site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपालमा पहिलो शोमै दर्शक छैनन्, विदेशमा नेपाली सिनेमाका हजारौँ शो ?
फाइल तस्बिर ।

काठमाडौं । चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गर्न थालेपछि नेपाली सिनेमाले कति कलेक्सन गर्छन् भन्ने छर्लंग भयो । हप्तामै करोडौँ रुपैयाँ कमाएको भनेर गरिने प्रचार झुटो साबित भइसकेको छ । नेपालको कमाइको वास्तविकता थाहा हुने भएपछि सिनेकर्मीले अर्को ‘फन्डा’ सुरु गरेका छन् ।

सिनेमा सुटिङमा नजाँदै विदेशको राइट्स सोल्डआउट भएको हल्ला चलाउन थालिएको छ । “राम्रो ब्यानरको सिनेमाको विदेश राइट्स बिक्री नै नहुने त होइन, तर अहिले नयाँ फन्डा भने पक्कै पनि नेपाली चलचित्र उद्योगमा देखिन थालेको छ,” एक निर्देशकले बाह्रखरीसँग भने, “अधिकांश नेपाली सिनेमाको कलेक्सनको हैसियत बक्सअफिस रिपोर्ट सार्वजनिक हुन थालेसँगै स्पष्ट भएपछि अहिले नयाँ फन्डा आउन थालेको छ । विदेशमा सिनेमा बिक्री नहुँदै यहाँ बिक्री भएको हल्ला चलाउने गरेको देखिएको छ ।”

यति मात्र होइन, सुटिङ थाल्नुअघि नै नेपाली चलचित्र कुनकुन देशमा कतिकति शो चल्छ भनेर नेपालमा समाचार आइसक्छ । सिनेमाको हाइपका लागि यस्ता खालका हल्ला नियोजित रूपमा चलाउन केही व्यक्ति र समूह सक्रिय रहेको ती निर्देशक बताउँछन् । विदेशी बजारमा उच्च माग रहेको हल्ला गर्दै नेपालमा हाइप बनाएर चलचित्र चलाउने फन्डामा लाग्ने गरिएको ती निर्देशकको भनाइ छ ।

Dabur Nepal
NIC Asia

यही साउन १८ गते डार्क हर्स इन्टरटेनमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा ‘अगस्त्य भाग–१’ अमेरिकादेखि मिडल इस्टसम्मका देशमा कुनमा कति शो चलाइन्छ भन्नेबारे उल्लेख छ । नेपाली चलचित्र उद्योग संसारभर फैलँदै गएको पनि विज्ञप्तिमा उल्लेख छ ।

डार्क हर्सले आफ्नो सिनेमा किन्ने सेभेन सिज प्रालिले विदेशमा २५ सयभन्दा धेरै शो गर्ने जनाएको छ । उसका अनुसार अमेरिकामा ८०० देखि एक हजार, क्यानडामा १५०, युरोपका बाँकीसँगै जापान, कोरिया, अष्ट्रेलिया, न्युजिल्यान्ड, हङकङलगायत देशमा ७५० शो गरिनेछ । यो सिनेमाको ५५ प्रतिशत छायांकन हुनै बाँकी छ ।

निर्देशक मोहन राई विदेशमा सिनेमा कति शो चलाइन्छ भनेर अगाडि नै यकिन गर्न नसकिने बताउँछन् । “हुन त मैले डायस्पोरामा सिनेमा चलाएर यसको अनुभव सँगालेको छैन, तर सिनेमा कति चल्छ भनेर रिलिजअगाडि नै निश्चित गर्न सकिन्छ जस्तो भने लाग्दैन,” उनी भन्छन्, “तर, डास्पोरामा नेपाली सिनेमाको माग हुनु र मन पराइनु आफैँमा राम्रो हो ।”

केही समयअघि टुकी आर्ट्सले पनि आफ्नो सिनेमा ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ विदेशमा कति शो रिलिज हुन्छ भन्नेबारे विज्ञप्ति निकालेको थियो । विज्ञिप्तअनुसार यो सिनेमा अमेरिकाको बक्सअफिस चेनमा नै रिलिज गरिनेछ । रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिस चेन हलमा यो सिनेमा रिलिज हुने टुकी आर्ट्सले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।

यो सिनेमा अमेरिकामा अमेरिकाका माथि उल्लेखित चेन र अरू इन्डिपेन्डेन्ट हलमा हजारदेखि १२ सय शो, क्यानडामा १५०, बेलायतका सिने वर्ल्ड, भीयूई सिनेमा चेनमा ५००, अष्ट्रेलियाका चेनमा ५०० र मध्यपूर्वका विभिन्न हलमा ७०० शो लाग्ने विज्ञप्तिमा जनाइएको थियो ।

हालसम्म नेपाली सिनेमा नै रिलिज नगरिएका जापानका होक्काइदो नारा र नागोयाको मिडल्यान्ड स्क्वायर सिनेमामा १०० शो गरिने टुकी आर्ट्सले जनाएको थियो । युरोप, कोरिया, हङकङ, मलेसिया, भारतमा पनि सिनेमा रिलिज हुने निर्माण पक्षको विज्ञप्तिमा उल्लेख थियो ।

‘पशुपतिप्रसाद–२ : भष्मे डन’का निर्देशक दीपेन्द्र के खनाल कुन देशमा कति शो चलाइन्छ भनेर अगाडि नै भन्न नसकिने बताउँछन् । “कहाँ कति शो सिनेमा चल्छ भनेर त पहिला नै भन्न सकिन्न, तर त्यहाँका बक्सअफिस चेनमै चलचित्र रिलिज हुने हो भने रिलिजका लागि सुरुमा कति शो निकाल्न सकिन्छ, त्यो भने भन्न सकिन्छ ।”

अधिकांश नेपाली चलचित्र नेपाली डायस्पोरामा कम्युनिटी हलहरूमा देखाइन्छ । त्यस्तो अवस्थामा भने शोको ग्यारेन्टी पहिला नै गर्न नसकिने दीपेन्द्रको भनाइ छ ।

“अरूको सन्दर्भमा त म भन्न सक्तिनँ, तर हाम्रो चलचित्र ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ भने धेरै देशका बक्सअफिस चेनमै रिलिज हुने भएकाले रिलिजका लागि यति शो निकाल्दै छन् भनेर थाहा हुन्छ,” दीपेन्द्र भन्छन्, “सुरुमा शो निकाल्ने कुरा र रिलिज भइसकेपछि सिनेमा चल्ने कुरा छुट्टै हो ।”

केही वर्षयता महँगोमा आफ्नो सिनेमा बिक्री भएको, विदेशको राइट्स बिक्रीबाट आकर्षक पैसा आएको भनेर प्रचार गरिए पनि घटनाक्रमले त्यो पुष्टि गर्दैन । अधिकांश नयाँ निर्माता दोहोरिँदैनन्, यसको मुख्य कारण सिनेमा घाटामा जानु हो । ९० प्रतिशतभन्दा माथि निर्माता दोहोरिँदैनन्, कारण उनीहरूले बनाएका सिनेमाले लगानी उठाउन नसक्नु नै हो ।

नेपालमा भन्दा विदेशमा सिनेमा चलाउन कठिन रहेको निर्माता तथा कलाकार निर्मल शर्मा बताउँछन् । सिनेमाका लागि समय निकाल्न नै कठिन हुने गरेको उनी सुनाउँछन् ।

“विदेशमा नेपाली सिनेमा रिलिज गरेर चलाउन निकै कठिन हुने गरेको हामी आफैँले अनुभव गरेको कुरा हो । नेपाली सिनेमा हेर्ने नेपालीले नै हो । नेपाली कहाँ हुन्छ, सिनेमा कति टाढा प्रदर्शन हुन्छ, डेढ–दुई घण्टा ड्राइभ गरेर पुग्ने हो,” निर्मल भन्छन्, “पहिलो कुरा टिकटको मूल्य महँगो हुन्छ । दोस्रो कुरा, समय निकाल्न कठिन छ । तेस्रो कुरा, घण्टा सिस्टममा काम गर्ने नेपालीलाई काम छोडेर त्यति टाढा सिनेमा हेर्न जाने कि नजाने भन्ने हुन्छ ।”

सिनेमाको प्रोमोसनका लागि हल्ला बढी हुने गरेको निर्मलको टिप्पणी छ । यस्ता हल्लाले नेपाली सिनेमा क्षेत्रले नै विश्वसनीयता गुमाउँदै गएको उनी बताउँछन् ।

“यति सय शो चल्दै छ भनेर अगाडि भन्नुभन्दा पनि चलेपछि यति शो चल्यो भन्दा राम्रो हुन्थ्यो होला,” उनी भन्छन्, “समाचार आउँदैमा कसैले पत्याउँछ भन्ने लाग्दैन । यहाँ पहिलो शो नै दर्शक नपाएर क्यान्सिल हुने गरेको धेरैलाई थाहा छ, भन्दैमा कसैले पत्याउँदैन ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro