site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए कांग्रेसको औचित्य सकिन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति नलिए कांग्रेस समाप्त हुने चेतावनी दिएका छन् । केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारणका कारण खुलेर छलफल हुन नसकेको भन्दै असन्तुष्टि जनाएका कोइरालाले कांग्रेसको केन्द्रीय समिति बैठकबाट हुने निर्णयमा त्यसको संकेत देखिनुपर्ने बताए ।

बीपी कोइराला स्मृति दिवसको सन्दर्भमा मंगलबार आयोजित कार्यक्रममा कोइरालाले जनतासँग नजोडिने पार्टीको भविष्य पनि सुरक्षित नरहेको बताए ।

“भोलिको निर्णय पछिको कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा अघि बढ्नुपर्छ,” कोइरालाले भने, “त्यसो गर्न सकेनौँ भने कांग्रेसको औचित्य समाप्त हुन्छ ।”

उनले कांग्रेस विधिमा चले मात्रै पनि धेरै चुनौती पार हुने बताए । “कांग्रेसको चुनौती विधिसम्मत चल्न नसक्नु मात्र हो । विधि अनुसार मात्र चल्ने हो र गर्नुपर्ने काम गर्‍यो भने कांग्रेसको चुनौती पार गर्न सक्ने अवस्था म देख्छु,” कोइरालाले भने, “तरुण दल बनाएका छौँ, विधानभन्दा बाहिर गएर । अनुशासन समितिदेखि अन्य समिति बनाउन र पूर्णता दिन सकेका छैनौँ । यी कुराहरूलाई भोलिको निर्णय आउने छ । त्यो निर्णयपछि हामीहरू नेपाली कांग्रेसलाई विधिसम्मत, विधानसम्मत चलाउँछौँ भन्ने विश्वास दिलाउन चाहन्छु ।”

उनले कांग्रेसलाई विधिसम्मत हिँडाउन र चुनौती पार गर्न सक्ने बनाउन निर्वाचन प्रणालीको आडमा रोकिएको पनि नेतृत्वलाई आरोप लगाए । उनले आफूसहितका नेताहरूले केन्द्रीय समितिमा चुनावमा एक्लौ जाऔँ भन्ने प्रस्ताव नमान्दा कार्यकर्तामा चरम निराशा आएको पनि बताए ।

“नेपाली कांग्रेसलाई विधिसम्मत हिँडाउन सक्यौँ र सबैलाई न्याय दिन सक्यौँ भने धेरै समस्या समाधान हुन्छन् । तपाईंहरूलाई एकदमै संकटमा पर्‍यो कांग्रेस भन्ने लागेको छ । यसका केही कारणहरू छन्,” कोइरालाले भने, “निर्वाचनमा हामीले गठबन्धन गर्‍यौँ । मलगायत हाम्रो साथीहरूले एक्लै चुनाव लडौँ भनेर मिडियामा र केन्द्रीय कार्यसमितिमा राखेकै हौँ । त्यो हुन सकेन ।”

उनले त्यही कारण सबै ठाउँमा उमेदवारी दिन नसकिएको र जित्नेहरूले टिकट नै नपाएको तथा कांग्रेसलाई भोट हाल्नेहरू पनि निराश भएको बताए । 

“हामीहरूको निर्वाचन प्रणाली नै यसरी बनाएको छ कि बहुमत आउने सम्भावना नै छैन । केही साथीहरूले भन्नुहुन्छ कि समानुपातिक समावेशी सिस्टम राखेका छौँ, त्यसलाई चलाउन भएन । अहिलेको संविधानको मूल उपलब्धि नै यही हो,” कोइरालाले भन, “म पनि मान्छु कि समानुपातिक, समावेशी यो संविधानको उपलब्धि हो । तर, के प्रत्यक्ष निर्वाचनबाट समानुपातिक समावेशी गर्न सकिँदैन र ? सकिन्छ नि !”

उनले यो इच्छाशक्ति नेपाली कांग्रेसले देखाउन सके अरू दललाई पनि विश्वासमा लिएर कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरे । 

“अहिलेको निर्वाचन प्रणाली कायम रहँदासम्म गठबन्धन गर्नैपर्छ । एकल बहुमतको सम्भावना नभएकाले गठबन्धन गर्नुपर्ने हुन सक्छ,” कोइरालाले भने, “तर, प्रिइलेक्सन एलाइन्स हुँदैन । पोस्छ इलेक्सन एलाइन्स आवश्यकता अनुसार गर्नुपर्ने हुन सक्छ ।”

कांग्रेसको सात प्रतिशत जनमत घट्नुमा पनि गठबन्धन नै कारण रहेको उनले बताए । उनले उमेदवार नै नदिए पछि जनताले समानुपातिकमा चिह्न खोजी खोजी भोट हाल्ने अवस्था नहुने निर्वाचन अनुभवले देखाएको बताए । 

“हाम्रो सात प्रतिशत समानुपातिक मत घटेको छ । यसको कारण हामीले थुप्रै ठाउँमा गठबन्धन गर्दा उम्मेदवार नै दिन सकेनौँ,” कोइरालाले टिकट नपाएकाहरूलाई सम्बोधन गर्दै भने, “म चुनावमा टिकट नपाएर चुनाव लड्ने अधिकारबाटै वञ्चित हुनुभएकोमा संसदीय बोडैको सदस्यको हैसियतले तपाईंहरूसँग माफी माग्न चाहन्छु ।”

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्