
विराटनगर । अदालतले सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने विराटनगर–५ निवासी इन्दिरा चापागाईंलाई थुनामै राख्न अनुमति दिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सहप्रवक्ता इन्सपेक्टर पप्पु नायकले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत मोरङले थप आठ दिनको समय दिएको हो ।
यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको थियो ।
सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा बस्दै आएकी थिइन् । महानगरका मेयर नागेश कोइरालालाई गालीगलौज गरेको आरोपसहित महानगरले प्रहरीमा उजुरी दिएको थियो ।
टाउकोमा रातो फेटा बाँधेर हातमा राष्ट्रिय झन्डासमेत बोकेर उनी धर्नामा बस्ने गरेकी थिइन् । गोग्राहा उच्च माविमा निजी स्रोतबाट सञ्चालित शिक्षा संकायको कलेजलाई महानगरले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको भन्दै उनले विरोध गर्ने गरेकी हुन् । बजेट फिर्ता गरेर सामुदायिक विद्यालयबाट कलेज हटाउन उनले प्रमुख रूपमा माग गरेकी थिइन् ।
चापागाईं ग्रोगाहा माध्यमिक विद्यालयकी पूर्वसञ्चालक समिति अध्यक्ष पनि हुन् । उनले अशोभनीय शब्द प्रयोग गरी जथाभाबी गालीगलौज गर्नुका साथै मेयरलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध पुर्याएको महानगरको आरोप छ ।