काठमाडौं । नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेस भएको छ ।
मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रसताव पेस गरेका हुन् ।
उनले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गरेका छन् । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उनले पार्टी नेता, कार्यकर्ताहरूले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताए । त्यस्तै आइपर्न सक्ने प्राकृतिक विपद्हरूको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने उनको भनाइ छ ।
उनले भने, “असार महिनामा किसानको समय हो । किसानको समस्यामा सहजीकरण गर्ने । समुदायलाई अफ्ठ्यारो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिना मात्रै छुट्टी पाउनुहुन्छ । त्यो भन्दा बाहेकको समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि विभागमा हुनुहुन्छ । काम गरिरहेको अवस्था बन्छ ।”