site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
सञ्जालको सञ्चार ‘संस्कृति’

हाम्रो समाज खासगरी युवा पुस्ता सामाजिक सञ्जालमा व्यस्त हुने क्रममा छ । भाग्यमानी समाज । भाग्यमानी किनभने हामी उत्पादक होइनौ तर आयातित प्रविधिको मनग्य प्रयोक्ता वा उपभोक्ता चाहिँ हौँ । उपभोगको लतले क्रमशः केही नयाँ सिर्जना थप्नसक्ने व्यक्ति र उत्पादक आउने विश्वास भने हुन्छ ।

जानकारीमूलक सामाजिक सञ्जाल प्रयोगको दशक लामो हाम्रो अभ्यासले हामीलाई के दियो र के बिगार् यो भन्ने प्रश्नमा परख गर्न सकिन्छ । नेपाली मौलिक संस्कारको उन्नत पक्षलाई सञ्जाल सञ्चारले कति समृद्ध बनायो वा क्षति गरिरहेको छ ? सामाजिक अध्येताको लागि यो प्रश्न महत्त्वपूर्ण पाठ बन्नसक्छ ।

सामान्य दृष्टिले सरसर्ती हेर्दा सामाजिक सञ्जाल संस्कृतिभन्दा विकृतिको माध्यम बढी भएको देखिन्छ । प्रयोगले यस्तो दृश्य बनाएको हो । संस्कृति संस्कारसँग त्यो पनि असल संस्कारसँग सम्बन्धित हुन्छ । बाँकी त अपसंस्कृति र विकृति भइहाले । संस्कार नै मौलिक पहिचान हो । संस्कारको क्षय वा संस्कृतिको क्षयबाट गर्व गरिने मौलिक (बहुल संस्कारबोधक नेपाली) तत्त्वबोधलाई समेत क्षयीकरण गर्ने हो । कतै हाम्रो समाजमा यस्तै प्रक्रिया बढ्दै त छैन ?

KFC Island Ad
NIC Asia

जानकारी दिने कारण कतिपयले सामाजिक सञ्जाललाई पत्रकारिताको परिभाषाभित्र कोच्ने प्रयास गरे । बहस पनि भयो । तर, विश्वसनीय निष्कर्ष भने यस्ता सञ्जाल प्रवाहित सामग्र सञ्चारको सामग्रीको कोटी (माध्यम) भित्र पर्नसक्छन् तर पत्रकारिताभित्र यिनलाई राख्न मिल्दैन भन्ने नै आयो । पत्रकारिता र सञ्चारको अनुहार आफैँमा टर्लक्कै खुट्याउन सकिन्छ ।

सञ्जाल सञ्चार अधिक जानकारीमूलक हो, ज्ञानमूलकभन्दा । जानकारी र ज्ञानमा भिन्नता छ । जानकारी छिपछिपे ज्ञानको स्रोत हो । ज्ञान गहिराइ हो । चिन्तनशीलहरूले जानकारीलाई ज्ञानको स्रोत बनाउन सक्लान् तर बहकिनेहरू बरालिने गर्छन् । ज्ञान र जानकारीबीचको भिन्नता सञ्जालसञ्चार र पत्रकारिता जस्तै हो ।

Royal Enfield Island Ad

प्रयोक्ता नेपाली समाज बहकिएको छ । बरालिएको छ । यसमा धेरै कारक र कारण होलान् । मौलिकताहीन सामाजिक सञ्जाल यसमा सबैभन्दा बढी कारक बनेको वा बनाइएको छ । अपशब्द, अपदृश्य र अपव्याख्याले यी सञ्जाल भरिएका भेटिन्छन् । अन्धभक्त हुँइयाँको बाढी देखिन्छ ।

खासगरी राजनीतिक तहमा अन्धभक्त चाकर हुँइयाँ यतिखेर निकै चल्तीमा छ । त्यहाँ न कुनै समीचीन समीक्षा हुन्छ न कुनै सहिष्णु शालीनता भेटिन्छ । मात्र एकतर्फी आक्रोश वा कसैप्रति अन्धभक्ति । आफ्ना विपक्षीलाई पढी नसक्नु शब्द, भाषामा अश्लील गाली गर्ने माध्यम बनाइएको छ सञ्जाल सञ्चारलाई । निर्लज्ज प्रस्तुति ।

आफ्नो पक्षलाई वा ‘कथित’ आफ्नो नेतालाई सर्वगुण सम्पन्न र दूधले धोएको शुभ्र देखाउने झुठो माध्यम बने, बनाइएको छ प्रविधि प्रयोगलाई । चाकरी, अन्धभक्ति र नयाँ भजन, किर्तनको माध्यममा दुरुपयोग गरिएका सञ्जाल सामग्री अरूलाई तुच्छ प्रस्तुतिमा प्रहार गर्ने माध्यम समेत बनाइएका छन् ।

धैर्यशील पठन संस्कृतिमा ह्रास आएको छ । चटपटे जानकारीले उत्पन्न अहंबोध अहंकार, आक्रोश, अपसंस्कार र अपव्याख्याको द्योतक भएको छ । के यही हो त ? समाजिक सञ्चारको उपभोग, प्रयोग ? जहाँकहीँ यस्तै हुने हो त ? हामीकोमा जस्तै ?

सञ्जाल ई–माध्यममा चल्ने अर्थात् ‘नेट’ वेस्ड हो । ईमाध्यममा ईम्यागेजिनहरू चटपटे सञ्जालभन्दा भिन्न वा खुराक प्रदायक पनि छन् । ईमाध्यम अर्थात् इलेक्ट्रोनिक्स माध्यम (विद्युतीय माध्यम ।) नेट(सञ्जाल) बाट प्रवाह हुने ईमाध्यम । सामाजिक सञ्चार पनि र पत्रकारिता पनि ईमाध्यम(नेट) बाट नै प्रवाह गरिने हुन् ।

समाजको कुनै पनि सिपालु जानकारले प्रयोग गर्नसक्ने भएकै कारण यस्ता माध्यमलाई सामाजिक माध्यम (सोसियल मिडिया)  भनिएका हुन् । नेपालमा फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम आदि माध्यमको प्रयोग हुँदै आएको छ । खासगरी फेसबुकमा हाम्रो लत बसेको देखिन्छ । स्तुति र गाली गर्न यही माध्यम अत्यधिक प्रयोग गरिएको छ ।

सामाजिक सञ्जालको बहुप्रयोगले पत्रकारितामाथि धावा बोलेको छ । थप स्थानीय पत्रकारितालाई ओझेलमा पारेर समाप्त गर्दिने भय बढेको छ । यसबाट स्थानीय आवाज र सत्य तथ्यभन्दा पनि मनोगत आग्रह, पूर्वाग्रहले समाजलाई उराल्ने, बराल्ने वा भ्रमित गर्ने जोखिम बढी देखिएको छ । किनभने हामीले यी माध्यमको प्रयोग यसरी नै गर्दैछौँ वा दुरुपयोग गर्दैछौँ ।

ईम्यागेजिनमा पनि हाम्रो पठन ध्यान कम नै जान्छ । यो सबैले प्रयोग गर्नसक्ने माध्यम पनि होइन । तर, सामाजिक सञ्जाल भने जान्नेहरु सबैको पहुँच र प्रयोगमा आउँछ । त्यसैले बढी यसको प्रयोग गरिन थालेको हो । यस्सो हेर्यो, जिब्रो पट्कायो, फट्कार्यो बस ।

ईजर्नलिज्मले कागजको मूल्य त घटायो नै होला । नभए पनि कागजमा छापिने शास्त्रीय पत्रकारिता (पेपर जर्नलिज्म) को अस्तित्वलाई कडा चुनौती दिएकै छ । कैयन् छापा माध्यम बन्दै भए । तीमध्ये कतिपयको पनि ईसंस्करण आएका छन् ।

ई(विद्युतीय) माध्यमले पत्रकारिताको पारम्परिक उद्देश्यलाई भने बोकेकै छन् । त्यो पनि बिजुली गतिमा जस्तै प्रवाह गर्छन् । छापामा जस्तो समय यिनमा लाग्दैन । जानकारी, सूचना, शिक्षा, उत्प्रेरणा र मनोरञ्जन जस्ता पत्रकारिताको पारम्परिक विशेषतालाई बृहत् शैली, शिल्पमा समेत प्रवाह गर्न ईमाध्यम(पत्रकारिता) को कोसिस तल्लीन छ । तर, समाजिक सञ्जाल प्रवाहित सञ्चार प्रयोग गर्न सक्षम नेपालीको तथ्यांक कति होला ?

श्रव्य, दृश्य र पठ्य यतिमात्रै किन, कार्टुन र फोटो पत्रकारिता पनि यी माध्यमबाट भएका छन् । ठ्याक्कै छापा पत्रकारिताको विकल्पजस्तो । रेडियो सुन्ने घटे, टेलिभिजन हेर्ने पनि घटे रे ! ईमाध्यम छापाको मात्रै होइन कि अरू ईमाध्यम (रेडियो, टेलिभिजन) कै पनि चुनौती बनेको छ । आआफ्नो जमानामा रेडियो, टेलिभिजन कति लोकप्रिय र आकर्षक थिए ! टेलिभिजनको पर्दाअघि दुनियाँ झुम्मिन्थ्यो । त्यस्तै सुन्ने जमाना रेडियोको थियो ।

यसैले छापा माध्यम सञ्जीवनी (कोरामिन) को खुराक खोज्नुपर्ने स्थितिमा धकेलिएका छन् । रेडियो, टेलिभिजन मानिसको हातहातको मोबाइलमा पनि पुगेको छ । छापा पत्रिका पनि त्यहीँ पढ्न सकिन्छ । मोबाइलमा ईम्यागेजिन वा पत्रिकासमेत प्रस्तुत छ । यसैमा सामाजिक सञ्चार पनि । पोडकास्ट समेत उपलब्ध छ । नयाँ नयाँ प्रस्तुति विकसित हुँदैछन् । गतिशील परिवर्तन र उपलब्धि समयको देन हो । मानिसको दिमागी देन ।

यिनको प्रयोग भने संस्कार निर्माणमा हुनुपर्ने हो । मौलिक संस्कारको उन्नत निर्माणमा । यस्तो समाज पनि छ तर झिनो छ । अधिक, खासगरी युवा वर्ग सामाजिक सञ्चारलाई प्रयोग गर्ने मामलामा बेपर्बाह देखिन्छ । नेपाली राजनीतिमाथि टिप्पणी गर्नेमा त ठ्याक्कै अर्को भजन, चाकरी र चाप्लुसीको जमाना आएजस्तो छ । एकोहोरो जमाना । आफ्नो टिप्पणीको मर्यादा वा अरूलाई पुग्ने क्षति र पीडाप्रति बेपर्बाह छ यो पुस्ता । 

संस्कारमा रुढता पनि छ, तत्जन्य विकृति पनि छन् । यस्ता विकृत परम्परालाई निराकरण गर्न यी माध्यम उपयुक्त हतियार हुनसक्छन् । तर, हामी कसरी प्रयोग गर्छौँ ? कसरी उपयोग हुँदैछौँ ? स्वयंले एकपटक आआफ्नै प्रस्तुति पढौँ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro