site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुनकाण्डमा नाम जोडिएका नेतामाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

चार दिनयता जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने सदस्यहरूले विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै केही नेताहरूले उनीमाथि पनि छानबिन हुनुपर्नेमा जोड दिए ।

बैठकस्थल परिसरमा केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनका विषयमा गम्भीर छलफल भइरहेको बताए । नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठाइएको उनले जानकारी दिए ।

पार्टी उपाध्यक्ष महराको विषय मिडियामा आउनेबित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको उनले उल्लेख गरे । अनुसन्धानको दायरामा ल्याउनुपर्ने गरी उनीमाथि कुनै उजुरी नपरेको सापकोटाले स्पष्ट पारे ।

कोही नेताहरू यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वचन दिएकाले त्यसमा विश्वास गर्नुपर्ने उनले बताए ।

Global Ime bank

“के स्पष्ट पारौँ भने, मिडियामा आउनेबित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानुनी र संवैधानिक व्यवस्था छैन । त्यसो गर्नका निमित्त उजुर पर्नुपर्‍यो । उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो,” उनले भने, “ठूलो एउटा पेपरले ब्यानर न्युज बनायो भन्नेबित्तिकै मान्छे पक्राउ गर्ने हो भने त देश नै पूरै हिरासत हुने खतरा हुन्छ । यहाँ त एकले अर्कोलाई आरोप लगाउने । त्यसैले म के स्पष्ट पार्न चाहन्छु भने, पार्टीभित्र गम्भीरतापूर्वक छलफल भएको छ र हाम्रो पार्टीभित्रका पनि कोही न कोही नेताहरू यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिनँ भनेर प्रधानमन्त्रीले, पार्टी अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सबैले सहयोग गरौँ ।”

अर्का केन्द्रीय सदस्य प्रह्लाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भएमा पार्टीले संरक्षण गर्न जरुरी नभएको बताए । पार्टीका नेताहरू परे पनि कारबाहीबाट पछि हट्न नहुनेमा उनले जोड दिए ।

यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टीभित्रकै मान्छेहरू परे पनि छोड्न नहुने बताइन् । उपाध्यक्ष महराका सम्बन्धमा प्रश्न उठाइएको भन्दै उनले सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेको उल्लेख गरिन् । सबुत–प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनको भनाइ छ ।

केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीभित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए । सुन तस्कारी प्रकरणमा नाम जोडिएका नेताहरूले समेत आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको उनले जानकारी गराए ।

“वर्षमान पुनले भन्नुभयो– मलगायत कुनै पनि व्यक्तिमाथि यदि प्रश्न उठ्छ र शंका सरकारलाई लाग्छ भने छानबिन गरोस् । दोषी ठहरियो भने हामी कारबाही भोग्न तयार छौँ भनेर आज (शनिबार) भन्नुभयो,” उनले भने, “केन्द्रीय सदस्यहरूले पनि जब सरकारको तर्फबाट फायर खोलिसक्यो भने यसमा हाम्रो पार्टीको परोस् या बाहिरको परोस्, यसमा मान्छे हेरेर कारबाही गर्ने होइन कि जोजो दोषी छ, पार्टीभित्रको दोषी छ, पार्टीभित्रकोलाई कारबाही गर्ने । पार्टीबाहिरको दोषी छ, पार्टीबाहिरकोलाई कारबाही गर्ने । सरकारले इमानदारिपूर्वक भित्र, बाहिर जो दोषी छ, कारबाही गरोस् भन्ने छ ।”

केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरूको संलग्नता भए पनि नछाडिने बताए । कारबाहीका लागि प्रमाण भने हुनुपर्ने उनले स्पष्ट पारे । पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परे पनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा केन्द्रीय सदस्यहरूको एक स्वर रहेको उनले बताए ।

देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरूलाई कारबाही गर्नैपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu