site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेससँग बार्गेनिङ र एमालेमाथि दबाब बढाउने ‘प्रचण्ड’ प्रयास, अस्तित्व रक्षा साझा स्वार्थ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस वा एमालेले आफूलाई बाहिर राखेर सत्ता–समीकरण गर्न नसक्ने गरी ‘समाजवादी मोर्चा’ घोषणा गरेका छन् । 

उनले संघीय संसद्का मुख्य दुई दल कांग्रेस र एमाले नमिलेसम्म माओवादीलाई किनारा लगाउन नसक्ने संख्या जुटाएर मोर्चा बनाएका हुन् । मोर्चामा प्रचण्ड नेतृत्वको माओवादी केन्द्र (३२ सिट), जनता समाजवादी पार्टी (१२ सिट), नेकपा (एकीकृत समाजवादी) (१० सिट) र निर्वाचन आयोगमा दर्ता नभएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रहेका छन् ।

मोर्चाका १५ बुँदे ‘उद्देश्य तथा नीतिगत प्रतिबद्धताहरू’को पहिलो बुँदामा लेखिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने ।’ 

Dabur Nepal
NIC Asia

Samajbadi-MOrcha1687173241.jpg

जतिसुकै समाजवाद मार्गको कुरा गरे पनि यसका तीनवटा रणनीतिक उद्देश्य रहेको देखिन्छ– पहिलो, सत्ता–गठबन्धनको मुख्य घटक कांग्रेससँग ‘बार्गेनिङ’ क्षमता बढाउनु । सत्ता–गठबन्धनका लागि संघीय संसद्को निर्णायक सङ्ख्यालाई एकत्रित गर्नु । दोस्रो सत्ताको नेतृत्व गरिरहेको माओवादीमाथि आक्रामक र एकीकृत समाजवादी सिध्याउन क्रियाशील प्रमुख प्रतिपक्षी एमालेमाथि दबाब सिर्जना गर्नु । र, तेस्रो अस्तित्वको संकटमा पुगेका माओवादीसहित चारै दलको अस्तित्व जोगाउने प्रयास गर्नु । 

सत्ताको साँचो

अब ‘समाजवादी मोर्चा’सँग संघीय संसद्मा ५४ सिट हुने छ । कांग्रेस सभापति शेरबहादुर देउवासँग साढे दुई वर्षका लागि ‘भद्र सहमति’ गरेर प्रधानमन्त्री बनेका प्रचण्डबारे कांग्रेसभित्रैबाट आवाज उठ्ने गरेको थियो– केवल ३२ सिट भएको माओवादीलाई प्रधानमन्त्री दिनु अनुचित भनेर । उनले अब यो अपजसबाट मुक्ति पाउने छन् । उनले ५४ सिट एक ढिक्का बनाउने प्रयास गरेका छन् । 

यो संख्यासँगै अब ‘समाजवादी मोर्चा’सँग यस्तो रणनीतिक संख्या सुरक्षित भएको छ, जसको सहयोगबिना न ७८ सिट भएको एमालेले सरकार निर्माण गर्न सक्छ न त ८७ सिट भएको कांग्रेसले नै सक्ने छ । संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा अल्पमत सरकार गठन गर्नु अर्को विकल्प हुने छ ।  

अर्थात्, अब माओवादीलाई किनारा लगाउनुपर्‍यो भने एक मात्र विकल्प बाँकी रहने छ– त्यो भनेको राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नु । जो तत्कालै सम्भव देख्दैनन्, एमाले उपमहासचिव प्रदीप ज्ञवाली । कांग्रेस इमान्दार भएर राजनीतिक स्थिरताका लागि एमालेसँग मिल्न तयार भए मात्र यो सम्भव हुने उनको धारणा छ ।

नेता ज्ञवालीले बाह्रखरीसँग भने, “एमालेले गत पुस १० गते नै राजनीतिक स्थिरता र सुशासनका लागि मिलेर सरकार बनाउन देउवाजीलाई प्रस्ताव गरेका हौँ । अध्यक्ष केपी शर्मा ओलीजीले हाम्रो पार्टीका एक जना जिम्मेवार नेतालाई उहाँसँग संवाद गर्न पनि पठाउनुभएको हो तर उहाँले त्यसमा धोका दिनुभो । आफ्नो नेतृत्वमा अल्पमत सरकार बनाउने  कोसिस गरेपछि एमालेले प्रचण्डजीलाई सघाएको हो ।”

यस हिसाबले हेर्दा ‘समाजवादी मोर्चा’ निर्माण गरेर प्रचण्ड–माधव नेपालले सत्ताको साँचो बन्ने प्रयास गरेका छन् । एक वर्षअघि नै ‘समाजवादी केन्द्र’ बनाएर अघि बढ्ने सोच अघि सारेका नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई उपेन्द्र यादवकै दबाबमा मोर्चामा स्थान नदिनुले पनि प्रचण्ड संख्याको खेलमा लागेको पुष्टि गर्छ । 

SamajBadi Morcha 1 2 21687172261.jpg

कांग्रेस सशंकित, एमाले आक्रामक

सत्ता साझेदार वामपन्थी दलहरूले समाजवादी मोर्चा गठन गरेपछि सत्ता हस्तान्तरणको मिति पर्खिएर बसेको कांग्रेस सशंकित भएको छ । ३२ सिट भएको कमजोर माओवादीलाई आफूले भनेको बेलासम्म भनेजसरी चलाउन सरकारको नेतृत्व दिएको कांग्रेस झस्किएको हो । 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका संघीय सांसद् श्याम घिमिरेले बाह्रखरीसँग भने, “समाजवादी मोर्चा बनाएर आफ्नो शक्ति सञ्चय गर्न खोजेका हुन् । आफ्नो शक्ति देखाउन पनि खोजेका हुन् ।” 

घिमिरेले समाजवादी मोर्चा बनाउँदा कांग्रेसलाई दुई कुराले असर पार्ने बताए । पहिलो, सत्तामा बसेका सबै घटक कम्युनिस्टहरू समाजवादी सिद्धान्तको प्रचारप्रसारमा लाग्ने हो भने त्यसले ‘उदार प्रजातन्त्र’ र लोकतान्त्रिक समाजवादी कांग्रेसलाई सैद्धान्तिक क्षति पुर्‍याउने छ । दोस्रो, ५४ सिटको शक्ति निर्माण गरेर कांग्रेसको ‘८७ विरुद्ध ५४’ को अवस्था सिर्जना गरेको छ । 

“कांग्रेस र एमाले मिल्दाबाहेक प्रचण्डलाई बाहिर राखेर वैकल्पिक समीकरणको सम्भावना छैन भन्ने पनि सन्देश दिएको हुन सक्छ,” घिमिरेले भने, “यो राम्रो कुरा भएन । माओवादीबाहेक सत्तासमीकरण हुन सक्ने सम्भावनाको अन्त्य गर्नु सिटको बार्गेनिङ हो । कांग्रेस केन्द्रीय समिति बस्यो भने म यो कुरा उठाउँछु ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीले मोर्चा घोषणाभन्दा अगावै पार्टी  चलाउन नसक्ने अवस्था भएकाले मोर्चा बनाएर जनता झुक्याउन खोजेको बताइसकेका छन् ।  

उपमहासचिव प्रदीप ज्ञवाली कमजोर अवस्थामा पुगेको माओवादी केन्द्र, विघटनको संघारमा रहेको नेकपा (एस) र मधेसमा जनमत पार्टीले प्रतिस्थापन गर्ने अवस्थामा पुगेको जसपा अस्तित्व रक्षाका लागि एक भएको विश्लेषण गर्छन् । 

“उपेन्द्रजीको पार्टीलाई मधेसमा जनमत पार्टीले नराम्ररी चुनौती दिएको छ । माधव नेपालजीको पार्टी जोगाउन धौ–धौ छ,” ज्ञवालीले भने, “माधव नेपालले जति चाहे पनि उहाँको पार्टी नेकपा (माओवादी)मा विलय गराउन सक्नुहुन्न । त्यहाँका सांसद जोगाउने प्रयास हो यो ।” 

SamajBadi Morcha 1 21687172261.jpg

एमाले फुटाएर बनेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रचण्ड मिलेर बनाएको समाजवादी मोर्चा एमालेविरुद्धको मोर्चाबन्दीका रूपमा एमालेले बुझेको छ । घोषणासभामै एमालेविरुद्ध निर्माण भएको गठबन्धन भन्ने सन्देश प्रवाहित भएको एमालेको बुझाइ छ । “त्यो एमालेविरुद्ध तयार गरिएको गठबन्धन हो भन्ने हामीले पनि बुझेका छौँ,” नेता ज्ञवालीले भने ।

त्यसो त ‘प्रचण्डले पूरा गर्न नसकेको 'जनवादी क्रान्ति' म पूरा गर्छु’ भन्ने महत्त्वाकांक्षा बोकेर क्रान्तिकारी नारा दिँदै फेरि हिंसात्मक विद्रोहको प्रयास असफल भएर फर्किएका विप्लव पनि समाजवादी मोर्चामा समेटिएका छन् । यो उनको माओवादी केन्द्रमा पुनः फर्कने यात्राको पहिलो कदम हुन सक्छ । आफूपछि पार्टीको नेतृत्वको सम्हाल्ने व्यक्ति नपाइरहेका प्रचण्डका लागि पनि सत्तामा गएर भ्रष्टाचारको दाग नबेहोरेका विप्लव आफूपछि माओवादी केन्द्रको नेतृत्व सम्हाल्ने नेता हुन सक्ने आशा हुन सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro