यो साता जीपी अर्थात् गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइरालाको योगदान अविस्मरणीय छ । दृढ इच्छाशक्ति भएका राजनीतिज्ञ कोइरालाको उचाइ राजनीति नै हो । तर, एक राजनीतिज्ञको दृष्टि र योगदान विविध विषयमा हुने रहेछ ।
उहाँलाई क्रान्तिका नायक पनि भनियो र शान्तिका नायक पनि । क्रान्ति, शान्ति दुवै प्रक्रियाबाट कोइरालाले नेपाली समाजको समग्र पक्षमा प्रभाव पार्नुभयो । राजनीतिक व्यक्तित्वको आलोचना र समर्थन दुवै हुनु स्वाभाविकै हो । गाली, ताली दुवै सुन्न र सहन समर्थ मानिस नै राजनीतिमा क्रियाशील हुनसक्ने रहेछ । मानिस सबलता र कमजोरी दुवै मिश्रित चेतना हो ।
राजनीतिक व्यक्ति वा राजनीतिलाई सरल लबजमा उपदेश दिन र उपाय देखाउन सहज छ । तर, राजनीति गर्नलाई अत्यन्त कठिन समर्पणसमेत आवश्यक छ । गिरिजाप्रसाद कोइराला राजनीतिका यस्तै उहापोहका सबल पात्र हुनुहुन्छ । जन्मजयन्तीको सयौं वर्षको अवसरमा कोइरालाको भूमिकाले नेपाली राजनीति र सामाजिक जीवनमा पारेको सकारात्मक विषयमा चर्चा गरिनु वाञ्छनीय कर्तव्य नै हुन्छ ।
समाजको पहिचान, संस्कृति र गति यस्तैयस्ता व्यक्तित्वहरुको योगदानले पनि अगाडि बढ्छ । समयको गति वा प्रगतिको मापन प्रकृति एवं मानिसकै योगदान र कर्ममा विम्बित हुने हो । भनिने ‘प्रगतिशील समाज’ मानिसकै कर्मको प्रतिफल हो ।
गिरिजाप्रसाद कोइराला समयलाई पनि प्रगतिशील पहिचान दिने नेपाली राजनीतिको उच्च व्यक्तित्व हो । समयलाई दुई शक्तिले प्रगतिशील पहिचान दिन्छ । एक, प्रकृति र दोस्रो व्यक्ति, व्यक्तित्वले । जन्मजयन्तीको अवसर पारेर नेता कोइरालाको स्मृतिमा विश्वविद्यालय स्थापना गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिज्ञा यस अर्थमा प्रशंसनीय छ ।
निरंकुश जहानियाँ सत्ताबाट जनतालाई मुक्त पार्न वा प्रजातन्त्र स्थापना र पुनस्थापना गर्न उहाँले गर्नुभएको कठोर श्रमको साक्षी समय र लोकतान्त्रिक गणतन्त्र प्राप्तिको परिणाममा पनि प्रतिविम्बित छ । उहाँको कर्म नेपाली नागरिकलाई स्वतन्त्र र सम्मानित जीवनको प्रत्याभूति दिनु थियो ।
गिरिजाप्रसाद कोइराला राजनीतिमा जति कुशल मानिनु भयो त्यही अनुपातमा उहाँले पत्रकारिता र पत्रकारसँग स्नेह राख्नुभयो । एक पत्रकारको नाताले मैले उहाँको निकै सान्निध्य पाएँ । समाचारदाताको हैसियतमा उहाँसँग यात्रा गर्ने थुप्रै अवसर लिएँ । यो स्मृति लेखमा उहाँले सञ्चार पत्रकारिताप्रति राख्ने उदात्त दृष्टिको मेरो फराकिलो अनुभवको केही अंशसमेत समेटिनेछ ।
मुलुकमा त्राहीमाम् थियो । प्रतिदिन हत्याको खबरले सञ्चारमाध्यम भरिएका हुन्थे । विहानैदेखि हत्या,हिंसाको खबर सुन्नु बाँचे, बचेका नेपालीको दिनचर्या जस्तै बन्यो । निहत्था मानिस मारिन्थे । भनिन्थ्यो ‘सफया, बहादुरी पूर्वक सफाया ।’ यही बेला सत्र हजारभन्दा बढी नेपालीको जीवन जबर्जस्ती खोसियो । बाँच्न पाउने आधिकार मारियो ।
सुराकीको आरोपमा, खान वा बास नदिएको निहुँमा, पुरानो घर झगडाको निहुँमा खासगरी प्रजातन्त्रप्रति आस्थाराख्नेहरूको ‘सफाया’ तीव्रगतिले गरिँदै थियो । मुलुक रक्तरञ्जित भयो । द्वन्द्व, भिडन्त । हिंसा, प्रतिहिंसा । सुरक्षाकर्मीका ब्यारेक उँडाइन्थे । बाटाघाटमा विस्फोटका घटना हरेक दिन सुनिन्थे । यति मरे, उति मारिए । सुन्दासुन्दा जीवित मानिसको मानवीय संवेदना नै मृतजस्तो भएको थियो । यस्तै हो भनेजस्तो । अभ्यस्त नियतिजस्तो ।
यस्तो देख्ने, भोग्ने नेपाली पुस्ता अहिले पनि भयग्रस्त छ । पीडित छ । अब यस्तो कहिल्यै नहोस्, कसैले नगरोस् भन्ने चाहन्छ । यस्तो हिंसाको दशक लामो रात पार गरेको पनि अहिले झण्डै दुई दशक अर्थात् उन्नाइस वर्ष भयो । त्यस्तो रगतको आहलमा जन्मिएको बच्चा पनि अहिले बीस, तीस वर्षको भयो । यस्तो भोगाइ उसको स्मृतिमा खासै छैन ।
त्यो पुस्तालाई यी दिन सुन्दा कथा लाग्लान् । तर, व्यथा बुझ्न सुन्नै पर्छ । पढ्नै पर्छ । भोगेर, पढेर देखिने रगतको आहलबाट देशलाई उद्धार गर्ने नेता राजनीतिज्ञ गिरिजाप्रसाद कोइरालालाई बुझ्न पनि अबको पुस्ताले सुन्नैपर्छ । सुनाउनेहरू सिद्धिएपछि इतिहास पढ्नै पर्छ । बाह्य मुलुकका यस्तै हिंसा सुन्दा जीवनको तादात्म्य अहिले पनि ब्युँझन्छ ।
समग्रमा भन्नुपर्दा राजाशाहीले प्रजातन्त्रलाई दुस्मन ठान्यो । छिमेकी देश चीनका नेताको नाममा बनाइएको ‘नेपाल कम्युनिस्ट पार्टी माओवादी’ले पनि प्रजातन्त्र र प्रजातन्त्रवादीलाई नै वैरी ठान्यो । प्रजातन्त्रवादीलाई छानीछानी मार््यो । त्यसैले यो हिंसा र यसका सूत्राधारलाई गिरिजाप्रसाद कोइराला ‘चिम्टाका दुई पाटा’ भन्नुहुन्थ्यो– ‘एउटा राजा, अर्को माओवादी । यी दुई पाटा मिलेर नेपाल, नेपालको प्रजातन्त्र र प्रजातन्त्रवादीलाई चिमोट्ने काम गरेका छन् ।’
देश हिंसाले आक्रान्त बेला । २०५६ सालतिर । प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई । गृहमन्त्री पूर्णबहादुर खड्का । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, पूर्वप्रधानमन्त्री । उहाँले माओवादी हिंसाले अति पीडित पश्चिमी जिल्लाहरुमा जाने कार्यक्रम बनाउनु भएछ । मैले पनि उहाँको टोलीमा सामेल हुने अवसर पाएँ । खासगरी गोरखापत्रमा समाचार सम्प्रेषण गर्न ।
त्यो दर्दनाक दृश्यको पाटो बेग्लै छ । यहाँ चर्चा सम्भव छैन । यतिमात्रै भन्न सकिन्छ–त्यही बेला मैलै छिनालिएको टाउको त्यही मानिसको धडमा जोडिएर राखिएको तस्वीर देखेको हुँ ।‘राणा, राजाको बिरोध गर्नेहरुको हविगत यस्तै हुन्छ भन्दै दोबाटोमा झुन्ड्याउने इतिहास र दृश्यको सम्झना आयो ।’
रुकुमको आमसभामा आउने तयारीमा लागेका स्थानीय कांग्रेस नेताको हत्या गरेर अर्थी, मलामी पठाइयो । एक पत्रकारको नाताले यस्ता थुप्रै अमानवीय क्रूरतालाई प्रत्यक्ष देख्न पाएँ । यही कारण होला माओवादी हिंसाले सकारात्मक परिणाम दियो भन्नेहरुप्रति म सकारात्मक हुनै सकिन । निहत्था, मान्छे र जनताको हत्या वा हिंसामा कतै हुन्छ र सकारात्मक परिणाम ?
यही बेला हो मैले रुकुम देखेको । रोल्पा टेकेको । सल्यानको खलंगा पुगेकोे । जाजरकोट, कालीकोट र जुम्लालगायत जिल्लामा हिंसा देखेको । जनजीवनको आँखी झ्याल बुझेको । अहिले पनि सम्झना छ–ती ठाउँका सुरक्षाकर्मीले सुरक्षा घेराभन्दा बाहिर नजान इसारा गरेको, भनेको ।
त्यो यात्रामा मैले समाचार रिपोर्टिङमात्रै होइन गिरिजाप्रसाद कोइरालाको भाव र चिन्तासमेत नजिकबाट सुने, देखेँ । हिंसाले दुःखी उहाँको अनुहारको रक्तिम आभा देखेँ । यही यात्राजन्य प्रकट प्रतिबद्धता हो– गिरिजा बाबुले सुरु गर्न चाहेको शान्ति प्रक्रिया ।
दिउँसो आमसभा, भेटघाट । बेलुका नेपालगन्ज फर्कियो । हेलीकप्टरको झ्यालबाट देखिने गाउँ, बस्ती र दृश्य नियाली रहनुहुन्थ्यो । उहाँ आफ्नो अनुभूति भावुक मुद्रामा सुनाउनु हुन्थ्यो । त्यो आवाजमा दृढता पनि हुन्थ्यो । त्यसपछि उहाँले शान्ति स्थापनाको लागि उठाउनु भएका कदम जग जाहेर नै छन् । अन्ततः हिंसारत माओवादीलाई पनि शान्तिको छहारी दिनुभयो । देश र जनता बाँच्ने, बच्ने बाटो देखाउनु भयो ।
जहाँ जाँदा पनि सँगै गएका पत्रकारहरूको उहाँ ख्याल राख्नुहुन्थ्यो । खानपान, बसाइ सबै सोध्नु हुन्थ्यो । यस्तै अनुभव हामी केही पत्रकार उहाँसँगै दोलखा, रामेछापबीचको किर्नेटार जाँदा होस् कि म रसुवा र सिन्धुपाल्चोक जाँदा पनि भएको छ । तर, कहिल्यै, कुनै पनि पत्रकारलाई के लेख्यौ ? भन्ने प्रश्न उहाँले सोधेको सुनिन ।
अर्को प्रसंग हृतिक रोशन काण्डको बेला हो । जतिबेला लैनचौर क्षेत्रमा विध्वंश मच्चिएको थियो । विद्यार्थी आन्दोलित । अस्कल कलेज नजिकै । चारैतिर अश्रुग्यास । तत्कालीन समाज कल्याण परिषद् (हाल उपराष्ट्रपति निवास) मा नेपाल प्रेस युनियनको कार्यक्रम थियो ।
त्यस्तो बेला पनि उहाँ चिसो रुमालले आँखा पुछ्दै कार्यक्रममा आइदिनुभयो । पुरुषोत्तम बस्नेत, हरिहर विरही पनि सहभागी । म युनियनको अध्यक्ष थिएँ । त्यही दिन पनि उहाँले साना पत्रिका, स्वतन्त्र पत्रिका र साना राजनीतिक दलहरुको आवश्यकता, महत्त्व र उपादेयताबारे महत्वपूर्ण विचार व्यक्त गर्नुभयो । प्रजातन्त्रको विकासमा पत्रकारितासँग उहाँले राखेको हार्दिक साइनोको अनुभूति त्यसपटक पनि मैले गरेको हुँ ।
अर्को प्रसंग छ –महामना बीपी कोइराला पत्रकारिता विशेष स्मारिका प्रकाशन । प्रेस युनियनले प्रकाशन गरेको । त्यो अंक लिएर म उहाँलाई भेट्न महाराजगंज निवासमा पुगेँ । ओल्टाइपल्टाई खुब हेर्नुभयो । सानो थियो । केही हरफ पढ्नु पनि भयो । धेरै खुसी हुनुभयो । भन्नुभयो – यसको चौबीसप्रति ल्याइदिनु । म आफैं विराटनगर लगेर बाँड्छु । पत्रकारिताप्रतिको उहाँको अगाध लगाव मैले नजिकबाट निकै बुझेँ ।
नेता गिरिजा बाबुसँग नजिक हुने मौका खासगरी पुरुषोत्तम बस्नेत र वीरेन्द्र दाहालले दिलाउनु भएको हो । यही मौका हो मैले केही सिकेँ, केही सम्झेँ र अलिकति भए पनि देश बुझेँ । उहाँले पत्रकारितामा गरेको कर्म पनि केही सुने ।