जनकपुरधाम । महोत्तरी मठिहानी नगरपालिका ९ सिमरदहीकी रामरती सहनी आइतबार बिरामी भइन् । टाउको दुखेर छट्पटाउन थालेपछि उनको परिवारले प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरायो । चिकित्सकले ‘सिटी स्क्यान’ गर्नुपर्ने सुझाए । उनको परिवारले ६ हजार रुपैयाँ तिरेर ‘सिटी स्क्या’को लागि रसिद लियो । रामरतीका भान्जा रामजिवन ‘सिटी क्यान’ हुने कक्षमा पुगे । तर, त्यहाँ उनले कर्मचारी र चिकित्सक भेटेनन् । सोधखोज गर्दा कर्मचारीले ‘सिटी स्क्यान’ मेसिन बिग्रेको बताए ।
‘सिटी स्क्यान’ कक्ष बाहिर बेडमा राखेर उक्त दिन उनको परिवार तीन घण्टा कुरेर बसे । तर, ‘सिटी स्क्यान’ भएन । कर्मचारीले पनि उनीहरूलाई ‘सिटी स्क्यान’ हुने/नहुने भनेनन् । “कर्मचारीहरूले हुने/नहुने कुरा भनिरहेको छैनन् । मेसिन बिग्रेको छ मात्रै भन्छन्,” रामरतीलाई स्ह्यार गर्न आएकी पारवती सहनीले भनिन्, “मेसिन बिग्रेको छ भने पैसा किन लिएको ?”
जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ३५ वर्षीय संजय महरा सवारी दुर्घटनामा परे । यही साउन ५ गते उनी पनि प्रादेशिक अस्पताल भर्ना भए । उनको दाहिने तिघ्रा भाँचिएको छ । चिकित्सकले स्टिल हाल्नु पर्ने सल्लाह दिएका छन् । तर, गत साउन ५ गते भर्ना भएका संजयको तिघ्रामा १५ गतेसम्म स्टिल राखिएनन् । चिकित्सकले शल्यक्रियाका लागि साउन ९ गतेका लागि पहिलो पटक उनलाई समय दिए । तर, अस्पतालमा स्टिल नहुँदा उक्त समयमा उनको शल्यक्रिया हुन सकेन । पुनः साउन १५ गतेको समय दिइयो ।
संजय महराजस्तै समस्याले ग्रसित थिइन्, धनुषाको ओरही गाउँपालिका ६ चक्करकी ६० वर्षीया फेकनीदेवी मण्डल । यही साउन ९ गते भर्ना भएकी उनलाई पनि साउन १५ गतेकै शल्यक्रियाको समय दिइएको थियो । यसरी सरकारी अस्पतालमा शल्यक्रियाका लागि बिरामीलाई हप्ता दिन नै कुर्नुपर्ने बाध्यता छ । यहाँ समयमा बिरामीले उपचार नपाउँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।
अस्पतालका निर्देशक डा. रामनरेश पण्डित यी सबै समस्या स्वीकार गर्छन् । अस्पतालसँग प्राविधिक कर्मचारी अभाव हुँदा मेसिन बिग्रिँदा समय लाग्ने गरेको उनी बताउँछन् । “एक त हामीसँग भएको ‘सिटी स्क्यान’ मेसिन नै धेरै पुरानो छ । अर्को हामीसँग प्राविधिक कर्मचारी पनि अभाव छ,” उनले भने, “यस विषयमा मन्त्रालयलाई जानकारी गराइएको छ ।”
बिरामीलाई एक सातासम्म उपचारको लागि कुर्नुपर्ने विषयमा उनले शल्यक्रिया कक्ष अभाव रहेको बताए । उनका अनुसार अहिले दुईवटा शल्यक्रिया कक्ष छ । एउटामा इमर्जेन्सी र सुत्केरी गराउनेको शल्यक्रिया हुन्छ । अर्कोमा तीन/तीन दिन अर्थो र सर्जरीका बिरामीको, एक दिन नाक, कान र घाँटी सम्बन्धि बिरामीको शल्यक्रिया गरिन्छ । “दुईवटामा भ्याइँदैन । त्यही भएर समय तालिका बनाइएको छ,” उनले भने, “बिरामीको चापले अहिलेको जनशक्तिबाट पनि भ्याउन गाह्रो छ । त्यसकारण कुर्नुपर्ने समस्या छ ।”
निर्देशक पण्डितले केही दिनभित्र तीनवटै मोडुलर ओटी संचालनमा ल्याउन प्रयासरत रहेको बताए । ०७९ भदौ ३० गते तत्कालीन सामाजिक विकासमन्त्री नवलकिशोर साहले नवनिर्मित तीनवटा मोडुलर ओटीको उद्घाटन गरेका थिए । इमरर्जेन्सी कक्ष रहेको भवनको पहिलो तल्लामा न्युरो, अर्थो र जेनरल शल्यक्रिया कक्ष निर्माण गर्न झण्डै १० करोड रुपैया खर्च भएको छ । तर, उक्त कक्षहरु अहिलेसम्म संचालनमा आउन सकेका छैन । अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. शरद यादवका अनुसार शल्यक्रिया कक्ष अभाव भएकै कारण दैनिक गम्भीर प्रकृतिका दुई जनासम्म बिरामी बाहिर रेफर गर्ने गरिएको छ । न्युरो र हृदय रोगको शल्यक्रिया गर्नुपर्ने अन्य अस्पताल पठाउने गरिएको उनको भनाइ छ ।