गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए ।
“ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ,” उनले भने । तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो ।
त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनसुन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले उल्लेख गरे । “जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु । दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन,” उनले भने ।
भ्रष्टाचारविरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताए । आम जनताको जीवनस्तरमा परिवर्तन हुने गरी सम्बृद्धिको आधार तयार पार्न सरकार प्रतिवद्ध भएर लागेको उनले उल्लेख गरे ।
पछिल्लो समय सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको गृहमन्त्री श्रेष्ठले बताए । विकास र समृृद्धिका सवालमासमेत सरकारले समीक्षा गरिरहेको उनले बताए ।
“अर्थतन्त्रका सवालमा केही समस्या थिए, त्यसलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि लयमा ल्याउने काम भइरहेको छ,” उनले भने । अर्थतन्त्रको गतिलाई तीव्र बनाएर विकासमा फड्को मार्नुपर्ने अहिलको आवश्यकता रहेको मन्त्री श्रेष्ठले बताए । रासस