
काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार ७०० किलो फोहोर संकलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे। उक्त सफाइ टोलीमा संलग्न फूर्वा शेर्पा र आंकामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।
प्रधानसेनापति शर्माले सो अवसरमा उनीहरूका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे। वातावरण दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा हिमाल आरोहणका क्रममा ज्यान गुमाउनको आत्माको चिरशान्तिको कामना गर्दै लामा गुरुले शान्ति पाठ गरे ।
कार्यक्रममा प्रधानसेनापति शर्माले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।
उनले भने, “अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भाबी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागु गर्नुपर्छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले मानिसको जीवन पद्धतिसँग जोडिएको तथा प्रकृतिको दीगोपन र पर्यावरण जोगाउनुपर्छ भन्ने उद्देश्य रहेको अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।
नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय प्रमुख सुन्दरकुमार पाण्डेले हिमालको स्वच्छता कायम गर्ने उद्देश्यले सञ्चालन भएको अभियानमा सरकारी तथा गैरसरकारी संस्थाबाट महत्त्वपूर्ण साथ सहयोग प्राप्त भएको बताए ।