site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस जिल्ला सभापतिले गरे अर्थमन्त्रीको चर्को आलोचना, ९० किमि बाटोका लागि पाँच लाख छुट्याएकोमा धन्यवाद !

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा सरकार, अर्थमन्त्री प्रकाशशरण महत र आगामी आर्थिक वर्षको बजेटमाथि छलफल केन्द्रित भएको छ । अर्थमन्त्री र बजेटमाथि जिल्ला सभापतिहरू आक्रोशित रुपमा प्रस्तुत भएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको छलफलमा बोल्ने सांसद समेत रहेका जिल्ला सभापतिहरूले आफ्नै दलबाट अर्थमन्त्री बनेका प्रकाशशरण महतको बजेट नीतिप्रति आपत्ति जनाएका हुन् । अर्थमन्त्री महतले गुट नमिलेर बजेट कटौती गरेको भन्दै उनीहरूले गम्भीर आपत्ति जनाएको बैठकमा सहभागी एक नेताले बाह्रखरीलाई जानकारी दिए ।

“बोलेका ९० प्रतिशत सभापतिहरूले बजेटमा आपत्ति जनाउनुभयो । यतिसम्म कि, अर्थमन्त्रीले गुट नमिलेका कारणले बजेट कटौती गरेको भन्दै बैठकमा आपत्ति जनाउने काम भयो,” ती नेताले भने ।

Dabur Nepal
NIC Asia

पार्टी सदस्यता वितरण ‘डिजिटल’ बनाइएको र त्यससम्बन्धी प्रशिक्षणका लागि बोलाइएको बैठकमा सभापतिहरू विषयान्तर भएर आफ्नै दलले नेतृत्व गरेको सरकारले पार्टीलाई जोड्न नसकेको र बजेट नुवाकोट, डडेलधुराकेन्द्रित भएको भन्दै विरोधमा उत्रिए ।

पार्टीले क्रियाशील सदस्यता र सदस्यको वितरण, नवीकरण र अभिलेखीकरण, पार्टीका विभिन्न तहका सम्मेलन, पार्टी सञ्चालन तथा व्यवस्थापनलगायत अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा राखेर बैठक बोलाएको थियो । तर, बजेटको विषय लिएर युवा तथा खेलकुदमन्त्री समेत रहेका मोरङ्ग जिल्ला सभापति डिगबहादुर लिम्बु नै बजेट र अर्थमन्त्रीसँग असन्तुष्ट देखिएका बैठकमा सहभागी एक नेताले बताए ।

लिम्बूले अर्थमन्त्रीले मात्र जिल्लामा बजेट लगेको आरोप लगाए । उनले आफूले भने मन्त्री भएर पनि जिल्लामा बजेट लैजान नसकेको भन्दै आपत्ति जनाएको एक नेताले जिकिर गरे ।

“अर्थमन्त्रीले बजेट आफ्नो जिल्लामा लगे । समानुपातिक बजेट वितरण भएन । सिलिङ घटाएर पठाएको छ, अर्थमन्त्रीले गुट नमिलेको कारणले बजेट कटौती गर्नुभयो,” लिम्बूको भनाइ उद्धृत गर्दै ती नेताले भने, “म मन्त्री त हुँ । तर, मैले मेरो जिल्लामा बजेट लैजान सकिनँ ।”

बैठकमा बोलेका धादिङ जिल्ला सभापति रामनाथ अधिकारीले जिल्लाले बजेट नपाएको भन्दै कुुन मुख लिएर जिल्ला जाने भन्ने प्रश्न गरे । प्रतिनिधिसभा सांसद समेत रहेका उनले आफूलाई ९० किलोमिटर सडक निर्माणका लागि पाँच लाख छुट्याइएको भन्दै गुनासो गरे ।

“९० किलोमिटर बाटोका लागि पाँच लाख विनियोजन गरेर अर्थमन्त्रीले हामीलाई ठूलो उद्धार गर्नुभयो । उहाँलाई धेरै धेरै धन्यवाद । धादिङलाई पाँच लाख दिने, बजेट जति सबै नुवाकोटतिर हाल्ने,” अधिकारीले बैठकमा भने, “जिल्ला जान सक्ने अवस्था छैन । कुन मुख लिएर जिल्ला जाने ? निराश पार्नुभयो ।”

अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले पार्टीबाट सरकारमा गएर मन्त्री बनेकाहरू 'पशुपतिका साँढे जस्तो' भएको भन्दै आक्रोश पोखे । अर्थमन्त्रीलाई भेट्न खोज्दा भेट नदिएको भन्दै उनले सो अभिव्यक्ति दिएको ती नेताले जानकारी दिए । मकवानपुर जिल्ला सभापति बुद्ध लामाले पनि बजेटमाथि असन्तुष्टि पोख्दै स्थानीय तहका जनप्रतिनिधि पार्टीबाट टाढिन थालेको जिकिर गरे ।

अछामका पार्टी सभापति पुष्पबहादुर शाहले पनि केन्द्र र प्रदेश दुवैतिर मन्त्रीहरूले बजेट एकलौटी गरेका कारण जिल्ला जाने अवस्था नभएको र आफूहरूलाई समस्या परेको धारणा राखे । बाजुरा जिल्ला सभापति रामसिंह रावलले बजेटको विषयमा असन्तुष्टि जनाएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

सरकार र पार्टीबीच खोजियो समन्वय

बैठकमा जिल्ला सभापतिहरूलाई आफ्नो प्रगति विवरण पनि उल्लेख गर्न लगाइएको थियो । बैठकमा बोल्ने जिल्ला सभापति र विशेष गरेर सांसद समेत रहेका जिल्ला सभापतिहरूले सरकार र पार्टीबीचको सम्बन्ध खोजेका छन् ।

कांग्रेस सरकारमा भए पनि त्यसको आभास र अनुभूति जनता र पार्टी कार्यकर्ताले गर्न नपाएको भन्दै जिल्ला सभापतिहरूले प्रश्न उठाएका छन् । सांसद समेत रहेका संखुवासभा जिल्ला सभापति दीपक खड्काले कांग्रेस नेता र सांसदहरूले आफ्नै पार्टीका मन्त्रीलाई भेट्न नपाएको भन्दै गुनासो गरे । उनले सरकार भएको अनुभूति दिलाउन पार्टी चुकेको भन्दै बैठकमा आक्रोश पोखेको एक जिल्ला सभापतिले बाह्रखरीलाई जानकारी दिए ।

“दीपक खड्काले मन्त्रीसँग भेट हुन नपाएको भन्दै बाढीपहिरो पीडितलाई राहत नदिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले कांग्रेसको सरकार भए पनि त्यसको अनुभूति नभएको कुरा राख्नुभयो,” ती जिल्ला सभापतिले भने ।

बैठकमा बोलेका नन्दप्रसाद न्यौपानेले पनि कांग्रेसको सरकार भएको अनुभूति पार्टी कार्यकर्ता र जनतालाई किन दिलाउन नसकेको भन्दै प्रश्न गरे । उनले गाउँ गाउँमा भएको समस्या सुनाउन मन्त्रालय धाउँदा मन्त्रीले समय नदिएपछि जनताको समस्या कसले सुन्छ भन्दै प्रश्न गरे ।

“यो सरकार भएको अनुभूति भएन । मन्त्रीले नै कांग्रेस सभापतिलाई भेट्न समय दिँदैन भने गाउँको समस्या कसरी थाहा हुन्छ,” न्यौपानेले भने, “चुनाव लड्दा जनताको समस्या समाधान गर्छु भन्ने तर अहिले मन्त्री भएपछि जनताको बेवास्ता गर्ने । यसरी जनताको समस्या कसरी समाधान हुन्छ ? संगठन कसरी बलियो हुन्छ ?”

उठ्यो नक्कली भुटानी शरणार्थी प्रकरणको विषयबैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृत्व परेकोमा पनि प्रश्न उठेको थियो ।

पूर्णबहादुर ‘कान्छाराम’ तामाङले पनि यो विषयमा आपत्ति जनाए । उनले यो प्रकरणमा थुनामा रहेका आङटावा शेर्पाको नामै लिएर कुरा राखेको बैठकमा सहभागी एक नेताले बताए । तामाङले २०७४ सालको निर्वाचनमा शेर्पाले अन्तर्घात गरेको र कारबाहीका लागि सिफारिस गर्दाको परिणाम अहिलेको भएको भन्दै पार्टीले नहेरे पनि भगवानले सफाइ दिएको जिकिर गरेको ती नेताले बताए ।

“उहाँले भीष्मराज आङ्देम्बेलाई देखाएर अघिल्लोपटक कारबाहीका लागि सिफारिस गर्दा अनुशासन समितिले कारबाही गर्न खुट्टा कमायो । जोगाउने काम भयो,” तामाङको भनाइ उद्धृत गर्दै ती नेताले भने, “मैले त अहिले चुनाव जितेँ । आखिर आङटावालाई भगवानले सजाय दिए । जेलमा परेकालाई निलम्बन गर्न पर्दैन, किन निलम्बन नगरेको ?”

‘रूपान्तरण अभियान’को विरोध

बैठकमा पार्टीको दोस्रो समूहका नेताहरूले सातै प्रदेश र डायस्पोराका लागि आयोजना गरेको रूपान्तरण अभियानमा समेत आपत्ति जनाइएको छ । इतर समूहका नेताहरूले गरेको कार्यक्रमलाई संस्थापन समूहका सभापतिले विरोध गरेका हुन् ।

सांसद समेत रहेका रामेछाप जिल्ला सभापति पूर्णबहादुर ‘कान्छाराम’ तामाङले आफूले महामन्त्रीलाई रूपान्तरण अभियान भनेर पार्टी कमजोर बनाउने काम नगर्न आग्रह गरेको जानकारी दिए ।

“यसले ग्रुपिजम गर्यो । मेरो जिल्लामा आएको भए त यताबाट आउनुभयो, यताबाट जानुहोस् भनेर कार्यक्रम गर्न दिने थिइनँ भनेर भनेँ,” तामाङले बाह्रखरीसँग भने । पार्टीले चिठी पठाएर आधिकारिकता नदिएको कार्यक्रमलाई मान्यता दिन नसकिने आफूले धारणा राखेको उनले बताए ।

दोलखा जिल्ला सभापति वर्मा लामाले महाधिवेशनबाट निर्वाचित जिल्लाका नेताहरू कोही विदेश गएको, कोहीले पार्टी छाडेको र भएकाहरूले पनि बैठकमा नआएकाले यसमा के गर्न सकिन्छ भन्ने स्पष्ट खाका माग गरेको जानकारी दिए ।

तरूण दल जम्बो भयो, सल्लाह भएन

बैठकमा तरूण दलको केन्द्रीइ समिति जम्बो आएको भन्दै विरोध भएको छ । मकवानपुर जिल्ला सभापति बुद्ध लामा तथा रामेछाप सभापति कान्छाराम तामाङले यो विषयमा प्रश्न उठाएका थिए ।

मकवानपुर सभापति लामाले तरुण दलको जम्बो केन्द्रीय समिति भएको भन्दै जिल्ला सभापतिलाई जानकारी समेत नदिएर पद बाँडिएको बताए । यस्तै, रामेछाप सभापति तामाङले पनि तरुण दल, महिला संघलगायत संस्था ल्याउँदा जिल्ला सभापतिलाई किन नसोधेको भन्दै कुरा राखेको जानकारी दिए । उनले यत्रो जम्बो टिम आउँदा पनि आफ्नो जिल्लाबाट केन्द्रीय सदस्य नबनेकोमा पनि आपत्ति जनाए ।

गुल्मी सभापति खिलध्वज पन्थीले त झन् कम्तीमा रुख चिह्नमा मत दिनेलाई केन्द्रीय सदस्य बनाइनुपर्नेमा मतदाता नामवलीमा नाम नै नभएकालाई केन्द्रीय सदस्य बनाएको जिकिर गरे ।

सच्याइएको* यसअघि प्रकाशित समाचारमा अर्घाखाँचीका जिल्ला सभापति श्रेष्ठले राखेका धारणा भुलवस गलत पर्न गएकाले सच्याइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro