
काठमाडौं । विश्वकै ठूलो ईकमर्समध्येको अलिबाबा ग्रुप होल्डिङका संस्थापक ज्याक माले जापानको टोकियो विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पढाएका छन् । १४६ वर्ष पुरानो प्रतिष्ठित जापानी शैक्षिक संस्थामा ज्याक माले यो हप्ताको सुरुमा पहिलोपटक पढाएका हुन् ।
५८ वर्षीय माले टोकियो कलेज र युनिभर्सिटी अफ टोकियोको ग्लोबल लिडरसिप प्रोग्राम (जीएलपी)ले संयुक्त रूपमा आयोजना गरेको विशेष ‘नवप्रवर्तन र उद्यमशीलता’ सेमिनारमा उनले जुन १२ मा विशेष वक्ताका रूपमा भाषण गरेका थिए ।
दुई घण्टा लामो सेमिनार व्यवस्थापन फिलोसोपी र युवापुस्ताले भविष्यमा कसरी सफलता हासिल गर्न सक्छ भन्ने विषयमा केन्द्रित थियो । त्यो ज्याकको जीवनको अनुभवमा आधारित थियो ।
सेमिनारमा जापान, चीन, भारत र मलेसियाका विद्यार्थीको सहभागिता थियो । विद्यार्थीले सेमिनारमा प्राध्यापक मासँग अर्थपूर्ण छलफल भएको बताएका छन् ।
चिनियाँ अर्बपति एवं विश्वकै धनाढ्यमध्येका ज्याक मा सन् २०२० को नोभेम्बरदेखि लामो समय हराएका थिए । उनको कम्पनीमाथि चिनियाँ सरकारी अधिकारीले विभिन्न किसिमका आरोप लगाउँदै नियन्त्रण गरेका थिए ।
त्यसपछि ज्याक मा बढीजसो समय जापानमा बसिरहेका छन् । उनले अलिबाबाको स्वामित्व समेत बेचिसकेका छन् ।