site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेसहरूको कोलाहल

सुन तस्करीको चर्चा सेलाउन थालेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ‘लाइभ’ त भयो तर ‘लाइभली’ भएन । जनताका समस्यामा खासै चर्चा नभएकाले जनताले पनि चासो लिएनन् । यसबीच अरू दलका पनि बैठक बसे । चर्चा योग्य केही सुनिएन । बाढीलाई पनि थकाइ लागेछ क्यारे गत साता वितण्डा मच्चाएन । 

नाच्न नजान्ने आँगन टेडो

कांग्रेसको केन्द्रीय समितिको बैठक चल्दैछ । गुटगत घोचपेच र चाकरीचुक्लीबाहेक सदस्यहरूले अहिलेको निर्वाचन शैली, समानुपातिक प्रतिनिधित्व र संघीयताका विषय उठाएका छन् । अहिले चुनाव महँगो भएको, समानुपातिक प्रतिनिधित्व विशेषगरी प्रतिनिधि सभामा समानुपातिक तर्फका सदस्यको व्यवस्थाले सरकार स्थिर नहुने र संघीयतामा खर्च धेरै भएकोमा उनीहरूले चिन्ता प्रकट गरेका छन् ।

Dabur Nepal
NIC Asia

झट्ट सुन्दा कुरा सही नै जस्तो पनि लाग्छ । तर, यो आफ्नो ‘आङको भैँसी नदेख्ने अरूको आङको जुम्रा देख्ने’ भनेजस्तै हो । आफू र आफ्ना नेता कार्यकर्ताको आचरणका कारण उत्पन्न विकृतिको दोष व्यवस्थामाथि थोपर्नु पक्कै पनि न्यायोचित होइन । आआफ्नो आचरणको समीक्षा कहिले गर्ने ? 

जुन दिन चुनाव जसरी पनि जित्नेभन्दा कसरी जित्नेमा बढी ध्यान दिनेछन् सबै समस्या समाधान हुन्छ ।

समस्या एकातिर छ र समाधान अरूतिर खोजेर त भेटिन्न नि । संघीयता वा समानुपातिक प्रतिनिधित्व उत्तम लोकतान्त्रिक अभ्यास हुन् । नेपालमा विकृत देखिएको त तिनको अभ्यास गर्नेहरू बेइमान र बदमास भएर पो हो । नाच्न नजान्ने आँगन टेडो ! पोखरा महानगरपालिकाका पदाधिकारी कर्मचारीले वर्षको अढाइ करोडको खाजा खाए रे ! अब पालिकाहरू पनि खारेज गर्ने ? कि खाजाको नाममा हुने भ्रस्टाचार रोक्ने हो ?


कम्युनिस्ट र कांग्रेसहरूको संस्कारमै भिन्नता थियो । अहिले बोलीदेखि व्यवहारसम्म एकै भएको छ । कार्यकर्ता पाल्न पार्टीले चन्दा उठाउँदा जबर्जस्ती गर्न पनि कम्युनिस्टहरू तयार हुन्थे । यस्तै ‘होलटाइमर’ कार्यकर्ता बनाउने कम्युनिस्टको सिको नेताले आसेपासे पाल्ने चलनका रूपमा कांग्रेसले पनि भित्र्यायो । अनि तिनैलाई पाल्न पैसा पनि कमाउन पर्ने भयो । जनाधारित (मासबेस्ड) पार्टीको चरित्रअनुसार न नेतृत्व छानियो न उमेदवार नै । अनि चुनावमा ज्याला नदिई कार्यकर्ता किन डेग चल्छन् त? स्थानीय तहको उमेदवार हुँदा पैसा बुझाउने कार्यकर्ताले संसद्को उमेदवारसँग साउँब्याज असुल गर्ने नै भयो नि !


पार्टीका प्रमुख नेतालाई ‘पाटनका प्रधान’ बनाउने कानुनी र वझधानिक प्रावधान र अभ्यास बन्द गरे धेरै समस्या आफै समाधान हुनेछन् । नेताकी पत्नी, प्रेमिका, चाकरीदार र खरिददारलाई दलका तर्फबाट सांसद नबनाए पद्धति विकृत पक्कै हुँदैन ।


विभिन्नतहका निर्वाचित पदाधिकारीमध्ये प्रत्यक्ष कार्यकारीबाहेक अरूलाई तलब नदेऊ । तलब लिनेले भत्ता नलिऊन् । बिलासी शैली रोकुन् । संघीयता लाभलागतकै दृष्टिबाट पनि लाभदायक हुनेछ ।   विद्यासुन्दरले अढाइ करोडको मोटरको साटो ३० लाखको चडेको भए काठमाडौं महानगरको कुन काम गर्न रोकिन्थ्यो ? कमिसन र विलासका लागि जे पनि गर्ने कार्यकर्तालाई रोक्नुको साटो प्रदेशै खारेज गर्ने जुक्ती राणाहरूले नै सिकाएर गएका होलान् कि ?

टेलिग्राफको कार्टुन

भारतबाट प्रकाशित हुने अंग्रेजी पत्रिका द टेलिग्राफमा २१ जुलाईमा छापिएको एउटा कार्टुनले भने हल्लाखल्ला मच्चाएको छ । गोहीको आँसु झर्न  ७९ दिन लागेको  देखिने एउटा व्यङ्ग्य चित्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको ‘५६ इन्च की छाती’वाला आत्मश्लाघाप्रति कटाक्ष गरिएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा भएको एउटा अत्यन्त अमानवीय घटनामा मोदीले ७९ दिनपछि टिप्पणी गरेका थिए ।

मणिपुरमा गत मे ३ मा भएको दंगामा कुकी जातिका दुई महिलालाई नाङ्गै बनाएर सहर घुमाएको घटनामा मोदीले ७८ दिनपछि संसद्मा प्रतिक्रिया दिए । भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि  घटनाप्रति विश्वकै ध्यान गएको थियो । जताततैबाट भारत सरकारको उदासीनताको आलोचना हुन थालेपछि मात्र मोदीले मुख खोलेका थिए । 

20230721_1346401690089909.jpg

मणिपुरका कुकी जातिका अल्पसङ्ख्यकमाथि बहुसङ्ख्यक मेइती वा मितेई भनिने समुदायले गरेको आक्रमणका क्रममा ती महिलाको सामूहिक बलात्कार पनि गरिएको थियो । तर, मणिपुरको ५३ प्रतिशत जनसङ्ख्या मितेई भएको र तिनीहरूमध्ये अधिकांश हिन्दु पनि भएकाले हुनुपर्छ न राज्य सरकारले न भारत सरकारले नै घटना हुन रोक्ने वा अपराध भए पछि कारबाही गर्ने अग्रसरता देखाए ।

सम्भवतः गुजरात दङ्गाबाट उदाएका नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीका लागि अल्पसङ्ख्यक गैरहिन्दु जातिका महिलामाथि भएको अत्याचारले छुँदै छोएन । भारतको सर्वोच्च अदालतले आफ्नै तर्फबाट अग्रसरता देखाएर सरकारले  तत्काल कारबाही  नगरे अदालतले हस्तक्षेप गर्ने चेतावनी दिएपछि बल्ल मोदी र उनको संयन्त्रले चासो देखायो ।

घटनामा अमेरिका र युरोपियन युनियनले पनि चिन्ता प्रकट गरेका छन् । अमेरिकाले ‘मानवीय’ चिन्ता प्रकट गरेको छ भने युरोपियन युनियनले ‘धर्म’को लेप लगाएको छ ।

मोदीको भारतदेखि युरोपियन युनियनसम्मले मानवीय दृष्टिले मात्र हेर्न किन नसकेका होलान् ? ती महिलाहरू अर्कै धर्मका भए त्यो नृशंस अमानवीय अपराध सही हुन्थ्यो र ?  कम्तीमा यस्ता मानवीय दुःखान्तलाई त राजनीतिक रणनीतिको चस्माले हेर्न छाडे हुने नि !

र अन्त्यमा 

तब न महाचीन !

चीनका विदेशमन्त्री चिन ग्याङ सार्वजनिकरूपमा नदेखिएको महिना दिन पुग्न लाग्यो । संसारका अरू मुलुकमा भए कत्रो हल्ला मच्चिने थियो होला ? तर, बेइजिङ चुपचाप पो छ । राष्ट्रपति सी जिनपिङका निकट विश्वासपात्र मानिने चिन गत जुन २५ देखि सार्वजनिक भएका छैनन् । हल्ला चाहिँ उनी अमेरिकाका लागि चीनको राजदूत हुँदा एकजना पत्रकारसँगको अन्तरङ्ग सम्बन्धको पोल खुलेपछि हराएको भन्ने चलेको छ । 

चीनको सरकारले भने आधिकारिकरूपमा केही जानकारी दिएको छैन । चिनियाँ पत्रपत्रिकामा पनि पक्कै केही लेखिएको छैन होला । कस्तो रहस्यमय साम्राज्य । तब न चीन !  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro