काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको बुधबार बिहान उपचारका क्रममा मृत्यु भयो । उनी प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट थलिएकी थिइन् । छोरा प्रकाशको मृत्युपछि उनको यो समस्या झनै जटिल बन्दै गएको थियो ।
कस्तो समस्या हो पीएसपी ?
पीएसपी नसासम्बन्धी एक प्रकारको दुर्लभ समस्या हो, जसलाई पर्किन्सन्स् नामक रोगकै एक भेरियन्टको रुपमा लिइन्छ । यो रोगको ठोस कारण हालसम्म पत्ता लाग्न सकेको छैन । नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एन्ड स्ट्रोक (एनआईएच)ले पीएसपीलाई वंशाणुगत समस्याको रुपमा व्याख्या गरेको छ ।
विश्वभर यो रोग बढ्दै गएको र रोग पहिचान भएको तीनदेखि पाँच वर्षमा व्यक्तिमा गम्भीर अपांगता हुने गरेको एनआईएचको तथ्यांक छ । यो रोगमा मस्तिष्कका नशाहरु सुक्दै जाने र मस्तिष्कबाट नै संक्रमण सुरु हुने गर्दछ । जसको असरस्वरुप मानिसको सोच्ने, चल्ने, आँखा देख्ने क्षमता कम हुँदै जान्छ । र, क्रमशः व्यक्ति अचेत अवस्थामा पुग्नसक्छ ।
कस्ता व्यक्तिलाई देखिन सक्छ ?
एनआईएचले ६० वर्षमाथिका व्यक्तिमा पीएसपीको समस्या धेरै देखिने गरेको जनाएको छ । नेपालमा पनि ६० वर्षमाथिका पुरुषहरुमा यो समस्या धेरै देखिने गरेको बताउँछन् कन्सल्टेन्ड न्यूरोसर्जन डा. राजीव झा । प्रतिएक लाखमा तीनदेखि चारजनामा पीएसपी देखिने गरेको उनको भनाइ छ । तर, नेपालमा यसको यकिन तथ्यांक भने छैन ।
लामो समयदेखि पार्किन्सन्स्को समस्या भएका व्यक्तिमा परीक्षण गर्दा यो समस्या देखिइरहेको बताउँछन् नेसनल न्युरो सेन्टरका कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. सुमन भट्टराई ।
डा. भट्टराईका अनुसार पार्किन्सन्स् भएर केही फरक लक्षण देखिएका बिरामीलाई परीक्षण गर्दा धेरैमा पीएसपी देखिने गरेको छ । यसको यकिन तथ्यांक भने छैन । एमआरआईको माध्यमबाट पीएसपी भए नभएको पहिचान गर्न सकिन्छ ।
कस्ता लक्षण देखिए हुनसक्छ पीएसपी ?
पार्किन्सन्स् नै नभए पनि यसकै जटिल अवस्थाको रुपमा पीएसपीलाई लिइएको छ । पार्किन्सन्स् भएका व्यक्तिमा बारम्बार भ¥याङ वा अन्य ठाउँमा लडिरहने, दुवै हात एकैपटक काम्ने, हातखुट्टा काम्ने, शरीर कुप्रो हुने, कडा हुँदै जाने, अंगहरु बङग््याउन नमिल्नेजस्ता समस्या पटकपटक दोहोरिइरहनु पीएसपीका लक्षण हुनसक्छन् ।
डा. भट्टराईका अनुसार यस्ता विशेष लक्षण भएका व्यक्तिको एमआरआई परीक्षण गर्दा मस्तिष्कको डाँठमा नशा सुकेको देखिएमा पीएसपीे पुष्टि हुन्छ । यसरी देखिने सानो आकारको नसालाई चिकित्सकीय भाषामा ‘हमिङ बर्ड साइन’ भनिन्छ । यही सुकाइको असरस्वरुप पीएसपी भएका व्यक्तिको शरीरमा विभिन्न असरहरु थपिँदै जान्छन् ।
दीर्घकालीन उपचार छैन ?
पीएसपी आफैँमा जटिल र मस्तिष्कका नशासम्बन्धी अन्य रोगहरुसँग पनि मिल्दोजुल्दो लक्षण भएको रोग भएकाले पहिचानमा नै समय लाग्ने गरेको देखिएको छ । पहिचानपछि पनि उमेरअनुसार यो समस्या बढ्दै जाने डा. भट्टराई बताउँछन् ।
पहिचानपछि यसलाई केही हदसम्म नियन्त्रण गर्न सकिने भए पनि दीर्घकालीन रुपमा निको भने नहुने उनको भनाइ छ । नेपालमा लक्षण पहिचान गर्न नसकी बिरामी उपचारमा ढिलो आइपुग्ने गरेकाले पनि जटिलता थपिँदै गएको डा. भट्टराईको अनुभव छ ।
डा. राजिव झाकहाँ आइपुग्ने बिरामी भने पीएसपी पहिचान भएको दुईदेखि तीन वर्षमात्रै जीवित रहने गरेको उनको अनुभव छ ।
पार्किन्सन्स र पीएसपी कसरी छुट्याउने ?
सामान्यतया पार्किन्सन्स् भएका व्यक्तिमा शरीर कुप्रो हुने, हातखुट्टा काम्ने, हात खुट्टाहरु बङग््याउन (फोल्ड गर्न) नसक्ने, आँखा राम्रोसँग नदेख्नेजस्ता समस्याहरु देखिन्छन् । तर पीएसपी भएका व्यक्तिमा भने घाँटीको भाग कडा हुन गएर कम निहुरिने लक्षण देखिन्छ । एनआईएचका अनुसार पार्किन्सन्समा कम देखिएको खाना सर्किने, बोली लरबराउने समस्या पीएसपीमा पटकपटक देखिइरहन्छ ।
पीएसपी भएका व्यक्तिहरु प्रायः आँखा तलमाथि मात्रै चलाउने गर्छन्, जुन पार्किन्सन्स्मा कम हुन्छ । पार्किन्सन्स् मात्रै भएका बिरामीमा थेरापीमार्फत उपचार गर्दा केही सुधार देखिन्छ । तर पीएसपी भएकालाई थेरापीले कुनै प्रतिक्रिया नै देखाउँदैन ।
राम्रो हेरचाह आवश्यक
पीएसपी भएका बिरामीलाई विभिन्न तवरले सहज बनाउने उपचार पद्धतिहरु भए पनि यो रोग निको हुन भने सक्दैन । उनीहरुलाई बढीभन्दा बढी स्याहार गर्नु, ह्विलचेयरको सहायतामा राख्नु नै बचाइराख्ने उपाय भएको डा. भट्टराई बताउँछन् । नेपालमा बढीजसो पीएसपीका बिरामी खाना सर्किने र संक्रमणका कारण निमोनियाले नै मृत्यु हुने गरेको उनको अनुभव छ ।