site stats
बाह्रखरी :: Baahrakhari
देश
‘२८ करोडको प्रकरणमा टोपबहादुरले जम्मा ४० लाखले मान्थे होला त श्रीमान् !’
फाइल तस्बिर।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तमध्येका सानु भण्डारीका कानुन व्यवसायी अधिवक्ता विनोद शर्माले बहसका क्रममा टोपबहादुर रायमाझीले जम्मा ४० लाख मात्र लिएर मान्ने थिए र भन्ने प्रश्न गरेका छन् ।

उपप्रधानमन्त्री भइसकेको मान्छेले २८ करोडको प्रकरणमा संलग्न भएको भए जम्मा ४० लाख आफूले लिएर मान्थे होला र भनेर उनले रायमाझीको संलग्नता रहेको भन्दै दाबी लिएको अभियोगपत्रमा नै प्रश्न गरेका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको थुनछेक बहसका क्रममा अधिवक्ता शर्माले यस्तो प्रश्न गरेका हुन् ।

बहसमा उक्त भनाइको सन्दर्भ अभियुक्त सानु भण्डारीले मौकाको बयानमा टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ४० लाख दिएको स्वीकार गरेको विषयमा उठान गरेका थिए ।

भण्डारीका कानुन व्यवसायीले ४० लाख रकम सानुले सन्दीपको बैंकमा दाखिला गरेको स्वीकार गरेका थिए । तर, उक्त रकम आफूहरु सहसंस्थापक रहेको कम्पनीको लेनदेनको विषयमा भएको सानुका कानुन व्यवसायीले दाबी गरे ।

उनले कम्पनीको सेयर बेचेर आएको रकम नै सन्दीपलाई बैंक खातामा दाखिला गरेको समेत जिकिर गरे । अधिवक्ता शर्माले सरकारी वकिलले दायर गरेको अभियोगपत्र मनगढन्ते  र दन्ते कथा जस्तो भएको बताएका थिए ।

Global Ime bank

जाहेरीमा लेखिएको विषयवस्तुलाई कुनै तथ्य प्रमाण पुष्टि गर्न नसक्ने उनले दाबी गरेका थिए । अभियोगपत्रमा हेर्दा हचुवाको भरमा पाँच–पाँच अभियोग लगाइएको दाबी गर्दै उनले भने, “श्रीमान्, प्रमाण ऐन, २०३५ को दफा २५ अनुसार अभियोग पुष्टि गर्ने भार अभियोजनकर्तालाई हुन्छ ।”

उनले आफ्ना पक्ष सानु भण्डारीको घरबाट बरामद भएको भनिएको डायरीको विश्वासनीयतामा प्रश्न उठाए । “प्रहरीले भण्डारीलाई पक्राउ गरेपछि उनको घरबाट डायरी बरामद गरेको भनिएको छ श्रीमान् । तर पक्राउ परेको व्यक्तिको घरबाट प्रहरीले बरामद गरेको भनिएको डायरी उनैको हो भनी कसरी मान्नु ?,” शर्माले प्रश्न गरे ।

शर्माले भण्डारीलाई लगाइएका सबै अभियोगमा इन्कार गर्दै भने, “सरकारी वकिलले सानुले गृहको सूचना लिक गरी बालकृष्ण पन्थीबाट भुटानी शरणार्थी समस्या समाधान कार्यदलमा गणेश केसीलाई संलग्न गराइएको दाबी छ । तर श्रीमान् मेरा पक्षले केसीलाई चिनेका समेत छैनन् ।”

अधिवक्ता शर्माले आफ्नो पक्ष सानु भण्डारीले जाहेरवालाहरुमध्येका चार जनालाईमात्र चिनेको र उनीहरुबाट जग्गासम्बन्धी विषयको लागि रकम लिएको, सो रकम फिर्ता गरी हिसाब किताब क्लियर समेत गरेको उनले जिकिर गरेका थिए ।

उनले भण्डारीलाई पक्राउ गरी उनको घरबाट डायरी बरामद भएको भन्ने र ६० दिनसम्म थुनामा राखेर गरेको अनुसन्धानमा कहीँ कतै स्वतन्त्र प्रमाणको आधारमा लगाएको अभियोग पुष्टि गर्न नसक्नुले अभियोजनकर्ता तथा अनुसन्धान अधिकारीहरुको दक्षता र विज्ञतामा प्रश्न उठाए ।

उनले ठगी भएको भनिएको २८ करोड रकम कहाँ छ भनेर समेत प्रश्न गरे । “अभियुक्तहरुले यसरी यो रकम यहाँ खर्च गरे भन्ने समेतको व्यहोरा उल्लेख गरिएको छैन । रकम नै बरामद नभई ठगीको अभियोग लगाउन मिल्छ श्रीमान् ?,” उनले बारम्बार प्रश्न गरे ।

सानु भण्डारीको हालको आर्थिक अवस्था दर्शाउँदै अधिवक्ता शर्माले आफै ऋणमा डुबी लिलामी बेहोर्न परेको व्यक्तिले कसरी करोडौँ ठगी गर्यो होला भन्न मिल्छ भन्ने प्रश्न गरे । 

“ठगीको कसुर पुष्टि हुन ठगीबाट कुनै किसिमको लाभ लिएको हुनुपर्छ । मेरा पक्षले के लाभ लिए ? रकम लाभ लिएको भए लिलामीको अवस्था पुग्थे होला र श्रीमान् ?,” आफ्ना पक्ष भण्डारीलाई साधारण तारेखमा राख्न माग गर्दै उनले न्यायाधीशलाई नै प्रश्न गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu