गोरखा । केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुंगासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ।
त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ । “पहिरोले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ”, अध्यक्ष लामाले भने, “घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।”
पहिरो रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।
प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ । रासस