site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘आदिपुरुष’को विवाद र आलोचना : बालेनलाई चिठी आएको हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिन्दी सिनेमा ‘आदिपुरुष’मा समावेश संवादलाई लिएर सुरु भएको विवाद यति बेला उत्कर्षमा पुगेको छ । विवादित संवाद नहटाए नेपालमा हिन्दी सिनेमा नै चल्न नदिने भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ‘एक्सन’मा उत्रिएपछि विवाद उत्कर्षमा पुगेको हो ।

‘आदिपुरुष’मा सीता भारतकी छोरी हुन् भन्ने संवाद समावेश छ । उक्त संवाद सिनेमाबाट हटाउन मेयर बालेनले तीन दिनको समय दिएका थिए । शुक्रबार रिलिज गरिएको सिनेमा आइतबारसम्म चल्यो । आजदेखि भने काठमाडौं महानगरभित्रका हलमा यो सिनेमा चलेको छ्रैन ।

शुक्रबार बिहान पनि असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले यो सिनेमा प्रदर्शन गरेका थिएनन् । असुरक्षाको अवस्था नदेखेपछि शुक्रबारै दिउँसोदेखि भने चलचित्र प्रदर्शन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने भन्दै उनले हिन्दी सिनेमा चल्न नदिने बताएका छन् । “नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ,” मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।”

काठमाडौं महानगरभित्र राष्ट्रहितविपरीतको चलचित्र प्रदर्शनलाई निषेध गरिए पनि अरू क्षेत्र र विदेशमा चल्न दिइए त्यसले भ्रामक तथ्य स्थापित गर्ने उनको भनाइ छ ।

Global Ime bank

उक्त चलचित्रबाट आपत्तिजनक संवाद नहटाएसम्म सोमबारदेखि काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गरिएको उनले जनाएका छन् ।

चलचित्रकर्मीले भने सिनेमाको प्रदर्शन रोक्ने अधिकार स्थानीय सरकारलाई नभएको बताएका छन् । सिनेमाघर सञ्चालकले संघको अधिकार क्षेत्रमा स्थानीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सेन्सर बोर्डले रिलिजको सर्टिफिकेट दिइसकेपछि सिनेमा निर्वाध सञ्चालन गर्न पाउनुपर्ने हल सञ्चालक भाष्कर ढुंगाना बताउँछन् ।

सेन्सर बोर्डले जानकी (सीता) भारतकी छोरी हुन् भन्ने संवाद हटाउन लगाएर रिलिजका लागि अनुमति दिएको थियो । सो सर्टिफिकेट दिइसकेपछि स्थानीय तहले सिनेमा प्रदर्शन रोक्न नहुनेमा भाष्करको जोड छ ।

सिनेमा प्रदर्शनमा रोक लगाइएको विषयमा सञ्चार मन्त्रालयले आइतबार (हिजो) एउटा विज्ञप्ति जारी गरेको थियो ।

“चलचित्र केन्द्रीय चलचित्र जाँच समितिले मिति २०५० जेठ ३१ गते जाँच गर्दा नेपालको एक राष्ट्रिय विभूतिका रूपमा रहेकी जानकीलाई भारतीय बेटीको रूपमा प्रस्तुत भएको संवादमा भारतकी शब्दलाई हटाउन लगाई सोपश्चात् मात्र चलचित्र जाँचपास प्रमाणपत्र दिई सार्वजनिक प्रदर्शन गर्न अनुमति प्रदान गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ, “नेपालको सेन्सर बोर्डबाट प्रदर्शन अनुमति प्रदान गर्नुपूर्व नै हटाउन लगाइसकिएको उक्त संवादका सम्बन्धमा पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यम तथा सरोकारवालाहरूबाट जनाइएका आपत्तिका विषयहरूमा समेत मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”

मन्त्रालयको विज्ञप्तिले यो कसको अधिकार क्षेत्रभित्र पर्छ भन्ने विषय प्रस्ट नभएको भाष्कर बताउँछन् । यसमा संघ र स्थानीय सरकार दुवै स्पष्ट हुन आवश्य रहेको उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाले हिन्दी चलचित्र प्रदर्शन गर्न नदिएपछि सिनेमा हल व्यवसायी अदालत जाने तयारीमा छन् । “हामी कानुन व्यवसायीहरूसँग छलफलमा छौँ । उहाँहरूसँग छलफल गरेर हिन्दी सिनेमा चलाउन नदिने काठमाडौं महानगरपालिका र मेयर बालेन शाहविरुद्ध अदालतमा जाने तयारीमा छौँ,” सिनेमाघर क्यूएफएक्सका सञ्चालकमध्येका एक भाष्करले भने, “समय अभाव भएन भने हामी आजै अदालत जानेछौँ ।”

सिनेमा चलाउन दिने अधिकार संघको हो कि स्थानीय सरकारको भन्ने अदालतले स्पष्ट गरिदिने अपेक्षासहित हल सञ्चालकले न्यायालय गुहार्न लागेका हुन् ।

महानगरले ‘आदिपुरुष’सहित हिन्दी चलचित्र चलाउन नदिने बताएपछि दर्शकको सुरक्षालाई मध्यनजर गर्दै प्रदर्शन गर्न नसकिएको भाष्कर सुनाउँछन् । “न आधिकारिक पत्र छ न कसैको आधिकारिक निर्णय छ, यत्तिकै सिनेमा प्रदर्शन नगर्नु भरेर भनेपछि दर्शकको सुरक्षाका लागि पनि हामीले सिनेमा प्रदर्शन गर्न सकेनौँ,” उनले भने ।

मेयर बालेनपछि पोखरा महानगरपालिका र धरान उपमहानरपालिकाले पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाए । त्यसपछि ‘आदिपुरुष’को नेपाल वितरकले आजदेखि देशरभर सिनेमा नचलाउने निर्णय गरेको छ ।

‘आदिपुरुष’को नेपाल वितरक कम्पनी श्री व्यंकटेस इन्टरटेनमेन्ट प्रालिले नेपालभर चलचित्रको प्रदर्शन रोकिएको जानकारी दिएको छ । “आदिपुरुष काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा प्रदर्शन बन्द भएको विषयमा विभिन्न भ्रामक समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त चलचित्र कामपाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यका हल व्यवसायीले शान्ति सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको छ,” श्री व्यंकटेस इन्टरटेनमेन्ट प्रालिले भनको छ, “देशका विभिन्न नगरपालिकाका मेयरले पनि बन्द गर्न आदेश दिएका कारणले प्रदर्शन बन्द भएको व्यहोरा अवगत गराइन्छ ।”

कानुन व्यवसायी भने चलचित्रको प्रदर्शन रोक्ने अधिकार स्थानीय तहलाई नभएको जिकिर गर्छन् । संविधानविद् डा. विपीन अधिकारीले चलचित्र घरहरूमा सिनेमाको प्रदर्शन रोक्ने अधिकार स्थानीय सरकारलाई नभएको बताए ।

“संविधानको धारा उल्लेख गरेर कुनै निर्णय गर्न मिल्दैन । संविधानले दिएका अधिकार कार्यान्वयनका लागि कानुन जारी भएको हुन्छ,” संविधानविद् अधिकारीले भने, “तर, महानगरसँग सिनेमा प्रदर्शन रोक्ने सोझै संविधानको धारा उल्लेख गरी आफ्नो क्षेत्राधिकार कायम हुँदैन ।”

यता, टी–टावरकी ब्रान्च अफिसर राधिका दासले कामपाका मेयर बालेनलाई लेखेको भनिएको चिठी सामाजिक सञ्जालमा निकै धेरै सेयर गरिएको छ । सीता भारतकी छोरी कतै पनि नभनिएको भन्दै भ्रामक हल्ला फैलाउन आवश्यक नरहेको त्यसमा उल्लेख छ । सिनेमाका कतिपय कुरालाई कलात्मक रूपमा लिन पनि आग्रह गरिएको छ । तर, त्यो पत्र आधिकारिक हो/होइन खुलेको छैन । टी–सिरिज र उनको सामाजिक सञ्जालमा त्यो पत्र कतै देखिँदैन ।

‘आदिपुरुष’का संवाद लेखक मनोज मुन्तशिर शुक्लाले कुनै बेला नेपाल भारतकै हिस्सा रहेको अभिव्यक्ति दिएका थिए । भारतीय टेलिभिजन आजतकसँग उनले सन् १९०४ मा मात्र नेपाल भारतबाट अलग भएको झुटो जिकिर गरेका थिए ।

त्यसयता मनोज र ‘आदिपुरुष’का निर्देशक ओम राउतले नेपालमा भइरहेको विवादका विषयमा केही बोलेका छैनन् । बरु, मुन्तशिरले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै तीन घण्टा लामो सिनेमामा भएका एकाध कमजोरीलाई लिएर गाली गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सिनेमाका राम्रा पक्षलाई नजरअन्दाज गरिएको गुनासो पनि गरेका छन् । तर, उनको स्टाटसमा नेपालमा भइरहेको विवादबारे उल्लेख छैन ।

यसअघि, मेयर बालेनले सञ्चार मन्त्रालयलाई पत्र लेख्दै सो संवाद हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका थिए । नेपालको सार्वभौम मान्यताविपरीत ‘आदिपुरुष’मा विभूति जानकीलाई भारतकी छोरी भनिएको भन्दै उनले सो संवाद हटाउन लगाउनुपर्नेमा जोड दिएका थिए ।

यसैबीच, मेयर बालेनले महानगरभित्रका सिनेमा हलमा ‘आदिपुरुष’ चल्न नदिएपछि निर्माण पक्षले पत्र पठाएको हल्ला चौतर्फी फैलिएको छ । तर, यसमा सत्यता नरहेको महानगर स्रोतले बताएको छ ।

“महानगरलाई सोमबार दिउँसोसम्म सिनेमाको निर्माण पक्ष तथा भारतको कुनै पनि आधिकारिक निकायबाट पत्र पठाएको छैन,” महानगर स्रोतले बाह्रखरीसँग भन्यो, “भारतले चिठी पठायो भनेर भनेर हल्ला चलेको छ, तर अहिलेसम्म कतैबाट चिठी आएको छैन ।”

ओम राउतले निर्देशन गरेको सिनेमामा प्रभास रामको भूमिकामा छन् । सैफअली खान रावणको भूमिकामा छन् । कृति सेननले सीताको भूमिका निर्वाह गरेकी छन् ।

यही जुन १६ देखि रिलिज गरिएको ‘आदिपुरुष’ ५०० करोड भारुमा बनाइएको हो । यो सिनेमाले रिलिजअघि नै ४३२ करोड भारु उठाएको थियो । प्रतीक्षित मानिएको सिनेमाले रिलिजपछि आलोचना खेपिरहेको छ । राम्रो समीक्षा नपाएपछि बक्सअफिसमा पनि उत्साहजनक कलेक्सन देखिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement