बन्दीपुर । आन्तरिक र बाह्य पर्यटकको हब बन्दीपुर यतिखेर शान्त छ । सिजनका बेला बन्दीपुरमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
सयौँ वर्षदेखि आफ्नो कला, संस्कृति र विभिन्न जातजातिको जिउँदो संग्रहालयका रूपमा स्थापित बन्दीपुर नेपालका प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो ।
कसरी बन्यो बन्दीपुर ?
काठमाडौं, भक्तपुर र ललितपुरबाट व्यापार व्यवसायका सिलसिलामा पुगेका नेवार समुदायका व्यक्तिहरूले निर्माण गरेको बन्दीपुर यतिखेर विश्वभर तथा नेपालकै आन्तरिक पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।
करिब तीन सय वर्षको इतिहास बोकेको बन्दीपुर भारत र तिब्बत सँगको व्यापारिक मार्गको केन्द्र विन्दुका रूपमा स्थापित थियोे । यहाँ परम्परागत नेवारी शैलीमा निर्माण गरिएका घर, पाटीपौवा, चौतारी, मन्दिर छन् । त्यसैगरी खानीको स्लेट ढुंगाले बनाएको सुन्दर बाटोघाटाले झनै सुन्दर देखिन्छ ।
अझै भन्ने हो भने नेवार, मगर, गुरुङसँगै विभिन्न जातजातिको जिउँदो जातीय संग्रहालयका रूपमा बन्दीपुरलाई लिन सकिन्छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुर तनहुँ जिल्लाको पूरानो सदरमुकाम हो ।
बन्दीपुर घुम्ने ठाउँ मात्रै होइन, राम्रा व्यवस्थित होमस्टेमा बाँस बस्ने ठाउँ पनि हो । मगर भाषामा ‘बन’को अर्थ जंगल र ‘डी’को अर्थ पानी हो । जंगलबाट आएको पानी भन्ने अर्थ लाग्ने गरी बन्डीपुर हुँदै पछि बन्दीपुर नाम हुन गएको स्थानीय बताउँछन् ।
वि.सं.२०२५ मा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सारिएपछि विस्तारै सुनसान खण्डहरमा परिणत हुन पुग्यो । त्यति बेला बन्दीपुर ‘डेड सिटी’ अर्थात् ‘मृत सहर’ अझै भन्ने हो भने भूत गाउँ भन्ने गरिन्थ्यो ।
कारण थियोे व्यापार, व्यवसाय बन्द भएपछि काठमाडौं उपत्यकाका नेवार समुदायका मानिसहरूले यो ठाउँ छोडेर दमौली झरे कोही पुर्ख्यौली थातथलो फर्किएसँगै शून्य बन्यो, जीर्ण बन्यो ।
करिब सात किलोमिटरको दुरीमा सवारीसाधन गुड्नेगरी पृथ्वी राजमार्ग निर्माण भयो । त्यसपछि बन्दीपुरको व्यापार केन्द्र ठप्प हुँदा भूत गाउँका नामले समेत त्यतिबेला परिचित बनेको मतिना चेन होटलका सञ्चालक एवम् स्थानीयवासी अनिल प्रजापतिले बताए ।
त्यसको करिब डेढ दुई दशकपछि त्यहाँको समुदायका दोस्रो पुस्ताका युवाहरूले विस.२०६३ पछिपुनर्निर्माण गर्ने कार्य अगाडि बढाए ।
त्यसपश्चात पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले जीर्ण बनेका घरहरूलाई पूरानै शैलीमा नभत्काएरै त्यसैलाई आकर्षक मोडलमा बनाउन थालियो । बाटोलाई समेत व्यवस्थित बनाएपछि पर्यटक भित्र्याउन थालिएको स्थानीय बताउँछन् । यतिबेला बन्दीपुर पहाडकी रानीको उपनामले परिचित हुँदै गएको छ ।
रि–ब्राण्डिङ गर्ने उदेश्यले बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, पालिकाकै उपाध्यक्ष, हान, रेवान, एफएनसीसीआई लगायतका पर्यटन सम्बद्व संघ संस्थाका प्रमुखहरू र नेपाल टुरिजम प्रोमोसन टूरबीच छलफल गरेर बन्दीपुरको विकासदेखि विनास र उदयको बारेमा प्रचारप्रसार गरेको नेपाल टुरिजम प्रोमोसन टूरका संयोजक विष्णु विवेक जानकारी दिए ।
पछिल्लो समय बन्दीपुरमा परम्परागत शैलीका मौलिक घरहरूको ठाउँमा आधुनिक एवं कंक्रीटका घरहरू निर्माणले तीव्रता पाउँदा बन्दीपुरको मौलिकता मेटिने त होइन भन्ने चिन्ताले स्थानीय चिन्तित छन् ।
भएका पुराना मौलिक एवं विभिन्न जातजातिका मौलिक घर, पाटिपौवा विस्तारै मासिने क्रममा छन् । त्यसलाई जोगाउन सरोकारवाला निकायको ध्यान जान खासै नसकेको स्थानीयको दुखेसो छ ।
बन्दीपुर पुगेपछि घुम्नैपर्ने ठाउँहरू
बन्दीपुर पुगेपछि घुम्नै पर्ने वरपरका महत्त्वपूर्ण पर्यटकीय ठाउँहरू यसप्रकार छन् ः मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), थानीमाई मन्दिर, सबै जातजातिका पुजारी भएको खड्कदेवी मन्दिर, हुस्लाङकोट गढी, चन्द्रकोट गढी, रामकोट गाउँ, तीन धारा, भूत्यायी बराह मन्दिर, रक क्लाइम्बिङ्, सिद्ध गुफा, बुद्ध गुम्बा, सहिद स्मारक पार्क, पहाड पानी, पातलेद्वार गुफा, सयौँ वर्ष पुरानो पद्म पुस्तकालय, विन्ध्यवासिनी मन्दिर, टुँडिखेल र कृषि पर्यटन (रेशम खेती, बाख्रा फर्म) यिनै ठाउँहरूले बन्दीपुरलाई अझै खास उत्कृष्ट बनाएको छ ।