काठमाडौं । नेकपा (एमाले)ले ७० वर्षे उमेरहद निलम्बन गर्ने निर्णय गर्दा वामदेव गौतम निकै उत्साहित बने । उमेरहद हटाए एमालेमै फर्कने उद्घोष गरेका वामदेवलाई यो निर्णयले राहत मिलेको थियो । त्यसो त उनकै आग्रहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेरहद निलम्बन गरेको जिकिर गर्न वामदेवनिकट नेताहरू पछि पर्दैनन् ।
ओलीकै संकेतपछि वामेदवको पार्टी नेकपा एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले उमेरहदको निर्णय खारेज गर्न निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । उमेरहदका कारण पार्टीमा रहन नपाएको गुनासो गरिरहेका वामदेवलाई यो निर्णयले खुसी बनाउनु स्वाभाविक पनि हो । तर, एमालेले ‘हाललाई उमेरहद निलम्बन गरिएको’ भन्ने शब्द राखेपछि वामदेवमा शंका देखिएको थियो ।
एमालेका सांसदहरूले संसद् भवनमा घेरेर एमालेमा फर्कन आग्रह गर्दा उनी निकै उत्साहित भएका थिए । लगत्तै उनले ‘ओलीले बोलाए एमालेमा फर्कने’ भन्दै सार्वजनिक अभिव्यक्ति थिए ।
०८० असार ३ गते एमाले मुख्यालय च्यासलमा ओली र वामदेवबीच भेटवार्ता भयो । वामदेवले आफूलाई अध्यक्षपछिको कार्यकारी भूमिका दिन माग गरे । अरू नेताहरूको पनि सम्मानजक व्यवस्थापन भए मात्र पार्टी एकता गर्न सकिने उनले बताएका थिए । ओलीले उनको प्रस्ताव अस्वीकार गरे । र, वामदेवको उत्साह निराशामा परिणत भयो ।
अहिले वामदेवले एमालेमा नजाने अभिव्यक्ति दिइहेका छन् । अर्थात्, वामदेव छिट्टै फुरुङ्ङ हुन्छन्, रिजल्ट सोजेजस्तो आउँदैन । उनको राजनीतिक जीवनको केही घटनाले यस्तै देखाउँछ ।
ती वामदेव...
एमालेको संगठन निर्माणमा वामदेवले महत्त्वपूर्ण भूमिका खेले । आँटिला र जोसिला स्वभावका उनले संगठन निर्माणमा खेलेको भूमिकाको नेताहरूले प्रंशसा गरिरहेका हुन्छन् । वामदेवका विषयमा एमालेवृत्तमा एउटा भनाइ चर्चित छ ।
जननेता मदन भण्डारी महासचिव हुँदा भनेका थिए– वामदेव नभए पार्टी लुलो हुन्छ । वामदेव प्रमुख भए पार्टी धुलो हुन्छ ।
वामदेवले ०२४ सालदेखि भूमिगत जीवन बिताए । उनी गोविन्द ज्ञवालीको माध्यमबाट पुष्पलाल समूहमा क्रियाशील भएका थिए । त्यसपछि जीवराज आश्रित, मोदनाथ प्रश्रीत, मदन भण्डारीलगायत नेताले मुक्ति मोर्चा बनाए । उनीहरूसँगै रहेका वामदेव तत्कालीन को–अर्डिनेसन केन्द्र (माले)सँग मिसिए ।
०३९ सालमा पार्टीभित्रको विवादमा आश्रित, भण्डारी, झलनाथ खनाल सँगै रहे । सीपी मैनाली अल्पमतमा परे । मैनाली महासचिवबाट हटाइए ।
०५१ मा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बने । एमालेले सरकारको नेतृत्व गर्दा वामदेवले पार्टी सञ्चालनको जिम्मा पाए । उपमहासचिवसहित उनले जिम्मेवारी सम्हाले । उनले पार्टी संगठित गर्न उचित भूमिका खेलेको वामदेवलाई लामो समय साथ दिएका बलराम बाँस्कोटा बताउँछन् । बाँस्कोटा हाल नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य छन् ।
“एमाले सरकारमा जाँदा धेरैको सरकारमा जाने चाहना भयो । उहाँ (वामदेव)ले पार्टी सञ्चालनको जिम्मा लिनुभयो,” उनी भन्छन्, “‘आफ्नो गाउँ आफैँ बनाऔँ’लगायत अभियान भनेर एमालेलाई अघि बढाउने कुरामा राम्रै भूमिका रह्यो ।”
पार्टी फुटाए, सिट शून्य
एमालेमा महाकाली सन्धिले विद्रोह भयो । वामदेव महाकाली सन्धिको विरुद्धमा उभिए । महाकाली सन्धि ‘राष्ट्रघाती’ रहेको भन्दै उनले ०५४ सालमा एमाले विभाजन गरे । नेकपा (माले) बनाए । एमाले केन्द्रीय कमिटीका १४ जनाले उनलाई साथ दिएका थिए । स्थानीय तह र संसद्मा वामदेव र उनीइतर एमाले आधा–आधाजस्तै स्थिति थियो ।
उनी उत्साहित थिए । तर, ०५६ सालको संसदीय निर्वाचनमा उनको पार्टी सिटविहीन बन्यो । एउटै चुनावको परिणामले वामदेवलाई अत्यायो । ०५८ मा माले एमालेमै मिसियो । एमालेमा फर्किएपछि उनले किसान महासंघमा रहेर काम गरे । ०५३, ०६५ र ०७० मा तीनपटक उपप्रधानसहित गृहमन्त्री बने ।
०४८ र ०५१ मा वामदेवले बर्दिया–१ बाट चुनाव जितेका थिए । ०५६ मा हारे । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया र प्युठानबाट निर्वाचित भए । पार्टीमा उनी जसको पक्षमा रहन्थे, उतै पल्लाभारी हुने अवस्था थियो । एमालेमा ओलीलाई दलको नेता र अध्यक्ष बनाउन वामदेवकै अहं भूमिका छ ।
वामदेवको साथ पाएर ओलीले ०७० मा तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा पराजित गरेका थिए । र, पार्टीको नवौँ महाधिवेशनमा माधव नेपाललाई हराउँदै ओली अध्यक्ष बने ।
गठबन्धन गर्न भूमिका खेले, चुनाव हारे
०७४ सालको आमनिर्वाचनअघि एमाले र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन गरियो । गठबन्धन निर्माणमा वामदेवले पनि भूमिका खेलेका थिए । चुनावमा प्युठानबाट उमेदवार बनेका वामदेव पराजित भए । एमाले पहिलो पार्टी बन्यो । माओवादीसँग पार्टी एकता भएपछि झन्डै दुईतिहाइ बहुमतनजिक पुग्यो ।
गठबन्धन निमार्णमा भूमिका खेलेका वामदेव पराजित भएपछि निराश बने । आफूले चुनाव हार्नुको समीक्षा हुनुपर्ने माग नेकपाभित्र गरिरहे ।
उपनिर्वाचनबाट संसद् छिर्ने चाहना अधुरै
०७४ को निर्वाचनमा पराजित भए पनि प्रधानमन्त्री बन्ने वामदेवको चाहना कायमै थियो । चुनाव जितेका नेताहरूलाई फिर्ता बोलाएर उनले उपनिर्वाचनमार्फत संसद् छिर्ने प्रयास नगरेका होइनन् । त्यति बेला काठमाडौं–७ बाट निर्वाचित रामवीर मानन्धरले त वामदेवलाई संसद् छिराउन आफूले पदबाट राजीनामा दिने उद्घोष समेत गरेका थिए ।
डोल्पालगायत क्षेत्रका सांसदलाई फकाएर उपनिर्वाचन लड्ने प्रयत्न पनि उनले गरे । त्यो चाहना अधुरै रह्यो । नेकपाभित्र चरम विवादबीच उनी राष्ट्रियसभा सदस्यमा मनोनीत भए । ०७७ असोज १ गते वामदेव राष्ट्रियसभा सदस्य बनेका थिए ।
प्रधानमन्त्री बनाउने प्रस्तावले फुरुङ्ङ
तत्कालीन नेकपाभित्रको विवादका बेला नौ सदस्यीय सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री बन्ने हुटहुटीमा रहेका उनी त्यो प्रस्तावले फुरुङ्ङ बने ।
आफूविरुद्धको बहुमत सदस्यलाई फुटाउन र संकट टार्नका लागि ओलीले त्यस्तो प्रस्ताव गरेका थिए । संविधान संशोधन वा उपनिर्वाचनमार्फत जिताएर वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरिएको थियो ।
राष्ट्रियसभा सदस्य मनोनीतपछि पनि वामदेवले आफू प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन हुनुपर्ने माग पार्टीभित्र गरिरहे । ०७६ फागुनमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न नेकपाभित्र कार्यदल नै बनाइएको थियो । माधव नेपालको संयोजकत्वमा गठित कार्यदलमा सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य थिए ।
पार्टीभित्र र बाहिर आलोचना भएपछि कार्यदल भंग गरियो । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने वामदेवको प्रस्ताव गर्भमै तुहियो ।
पार्टी एकताको कडी बन्ने महत्त्वकांक्षा, पाएन सार्थकता
नेकपामा वामदेव कहिले ओलीको पक्षमा उभिए त कहिले प्रचण्ड–नेपाल पक्षमा । राष्ट्रियसभा सदस्य बनाइने बेलामा उनी प्रचण्ड–नेपाल पक्षमा थिए । ओली अल्पमतमा परेका थिए । पार्टी विवादका बेला उनले ओलीलाई सहयोग पुग्ने गरी प्रस्ताव पनि राखेका थिए ।
ओलीले ०७७ पुस ५ गते संसद् विघटन गरेपछि वामदेवले ती दुवै समूहलाई साथ दिएनन् । उनी पार्टी एकताको पक्षमा उभिए ।
०७७ पुस २५ गते उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । विभाजित पक्षलाई मिलाएर एकताको कडी बन्ने प्रयास गरेका थिए । उनले नेताहरूलाई भेटेर मिल्न आग्रह गरे । तर, सर्वोच्च अदालतको फैसलापछि एमाले, माओवादी पूवर्वत् अवस्थामा फर्किए । एमाले पनि विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन गरियो ।
वामेदव एमाले उपाध्यक्ष थिए । एमाले विभाजनपछि ०७८ भदौ १८ गते उनी पार्टीबाट बाहिरिए ।
एकता अभियानलाई उनले पार्टीको रूप दिए । एमाले, माओवादी र एकीकृत समाजवादीलाई जोड्ने कडीका रूपमा आफूलाई उभ्याए । एकताका लागि प्रस्ताव पनि लगे । तर, पहिले आफूसँगै रहेका नेताहरूको समेत साथ पाएनन् । नयाँ पार्टी बनाएको केही दिनमै उनलाई युवराज सफललगायत नेताले पार्टीबाट निकालेको चर्चा चल्यो ।
कम्युनिस्ट पार्टीहरू एक हुन नसके पनि चुनावी गठबन्धन बनाउनुपर्ने मान्यताका साथ उनी अघि बढे । वामदेव त्यसमा पनि सफल हुन सकेनन् । ०७९ को चुनावमा माओवादी केन्द्रबाट संयुक्त चुनाव चिह्न लिएर उमेदवार बन्न खोजेका थिए । तर, तत्कालीन सातदलीय गठबन्धनले उनलाई साथ दिएन ।
त्यसपछि उनी एमाले वा एकीकृत समाजवादी पार्टीमा जाने चाहनामा छन् । तर, ७५ वर्षीय वामदेवलाई पार्टीमा सम्मानजनक अवस्थामा भित्र्याउन कोही इच्छुक देखिएको छैन ।
“पार्टीमा उहाँलाई ल्याउनुपर्छ भनेर छुट्टै बहस भएको छैन,” एकीकृत समाजवादीका एक नेताले भने ।
एमाले वा एकीकृत समाजवादीमा जान केले रोक्यो ?
गएको शनिबार रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रममा वामदेवले एकीकृत समाजवादीले आफूलाई बेवास्ता गरेको आरोप लगाए ।
“एकीकृत समाजवादीले जबसम्म हाम्रो अभियानमा छलफल गरेर टुंगो लगाइसकेका थिएनौँ, त्यति बेलासम्म वामदेव आइजो, आइजो भनेर भनिरहनुभयो उहाँहरूले । मसित साथीहरू हुनुहुन्छ, तपाईंहरूको पार्टीको जत्तिकै शक्तिशाली त नहोला, तर पनि पार्टीको नाम छ नि त भनेर निर्णय गरेर जाँदा उहाँहरूले कुनै पनि जवाफ दिनु भएन,” उनले भनेका थिए ।
एमालेले पनि पहिले आफूसँग रहेका नेताहरूलाई लैजाने प्रयास गरेको उनले गुनासो गरे । आफैँ नगई आउन नसक्ने नेताहरूको जवाफपछि मात्र ओलीले वार्ताका लागि बोलाएको उनले सुनाए ।
“नेकपा (एमाले)सँग प्रयत्न गरेँ । हाम्रो निर्णय भयो । र, त्यो निर्णय उहाँहरूलाई सुनाइयो । तर, उहाँहरूले अरूअरूलाई बोलाउनुभयो । वामदेव किन आउनुपर्यो ? तपार्ईं आइहाल्नु भनेर हाम्रा पार्टीका साथीहरूलाई उहाँहरूले बोलाउनुभयो,” उनले भने, “वामदेव नआईकन त हामी आउँदैनौँ भनेर वार्तामा गएकाहरू आउनुभयो । अन्तिममा अध्यक्ष केपी ओलीले मलाई बोलाउनुभयो र म गएँ ।”
त्यति बेला ओलीले आफ्नो जिम्मेवारीका विषयमा केही जवाफ नदिएको उनले बताए । तत्कालीन नेकपामा साथ नदिएको भन्दै ओलीले गुनासो पोखेको वामदेवको भनाइ थियो ।
“मलाई एकीकृत गर्ने कामको व्यवस्थापन गर्ने सन्दर्भमा केही पनि विषय बोल्नु भएन । तपाईंले पार्टी फुटाउनुभयो, तपाईंले प्रचण्डलाई साथ नदिएर मलाई दिएको भए पार्टी फुट्ने थिएन, तपाईंले प्रचण्डलाई साथ दिनुभयो, मलाई आरोप लगाउनुभयो, यो आरोपहरू लागु हुन्थे भने मैले जेलजीवन बिताउनुपर्थ्यो, एमाले समाप्त गरेर माओवादी बलियो बनाउनु लाग्नुभयो भनिसकेपछि म त्यहाँ बसेर मेरो पार्टी पनि त्यहाँ रहन सक्ने स्थिति मैले देखिनँ,” वामदेवले उक्त कार्यक्रममा भने ।
जीवनको उत्तरार्धमा वामदेव अलमलमा देखिन्छन् । अस्थिरता नै उनको ठूलो समस्या रहेको वामदेवसँग लामो समय सहकार्य गरेका केशवलाल श्रेष्ठ बताउँछन् । श्रेष्ठ हाल एकीकृत समाजवादीका उपाध्यक्ष छन् । “उहाँको सबै कुरा राम्रो भए पनि दुर्गुण भनेको अस्थिरता हो । क्रान्तिकारी जोस, जाँगर उत्साह, क्रियाशीलता छ । तर, उहाँको राजनीतिक अस्थिर मनस्थितिका कारण समस्या पैदा भएको छ,” श्रेष्ठको टिप्पणी छ ।
वामदेवमा विचारमा टिक्ने र सिलसिलाबद्ध रूपमा अघि बढ्ने विषयमा पनि समस्या रहेको उनी बताउँछन् । छिट्टै हौसिने र गल्ने स्वभाव वामदेवको रहेको श्रेष्ठको बुझाइ छ ।
“उहाँसँग पार्टी विभाजनदेखि लामो समय एउटै कमिटीमा रहेँ । उहाँमा छिट्टै हौसिने र छिट्टै सेलाउने स्वभाव छ,” उनी भन्छन् ।
वामदेव चिन्तक र अध्ययनशील व्यक्ति रहेको उनको भनाइ छ । “क्रियाशीलता, लेखनशीलता, अध्ययनशीलता राम्रो पक्ष हो । चिन्तन, विचार गर्ने, नयाँ कुरा फुराउने उहाँको राम्रो पक्ष हो,” श्रेष्ठ वामदेवको सकारात्मक पाटो केलाउँछन् ।