
नयाँदिल्ली । सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहान्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।
भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब सञ्चालनमा छन् ।
भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।
प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ ।
युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लंघन गरेको आरोप लगाएका थिए ।
यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।रासस/एएफपी