site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको संख्या कति हो ? यसो भन्छ दूतावास
तस्बिर : एएनआई ।

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयोग जिल्लास्थित गौरीकुण्डमा खसेको पहिरोमा परी केही नेपाली नागरिक बेपत्ता छन् । गएको बिहीबार स्थानीय समयानुसार राति करिब साढे ११ बजे खसेको पहिरोमा परी नेपाली समेत बेपत्ता भएका हुन् ।

पहिरोमा परी बेपत्ता नेपालीको संख्याबारे आधिकारिक निकायलाई यकिन जानकारी छैन । खोजी तथा उद्धारकार्य जारी रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बेपत्ता भएका व्यक्तिको संख्याबारे दूतावास र भारतीय अधिकारीहरूलाई पनि यकिन जानकारी नभएको दूतावासका एक अधिकारीले बताए । उक्त पहिरोमा परी १६ नेपाली बेपत्ता भएको दूतावासको अनुमान छ । तर, यो अनुमान मात्र भएको ती अधिकारीले स्पष्ट पारे ।

“हामीले १६ जना बेपत्ता भएको अनुमान गरेका छौँ । यो पनि अनुमान मात्र हो । त्यहाँ रहनुभएका अरू नेपालीहरूले बताउनुभएको जानकारीका आधारमा अनुमान मात्र गरिएको हो, यकिन संख्या होइन,” ती अधिकारीले बाह्रखरीसित भने, “योभन्दा धेरै वा थोरै बेपत्ता भएको हुन सक्नुहुन्छ । यति नै संख्यामा बेपत्ता भएको पनि हुनसक्छ ।”

पहिरो खसेको ठाउँ केदारनाथधाम यात्रामा जाने मार्गमा पर्ने र त्यहाँ नेपालीका अस्थायी प्रकृतिका होटेल रहेका उनले जानकारी दिए । सोही कारण त्यहाँ कति नेपाली रहने गरेका थिए भन्ने यकिन विवरण थाहा नभएको उनको भनाइ छ ।

“पहिरो खसेको ठाउँमा स्थायी होटेल होइन, सानातिना होटेल हुन् । केदारनाथ जाने बाटोमा पर्ने हो । छाप्रा किसिमका होटेलमा कतिजना थिए भन्ने थाहा हुन सकेको छैन,” ती अधिकारीले भने ।

त्यहाँ आउजाउ गर्ने अरू व्यक्तिले दिएको जानकारीका आधारमा दूतावास र भारतीय अधिकारीहरूले बेपत्ताको विवरण संकलन गरिरहेको उनले बताए । पहिरोमा नेपालका कुन ठाउँका कतिजना परेका छन् भन्ने स्पष्ट बताउन सकिने अवस्था नरहेको ती अधिकारीले सुनाए ।

“जुम्लाका एकै परिवारका सातजना परेका छन् भन्ने आएको छ । कालीकोटका पनि परेका छन् भन्ने आएको छ । तर, यी सबै त्यहाँ रहेका अरूले भनेका आधारमा हुन्, पुष्टि भएको होइन,” ती अधिकारीले भने, “अरू जिल्लाका पनि छन् भन्ने छ । तर, ठ्याक्कै बताउन सकिने छैन ।”

घटनास्थलमा तीन शव फेला परेको र तीमध्ये एक नेपालीको सनाखत भएको जानकारी त्यहाँ रहेका अरू व्यक्तिले दूतावासमा गराएको उनले बताए ।

“तीन शवमध्ये एक कालीकोटका टेकबहादुर विकको रहेको जानकारी अरू व्यक्तिले गराउनुभएको छ । अर्को एक शव पनि नेपालीको भन्ने जानकारी आएको छ, तर पहिचान भएको छैन,” ती अधिकारीले भने, “एक शव भने नेपालीको नभई भारतीयकै भन्ने छ ।”

सो क्षेत्रमा ठूलो संख्यामा तीर्थयात्री आउजाउ गर्ने र त्यस्ता होटेलमा बस्ने गरेकाले पहिरोमा परेकाको यकिन विवरण थाहा हुन कठिन भएको उनले बताए । नेपालीको होटेलमा उनीहरूकै आफन्त, अरू नेपाली वा विदेशी समेत रहेको हुन सक्ने ती अधिकारीको भनाइ छ ।

घटनास्थलमा उद्धार र खोजीकार्य जारी रहेको उनले जानकारी दिए । आफूहरूले भारतीय अधिकारी र त्यहाँ रहेका अरू व्यक्तिहरूसित समन्वय गरिरहेको उनले बताए ।

“उद्धार र खोजीकार्य जारी छ । हामीले समन्वय गरिरहेका छौँ । परराष्ट्रमन्त्री (एनपी साउद)ले पनि खोजीका लागि उत्तराखण्डका मुख्यमन्त्रीसँग आग्रह गर्नुभएको छ,” ती अधिकारीले भने, “तर, बेपत्तालाई फेला पार्न सकिएको छैन । उहाँहरू कहाँ हुनुहुन्छ, थाहा छैन । उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ ।”

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro