site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क लाग्ने

काठमाडौं । सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । 

यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय–परामर्श ईमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ ।

मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन भागमा वर्गीकरण गरिने छ । विभागले ट्याक्सीको आकार, यान्त्रिक क्षमता तथा उपलब्ध सुविधाका हिसाबले वर्गीकरण गर्ने तयारी गरेको हो ।

अर्डिनरी ट्याक्सी न्यूनतम आठ सय सीसी क्षमता वा सोभन्दा माथिको इन्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१२ हुनुपर्ने छ । यस्ता ट्याक्सीमा मनोरञ्जनका लागि कम्तीमा सवारीको अगाडि र पछाडि साउन्ड सिस्टम (स्पिकर)को सुविधा हुनुपर्ने छ । 

डिलक्स ट्याक्सी न्यूनतम एकहजार दुई सय सीसी क्षमता वा सोभन्दा माथिको इन्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०१९ हुनुपर्ने छ । यस्ता ट्याक्सीमा साउन्ड सिस्टम (स्पिकर), टच स्क्रिनसहितको कम्तीमा एक वटा डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झयाल, स्वचालित वातानुकूलन प्रणाली, पछाडि रिडिङ ल्याम्पको सुविधा हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको छ ।

मस्यौदाअनुसार लक्जरी ट्याक्सीको हकमा न्यूनतम दुई हजार सीसी क्षमता वा सोभन्दा माथिको इन्जिन भएको र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने ऊर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी)बीचको न्यूनतम अनुपात शून्य दशमलव ०२५ हुनुपर्ने छ । यस वर्गका ट्याक्सीमा मनोरञ्जनका लागि सवारीको अघिपछि साउन्ड सिस्टम (स्पिकर), सवारीको पछाडिको सिट पंक्तिका लागि कम्तीमा दुई वटा ‘टच स्क्रिन’सहितको डिस्प्ले, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल र हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रणको सुविधा हुनुपर्ने छ ।

साथै वाइफाइ इन्टरनेटको सुविधा, ट्याक्सीको अगाडि र पछाडिका लागि ‘हेड रेस्ट’, ‘कप होल्डर’, ‘रिडिङ ल्याम्प’,  ‘मोबाइल तथा विद्युतीय उपकरण चार्ज गर्न लागि डीसी वा एसी पावर आउटलेटलगायतका सुविधा उपलब्ध हुनुपर्ने छ ।  

वर्गीकरण गरिएका ट्याक्सीले वर्ग खुल्ने गरी सवारी सङ्केत चिह्न अनिर्वाय राख्नपर्ने छ । प्रत्येक ट्याक्सीले वर्ग खुल्ने गरी अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुना, पछाडिपट्टिको दायाँ तथा बायाँ ढोकाको सिसामा र पछाडिको सिसाको दायाँ तर्फको कुनामा अर्डिनरीले ‘ओ’, डिलक्सले ‘डी’ र लक्जरीले ‘एल’ चिह्न टाँस्नुपर्ने छ । साथै ट्याक्सीहरूले छतमा बत्ती राख्नुपर्नेछ ।

मस्यौदाअनुसार ट्याक्सी खाली हुँदा हरियो, सवारी खाली नहुँदा रातो र सवारी सेवामा नहुँदा ‘ह्वेन अफ ड्युटी’ बल्ने सेतो सङ्केत बत्ती बाल्नुपर्ने छ । साथै प्रत्येक ट्याक्सीले प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्प्लेसहितको जीपीएस नेभिगेसन प्रणाली पनि जडान गर्नुपर्ने छ ।  

शुल्क पनि फरक 
विभागले ट्याक्सीको वर्गीकरण अनुसार भाडा दरसमेत प्रस्ताव गरेको छ । जसअनुसार अर्डिनरी वर्गको ट्याक्सीको हकमा हाल नेपाल सरकारले ट्याक्सीका लागि तोकेको भाडादर नै कायम हुने छ भने डिलक्स ट्याक्सीको भाडादर अर्डिनरीको तुलनामा २० प्रतिशत बढी हुने छ ।

साथै, विभागले लक्जरी ट्याक्सीका लागि अर्डिनरी ट्याक्सीको भाडादरभन्दा एक सय प्रतिशत अर्थात् दोब्बर भाडादर प्रस्ताव गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro