site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देउवाको बचाउमा 'मनोनीत' सदस्य, महामन्त्रीद्वयलाई प्रश्नैप्रश्न

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक पार्टी सभापति शेरबहादुर देउवा अनुकूल रह्यो । आज बोल्ने धेरैजसो केन्द्रीय सदस्यले देउवाविरुद्ध निरन्तर अभिव्यक्ति दिँदैआएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको कार्यशैलीमाथि नै प्रश्न उठाए ।

बैठकमा विशेष गरेर मनोनीत केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वयविरुद्ध प्रश्न मात्र उठाएनन् विकल्प नै खोज्ने चेतावनी दिए ।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिएकी थिइन् । देउवाबाट मनोनीत भएपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएकी खतिवडाले बुधबार महामन्त्रीलाई दायरा फराकिलो बनाउन सुझाव दिइन् ।

Dabur Nepal
NIC Asia

“महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,” खतिवडाले भनिन्, “सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस् ।”

महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने खतिवडाको चेतावनी थियो ।

महामन्त्रीको कार्यशैलीविरुद्ध असन्तुष्टि जनाउने अधिकांश संस्थापन निकट केन्द्रीय सदस्यहरू थिए । दुवैजना महामन्त्रीले भित्र एउटा निर्णय गर्ने र बाहिर सार्वजनिक खपतका लागि अरू नै बोल्ने गरेको तर्क उनीहरूको थियो । 

करिब आठ घण्टा चलेको केन्द्रीय समिति बैठकमा बोलेका देउवा निकट नेता तथा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले महामन्त्रीको अनुशासनमाथि प्रश्न उठाए । सिधै नाम नलिए पनि बलायरले ‘केन्द्रीय कार्यमितिमा बस्ने व्यक्तिहरूमा अनुशासन लागु हुन्छ कि हुँदैन ?’ भनेर प्रश्न गरेका थिए ।

“केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन ? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसहरूको विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दैगर्दा के राम्रो गरेको छ ? त्यसैले यहाँ लगाममा धेरै छैन,” बलायरको प्रश्न थियो, “तथानाम छ जे पायो त्यही गरिएको छ । अनुशासनविहीनताले कांग्रेसलाई अघि बढाउने अवस्थामा हामी छैनौँ ।”

अर्का केन्द्रीय सदस्य गुरु बरालले पनि महामन्त्रीले पद बाँड्दै हिँडेको भन्दै आपत्ति जनाए । सुर्खेत पुगेर महामन्त्रीले राष्ट्रपति पद बाड्ने, प्रधानमन्त्री बाँड्दिने, कार्यबाहक सभापति बाँड्दिने अभिव्यक्ति दिँदा महामन्त्रीको ओज घटेको उनको भनाइ थियो ।

“महामन्त्रीजी यहाँ हुनुहुन्छ । मैले एफएममा सुनेँ सुर्खेतमा महामन्त्रीजीले राष्ट्रपति बाँड्दिनुभो । प्रधानमन्त्री बाँड्दिनुभो । कांग्रेसको कार्यबाहक सभापति बाँड्दिनुभयो । कांग्रेसको ओजिलो महामन्त्रीले पद बाँड्दिनुभयो, काठमाडौं आउँदा केही पनि भएन,” बरालले भने, “उपसभापतिजीले रेशम चौधरीका बारेमा ट्विट गर्नुभो । ट्विट गर्दा उपसभापति र सांसद हुनुहुन्थ्यो । निर्णय गर्ने ठाउँमा मन्त्री हुनुभयो । तपाईंहरूले जिम्मेवार बोध गरेर गतिविधि गर्नुस् ।”

बैठकमा बोलेका केन्द्रीय सदस्यले सावर्जनिक खपतका लागि दिइएको अभिव्यक्तिले जनमानसमा नकारात्मक सन्देश गएको बताएका थिए । आन्तरिक र वैचारिक असमझदारी भए पार्टीभित्रै बसेर मिलाउन अनुरोध गरेका उनीहरूले पार्टी बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए ।

पार्टी संसदीय दलको सचेतकसमेत रहेकी केन्द्रीय सदस्य सुशिला थिङ्ले महामन्त्रीले लोकतान्त्रिक प्रक्रिया नमानेको भन्दै आपत्ति जनाइन् । नामै किटान गरेर नबोले पनि थिङ्ले सभापति देउवालाई गाली गर्दैमा पार्टी बलियो नहुने भन्दै लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्न सक्नुपर्ने बताइन् । 

“पार्टी सभापतिलाई गाली गर्दैमा पार्टी बलियो हुँदैन । लोकतान्त्रिक प्रक्रियाबाट आएको सिस्टमलाई स्वीकार गर्नुको विकल्प छैन,” उनले भनिन् । 

केही समयअघि महामन्त्री थापाले संख्या पुर्‍याएर संसदीय दलको नेता फेर्न चाहेको बताएका थिए । बूढानीलकण्ठमा भएको एक कार्यक्रममा उनले त्यसको प्रयासमा आफू रहेको अभिव्यक्ति दिएका थिए । त्यसपश्चात् पनि थापाले विभिन्न कार्यक्रममा दलको नेता फेर्न खोजेको बताउने गरेका छन् । त्यसप्रति कटाक्ष गर्दै थिङ्ले यस्तो 'बजार हल्ला' अलोकतान्त्रिक भएको बताइन् ।

“लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टी संसदीय दलको नेता पनि बहुमत पुर्‍याएर फेर्न सकिन्छ भन्ने जुन बजार हल्ला मैले सुनेको छु यो अलोकितान्त्रिक पद्धति भयो । यसको म्यासेज जनतामा जानु हुँदैन, गलत भएको छ,” उनले भनिन् ।

बुधबारको बैठकमा ४६ जना केन्द्रीय सदस्य धारणा रोखका छन् । यीमध्ये अधिंकाश केन्द्रीय सदस्यले पार्टी चलाउने जिम्मेवारी सभापति देउवामात्र नरहेको भन्दै बचाउ गरेका थिए ।

केन्द्रीय सदस्य नागिना यादवले पार्टीमा अनुशासन नभएको भन्दै मिडियाबाजी गरेर राम्रो म्यासेज नगएको उल्लेख गरिन् ।

बैठकमा बोलेका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टी सभापतिलाई असफल बनाउने काम नगर्न अनुरोध गर्दै सभापति असफल भए सबै असफल हुने भएकाले यसमा जिम्मेवार बन्न आग्रह गरे ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले पार्टी विधान अनुसार चल्नुपर्ने र संगठन बलियो बनाउन पदाधिकारीहरूको एकै आवाज आउनुपर्नेमा जोड दिए । 

केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीमा नेताहरूले दोष जति सबै सभापतिलाई मात्रै थोपरेर टार्ने काम भइरहेको भन्दै आपत्ति जनाए । कार्यसम्पादन र पदाधिकारीको बैठक गरेर निर्णय गर्ने, धेरै कार्यहरू अधुरा राख्ने, संगठनका सबै काम चुस्त नराख्ने तर दोष जति सभापतिलाई मात्रै दिएर मुक्त हुने प्रवृत्तिले पार्टी नबन्ने उनको भनाइ थियो । उनले आ–आफ्नो काम कर्तव्यप्रति सबैले हेक्का राख्न अनुरोध गरे । 

“पार्टीले गठन गर्ने निर्णय लिन्छ, दोषी सभापति । गठन भत्किन्छ, दोषी सभापति । दोष जति सबै सभापतिको टाउकोमा थोपरेर बाँकी सबै निर्दोष भन्ने हुँदैन कि ?,” उनले भने ।

देशको मुहार फेर्ने योजना दिन महामन्त्रीसँग माग

साँझ ७ बज्न लाग्दा सम्पन्न भएको केन्द्रीय समिति बैठकमा बोलेका केन्द्रीय सदस्यहरूले महामन्त्रीलाई 'देशको मुहार फेर्ने कार्यक्रम खोइ' भन्दै प्रश्न उठाए । केन्द्रीय सदस्य सीतादेवी देवकोटाले महामन्त्री लक्षित प्रश्न गर्दै बर्सेनि लाखौँ युवाहरू विदेसिने क्रम बढिरहेको भन्दै युवालाई देशमै रोक्ने योजना खै भन्दै प्रश्न गरिन् ।

“अहिले बर्सेनि एक लाख विद्यार्थी विदेश गइरहेका छन् । जो बाहिरिँदा हरेक वर्ष ५०औँ अर्ब बाहिर गइरहेको छ । ती युवा विद्यार्थीलाई स्वदेशमै रोकेर यो देशको उन्नतिमा श्रम गराउन कांग्रेससँग योजना हुनुपर्छ,” देवकोटाले भनिन्, “महामन्त्रीज्यूहरूलाई म सोध्न चाहन्छु– हाम्रै विद्यालय, कलेजमा पढाएर यी युवा विद्यार्थीलाई देशमै राख्ने योजना कहाँ छ ?”

उनले महामन्त्रीले ल्याएको क्यालेन्डरले पार्टीको मुहारमात्र फेर्ने भन्दै देशको मुहार फेर्न कांग्रेसको योजना के छ भन्दै प्रश्न गरिन् । 

“महामन्त्रीज्यूले विधानको कार्यान्वयन गर्ने वार्षिक क्यालेन्डर प्रस्तुत गर्नुभयो,” उनले भनिन्, “तर अवस्था यस्तो छ कि हामीले पार्टीकोमात्रै मुहार फेरेर हुनेवाला छैन, देशको मुहार फेर्नु छ, त्यसका लागि पनि कांग्रेसले योजना दिनुपर्छ ।”

केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले पनि महामन्त्रीले गुट भनेर नहुने भन्दै महामन्त्रीबाट धेरै आशा गरेर बसेको बताइन् । 

“हामीले बनाएको महामन्त्ती भलै जुन गुटबाट जिते पनि । तपाईंहरूसँग सिक्ने तमाम छन्, हामी पनि छौँ । तपाईंहरूमा आशा धेरै छ,” उनले बैठकमा भनिन् । 

अर्याल बोलेपछि दोस्रो दिनको बैठक सकिएको छ । एक वर्षपछि बसेको कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबार बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा जारी रहने छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro