काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल भइरहेको जनाइएको छ ।
उनीहरूबीच हिजो पनि दुई चरणमा छलफल भएको थियो । तर, सदन खुलाउने विषयमा सहमति जुटेको थिएन ।
आजै दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउन नेताहरू सक्रिय भएका हुन् ।
करिब १०० क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाएसम्म सदन चल्न नदिने एमालेको अडान छ । सोही कारण संसद् बैठक बस्न सकेको छैन ।