site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जो जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित भइन्
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । धनुषा, विदेह नगरपालिका ५ मुडिवाकी चाँदनी पासवान कक्षा नौमा पढ्दै छिन् । तीनकौरियास्थित जनता नमूना प्राविधिक मावि गिद्धा बेलापट्टीमा उनी अध्ययनरत छिन् । पढेर सरकारी जागिर खाने उनको योजना छ । तर, जन्मदर्ता नहुँदा यही असार १५ गतेदेखि उनी विद्यालय जान सकेकी छैनन् ।

पढ्न जान नपाउँदा उनी निरास छिन् । भविष्य सम्झेर चिन्तित पनि । पढ्न नसके पूर्वजजस्तै कष्टकर जीवन हुने उनको बिलौना छ । “पढेर सरकारी जागिर गर्ने रहर छ । तर, रहर पूरा होलाजस्तो छैन,” उनले भावुक हुँदै भनिन्, “घरको अवस्था पनि दयनीय छ । बुबालाई वास्तै छैन ।”

जन्मदर्ता लिएर मात्रै विद्यालय आउन विद्यालयका प्रधानाध्यापक पवन मण्डलले भनेको उनले मधुरो स्वरमा सुनाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“जन्मदर्ता नभएपछि पढेर के काम ? जन्मदर्ता भएपछि मात्रै विद्यालय आउनु,” उनले प्रधानाध्यापक मण्डलको कुरा उद्धृत गर्दै भनिन्, “जन्मदर्ता बनाउन जाँदा कागजात मिलेन भन्छन् । वडा सचिवले हुँदैन भन्छन् ।”

प्रधानाध्यापक मण्डलले भने शिक्षाबाट वञ्चित नगरिएको बताए । जन्मदर्ता नहुँदा पछि कठिनाइ हुने भएकाले जन्मदर्ता बनाउन सुझाव मात्रै दिएको मण्डल बताउँछन् । अगाडि पढ्नको लागि जन्मदर्ता अनिवार्य रहेको उनको भनाइ छ । तर, अब यसपालि उनको कक्षा नौमा भर्ना हुने सम्भावना निकै कम रहेको उनले बताए ।

Global Ime bank

‘सरकारले अनलाइन इमिस (विद्यार्थीको लिस्टिङ्ग) फर्म माग्छ । त्यसमा जन्मदर्ता अनिवार्य चाहिन्छ,” उनले भने, “यसपालि इमिस नम्बर भर्न १५ गतेसम्म नै शिक्षा विभागले समय दिएको थियो । अहिले बन्द ग¥यो । त्यसकारण यसपालि कक्षा नौमै पढ्न कठिनाइ हुन सक्छ ।”

अर्को वर्ष भर्ना हुने नभए यसपालि कक्षा ११ को भर्नाको समयमा इमिस खुल्दा गर्र्न सकिने उनले बाटो देखाए ।

बसाइँसराइमा समस्या

चाँदनीको बुबा छठु पासवान र आमा पवनदेवी पासवान सर्लाही, लालबन्दीका स्थायीबासी हुन् । लालबन्दीमा जीवन सहज नभएपछि छठु विदेह नगरपालिका ५ मुडिवा ससुराली गाउँमै बस्न थाले । चाँदनीको जन्म मुडिवामै भएको छ । तर, लामो समयदेखि उनको बुबाआमाले बसाइँसराइ गराएनन् ।

चाँदनी अहिले १४ वर्षकी भइन् । जन्मदर्ता नुहँदा शिक्षाबाट वञ्चित हुने भएपछि उनको बुबा छठु गत वैशाख २४ गते बसाइँसराइ गराए । तर निरक्षर छठुले गराएको बसाइँसराइमा श्रीमती पवन पासवान, जेठी चोरी चाँदनी, आँशु, अल्का र छोरा आशिष पासवानको नाम छैन । त्यसकारण चाँदनीसहित उनको बहिनी र भाइको जन्मदर्ता बनिरहेको छैन । चाँदनीको आमा पवनदेवी पासवानसँग विवाह दर्ता भए पनि नागरिकता छैन । बुबा छठु पासवान मजदुरीका लागि अहिले भारत गएका छन् ।

बसाइँसराइमा कर्मचारीको गल्तीले आफूहरुको नाम छुटेको चाँदनीको आमा पवनदेवी पासवान बताउँछिन् । “हामी अनपढ छौँ । कर्मचारी त पढेको छ, सही र सबै कुरा लेखिदिनुपथ्र्यो नि,” उनले भनिन्, “अब यो सच्याउन जाँदा चाँदनीको बुबा यहाँ छैनन् । मलाई टेरेकै छैनन् ।”

वडाध्यक्षलाई बेवारिसे हुने डर

वडाध्यक्ष राधेश्याम गोइतले चाँदनीको जन्मदर्ता बनाउन केही कानुनी जटिलता रहेको बताए । उनका अनुसार बसाइँसराइमा पनि नाम छैन । आमाको नागरिकता छैन । बुबा अहिले नेपालमा छैनन् । त्यसकारण केही कठिनाइ देखिएको उनले बताए । तर, शिक्षाबाट वञ्चित नहोस् भनेर जन्मदर्ता बनाउन तयार रहेको उनले प्रतिबद्धता जनाए । पछि कठिनाइ हुन सक्ने उनको आकलन छ ।

“म नै सूचकमा बसेर शिक्षाको लागि जन्मदर्ता बनाइदिन्छु,” उनले भने, “तर त्यो समयमै सच्याउनु पर्छ । सच्याइएन भने पछि कठिनाइ हुन सक्छ । सधैँ त्यो बच्चा बेवारिसे हुने डर छ ।” जन्मदर्ता नसच्याए नागरिकतामा पनि कठिनाइ हुने उनले बताए ।

विदेह नगरपालिकाका शिक्षा संयोजक सन्तोषकुमार यादवका अनुसार पालिकाभित्रका विद्यालयमा अध्ययन गर्ने दलित समुदायका बालबालिकामा जन्मदर्ताको समस्या देखिएको छ । पालिकामा १३ वटा सामुदायिक विद्यालय रहेको उनले बताए । यी विद्यालयमा करिब १२ हजार विद्यार्थी अध्ययन गर्छन् । जसमध्ये ५० प्रतिशत दलित समुदायकै विद्यार्थी छन् ।

चाँदनीको परिवार प्रतिनिधिमूलक हुन् । यस्ता कयौँ विद्यार्थी जन्मदर्ता अभावमा शिक्षाबाट वञ्चित भएका छन् । यसको लेखाजोखा नगरपालिकासँग छ, न अन्य कुनै सरोकारवाला निकायसँग । तर, जन्मदर्ता अभावमा शिक्षाबाट वञ्चित भएको घटना निकै कम रहेको शिक्षा संयोजक यादवको दाबी छ ।

कानुनी व्यवस्था के छ ?

जन्मदर्तासम्बन्धी ऐनको दफा १८ र नियमावलीको नियम १६ अनुसार आमाबुबाको अनुपस्थितिमा पारिवारको १८ वर्ष पुगेको व्यक्ति सूचक बस्न पाउने व्यवस्था छ । सो नभए प्रचलित कानुनबमोजिमको संरक्षकले त्यस्तो बालबालिकाको जन्मदर्ता बनाउन सक्नेछन् । यी व्यक्ति पनि नभए स्थानीय तहको सम्बन्धित वडाध्यक्षले सूचक बसिदिनु पर्ने व्यवस्था छ ।

जन्मदर्ता बनाउन सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अस्पतालबाट जन्मेको प्रतिवेदन र घरमा जन्मेको भए खोप दिएको प्रमाण जस्ता कागजात लिएर जन्मदर्ता बनाउने प्रावधान राखेको छ । यस्तै, विदेशी भएमा राहदानीको प्रतिलिपि, वडामा बसोबास गरेको सिफारिस र बुबाआमाको ठेगान नभए सोसम्बन्धी प्रहरी प्रतिवेदनको अधारमा जन्मदर्ता बनाएर बालबालिकाको पहिचान दिनुपर्ने कानुनी व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय