
काठमाडौं । सभामुख देवराज घिमिरेको ‘रुलिङ’ मान्ने र नमान्ने विवादका कारण प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ ।
मंगलबारको संसद् बैठकमा नेपाली कांग्रेसले सभामुखको रुलिङ स्वीकार गर्दै अघि बढ्न प्रस्ताव गरेको थियो । तर, नेकपा (एमाले)ले रुलिङमा एकरूपता हुनुपर्ने भन्दै अस्वीकार गरेपछि सभामुख घिमिरेले बैठक नै १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
“सभामुख महोदय, सरकारका तर्फबाट गम्भीर त्रुटिहरू भइरहेका छन् । सत्तापक्षले समेत उठाउने विषय प्रतिपक्षले उठायो, ठिक गरेको छ । हिजो पर्यटन मन्त्रालयले त्रुटि गरेर रुलिङ भएको थियो, आज सहरी विकास मन्त्रालयले त्यही गल्ती दोहोर्याएको छ,” कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, “गल्ती भएकै हो । प्रतिपक्षले आफ्नो धर्म ठिकसँग निर्वाह गरेकै छ । तर, सभामुखले गरेको रुलिङ स्वीकार गरेर जाऔँ ।”
एमाले सांसदहरूले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर–५ लेखिएको विषय नसच्याउँदासम्म छलफल गर्न नदिने अडान राखेका थिए ।
एमालेका सांसद सूर्य थापाले सहरी विकास मन्त्रालयको पुस्तकको २७, २८ र २९ नम्बरमा प्रदेश नम्बर–५ उल्लेख भएको भन्दै त्यो नहटाउँदासम्म छलफल हुन नसक्ने बताएका थिए । सहरी विकासमन्त्री सीता गुरुङले त्रुटि भएको स्वीकार गरिन् । लिखितमा भएको त्रुटि सच्याइने भन्दै उनले छलफल अघि बढाउन आग्रह गरेकी थिइन् । उनको प्रस्तावपछि सभामुखले छलफल अघि बढाउन रुलिङ गरे ।
त्यसपछि सांसद थापाले सभामुखको रुलिङ अस्वीकार गर्दै फरक तर्क गरेका थिए । थापाले प्रस्ताव अस्वीकार गरेपछि लेखकले रुलिङ स्वीकार गरेर अघि बढ्न प्रतिपक्षलाई सभामुखमार्फत आग्रह गरे ।
लेखकको प्रस्तावपछि बोलेका एमाले सांसद रघुजी पन्तले सभामुखको रुलिङ मान्नुपर्ने बताए । तर, रुलिङमा एकरूपता हुनुपर्नेमा उनले जोड दिए ।
“सभामुखको रुलिङ सबैले मान्नुपर्छ । तर, रुलिङमा एकरूपता हुनु जरुरी हुन्छ । सभामुखको रुलिङ नै आपसमा विवादित भयो भने कुनचाहिँ रुलिङ मान्ने ?,” पन्तले भने, “अस्ति कोसी प्रदेशलाई प्रदेश–१ भन्दा छलफल नगर्न रुलिङ भएको छ । अहिले सहरी विकासमा लुम्बिनी प्रदेशलाई प्रदेश–५ भनेर छलफल गरौँ भन्ने रुलिङ मान्दा भोलि पर्यटन मन्त्रालयले पनि प्रदेश–१ नै लेखेर ल्यायो भने के हुन्छ ?” पन्तको तर्कपछि सभामुखले बैठक नै स्थगित गरेका हुन् ।