दलित र सुत्केरीले छुन्छन् भनेर स्वास्थ्य चौकीमा पाइपबाट पानी लैजान नदिँदा बैतडीको एउटा स्वास्थ्य चौकीमा प्रसूति सेवा नै बन्द भएको समाचारले नेपाली समाज मध्ययुगीन अन्धकारमै रुमल्लिएको देखियो । देशको कुनै भागमा यस्तो मध्ययुगीन अन्धविश्वास व्याप्त हुँदासम्म मुलुकलाई सभ्य र आधुनिक भन्नु पाखण्ड हुन्छ ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी सकिएपछि प्रसूति सेवा नै बन्द गर्नु परेछ । दलित र सुत्केरीले छुनसक्ने भन्दै नजिकको सार्वजनिक खानेपानी योजनाबाट पानी लैजान नदिएपछि स्वास्थ्य चौकीमा पानी आपूर्ति नहुँदा सेवा बन्द गर्नुपरेको हो ।
मन्दिरमा लगिएको पाइपबाट स्वास्थ्य चौकीमा धारा जोड्दा दलित र सुत्केरीले छुनसक्ने हुनाले पानीको मूल नै सुक्ने अन्धविश्वास स्थानीय बासिन्दामा रहेछ । त्यसैले उनीहरूले स्वास्थ्य चौकीमा पाइपबाट पानी लान नदिएका रहेछन् । स्थानीय बासिन्दाको यो व्यवहार जातिगत भेदभावको कसुर पनि हो ।
परन्तु, पञ्चेश्वर गाउँपालिका अध्यक्ष भने अन्धविश्वास हटाउन नभएर स्वास्थ्य चौकीका लागि ट्यांकरबाट पानी ल्याउने रकम उपलब्ध गराउन पो तयार भएछन् । सम्भवतः यस प्रकरणमा सबैभन्दा आपत्तिजनक र निराशाजनक पक्ष यही हो । कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस्तो अन्धविश्वास अपेक्षाकृत बढी नै प्रचलित छ ।
सम्पूर्ण नेपाली समाज र विशेषगरी सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिहरूका लागि यो अत्यन्त ग्लानि र लज्जाको विषय हुनुपर्ने हो । एक्काइसौं शताब्दीको नेपालमा दलित र सुत्केरीले छुन्छन् भनेर स्वास्थ्य चौकीमा खानेपानी नदिने अभ्यास पनि प्रचलित छ भनेर सामान्यतः कल्पना गर्न पनि मिल्दैन ।
जनप्रतिनिधिले अन्धविश्वासका सामु आत्मसमर्पण गर्नुको साटो स्थानीय जनतालाई सम्झाएर स्वास्थ्य चौकीमा निर्बाध पानी आपूर्ति हुने व्यवस्था मिलाउनुपर्थ्यो । त्यति गर्ने हुती नभए पाइपबाट ल्याइएको पानी स्वास्थ्य चौकीलाई दिएपछि देवतालाई चढाउन नहुने नै हो भने बरू मन्दिरमा धारा नलगे हुन्छ भन्न सक्नुपर्थ्यो ।
जेहोस्, अझै पनि सम्बन्धित सरोकारवाला सबैले प्रयास गर्ने हो भने स्थानीय जनता यस्तो लाजमर्दो अन्धविश्वासबाट मुक्त हुनसक्थे । सम्झाउँदा पनि नमान्ने वा अन्धविश्वासको पक्ष लिनेलाई त राज्यबाट कानुनबमोजिम कारबाही गराउन पनि जनप्रतिनिधि तयार हुनुपर्छ ।
एक शताब्दीअघि नै देशमा लोकतन्त्रको उज्यालो फैलाउन सहिद भएका दशरथ चन्दको जिल्लामा अझै पनि यस्तो अन्धविश्वास कायम रहनु आश्चर्य र क्षोभको विषय पनि हो । यो त्यहाँका जनप्रतिनिधिका लागि चुनौती पनि हो ।
बैतडीका जनप्रतिनिधि र प्रशासनले स्वास्थ्य चौकीलाई धारा दिए मूल सुक्छ भन्ने अन्धविश्वाससामु आत्मसमर्पण नगरून् ! यही पाइप लाइनमा स्वास्थ्य चौकीका लागि तत्काल धारा जोडियोस् ।