्मान नगरिएको आरोपमा अख्तियार बर्दिबासको टोलीले छापा मारेको हो ।

मिथिला बिहारी–९, अन्दुपट्टीका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियारको कार्यालय बर्दिबासमा उजुरी दर्ता गराइएको छ । ज्येष्ठ नागरिकलाई सम्मानका लागि छुट्टयाइएको चार लाख रुपैयाँको बजेटमा वडाध्यक्ष यादवले कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकले बताएको सो निवेदनमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

यस्तै, वैदेशिक रोजगारबाट फर्किएका युवाका निम्ति सीपमूलक तालिमका लागि चार लाखको बजेटमा तीन लाख ९८ हजार ३२५ रुपैयाँ भुक्तानी लिएको, मिथिला बिहारी–९ अन्तर्गत ‘स्ट्रिट लाइट’ जडानका लागि आठ लाखमा सात लाख ९२ हजार ९२१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, मसलन्द, फर्निचर, इन्धन र सवारी ममर्तका लागि साढे चार लाखको बिल भर्पाइ पेस गरेको र एक लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख छ ।

यसैगरी, मिथिला बिहारी–९ मा दुई इन्चको कृषि पम्पिङ सेटका लागि छुट्टयाइएको पाँच लाखमा चार लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीको सिकाइ उपलब्धिका निम्ति श्री रामजानकी आधारभूत विद्यालय कटरैत र आधारभूत विद्यालय अन्दुपट्टीका लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी नौ लाख ९६ हजार ६६० रुपैयाँ भुक्तानी लिएको उजुरीपत्रमा उल्लेख छ ।

मिथिला बिहारी–९ अन्तर्गत खानेपानीका लागि ह्यान्डपाइप जडान तथा खरिदका लागि छुट्टयाइएको १० लाखमा नौ लाख ६६ हजार ७५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख छ ।

पेस गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयमा कुनै पोसाक वितरण नगरिएको र सो वडाका ज्येष्ठ नागरिकले सम्मान नपाएको सहीछाप गरिएको आधार पेस गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्