site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देउवा–थापा वाकयुद्ध : पार्टी सुधार कि खपतका लागि मात्रै ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा हत्तपत्त सार्वजनिक अभिव्यक्ति दिँदैनन् । बोलिहाले थोरै बोल्छन् । चित्त नबुझेको कुरा भन्न धेरै भूमिका बाँध्दैनन् । गालीगलौजमा कम उत्रन्छन् ।

शनिबार उनी फरक मुद्रामा प्रस्तुत भए । पार्टी जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनमा प्रमुख अतिथिका रूपमा पुगेका थिए, देउवा । त्यही कार्यक्रममा उनले आफूविरुद्ध उभिएका पार्टी पदाधिकारीहरूलाई लक्षित गरेर अभिव्यक्ति दिए । 

उनको भनाइ थियो– नेताहरूलाई गाली गरेर ठूलो पार्टी बन्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

देउवाको भनाइ विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालक्षित थियो । किनकि महामन्त्रीद्वय देउवासँग सन्तुष्ट छैनन् । सरकारमा कांग्रेसको भूमिकादेखि पार्टी सञ्चालनसम्म उनीहरूको असन्तुष्टि छ । यसमा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेको पनि साथ छ । धनराज गुरुङ पनि इतर कित्तामै छन् ।

उनीहरूले सार्वजनिक रूपमै पार्टी नेतृत्वको आलोचना गर्दै आएका छन् । 

Global Ime bank

निरन्तर पार्टी नेतृत्वको विरोध गर्दै आएका महामन्त्री थापाले शुक्रबार नेपाल प्रेस युनियन उपत्यका प्रदेश प्रतिष्ठानको प्रथम अधिवेशनमा भनेका थिए– अहिलेको कांग्रेस नबदली विश्वास फर्किनेवाला छैन । बदल्ने भनेको कांग्रेसलाई ठिक बाटोमा हिँडाउने हो ।

थापाले पार्टी रूपान्तरणबारे बोलेका थिए । “कांग्रेस १४औँ महाधिवेशनपछि विधानअनुसार चल्न सकेको छैन । वर्तमान नेतृत्वबाट जनतामा आशा फर्कनेवाला छैन । पार्टीले आफू सबल भएका ठाउँमै विश्वास गुमाएको छ । यो समस्या कांग्रेसले समाधान गर्न सकेको छैन वा गर्छ भनेर जनतालाई विश्वास लागिरहेको छैन ।”

थापासहितका नेताहरूलाई जवाफ दिँदै देउवाले आफूलाई गाली गरेर नहुने बरु पार्टी बलियो बनाउन काँधमा काँध मिलाउनुपर्ने बताए । उनले अहिले आफ्नै कारण पार्टी थप बलियो भएको जिकिर गरे । पार्टी सुधारका लागि आफू बाधक नभएको भनाइ देउवाको थियो ।

“गाली गरेर केही हुनेवाला छैन । काम गर्नुसन्, पार्टी ठूलो बनाउनुस् । बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन । पार्टीलाई बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ,” देउवाले भनेका थिए, “जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो । मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।”

जुटाएर, फुटाएर, फकाएर, थर्काएर शक्ति आफ्नो हातमा लिन 'माहिर' देउवाको अभिव्यक्तिलाई लिएर अहिले  विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । 

कांग्रेस अहिले जटिल अवस्थामा छ । पार्टीको शक्तिशाली फोरम केन्द्रीय समितिको बैठक नडाकेको ९ महिना नाघिसक्यो । भ्रातृ संस्थाहरू निष्क्रियसरह छन् । बैठकको नाममा विधानले नचिन्ने पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बस्ने गरेको छ ।

कार्यसम्पादन समितिको ९ महिनाको बीचमा बसेका बैठकको निर्णयहरू केन्द्रीय समितिले अनुमोदन गरेको छैन । कांग्रेसमा कार्यसम्पादन समितिको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि मात्र कार्यान्वयन भएको मानिन्छ । सोही कारण पार्टी सभापतिविरुद्ध असन्तुष्टि बढ्दो छ । 

केन्द्रीय सदस्य दिलेन्द्र बडू पार्टी विधानसम्मत र आन्तरिक समझदारीमा चल्न नसक्दा सभापति र महामन्त्रीबीच वाक युद्ध चलेको बताउँछन् । 

“यसको अर्थ पार्टी विधानसम्मत नचलेकै हो । भएका विवादहरू बाहिर छताछुल्ल पारेर पार्टीको हित हुँदैन भन्ने होला,” उनले बाह्रखरीसँग भने, “बैठकनै नबसेपछि कहाँ गएर बोल्ने ? सभापतिजीले पनि संगठन निर्माणको अवधि हुन्छ भन्नुभएको छ । चाँडै केन्द्रीय समितिको बैठक बसेर त्यो बाटो खुलाएको हो कि भन्ने देखिन्छ ।”

कांग्रेसले अहिलेसम्म तीन तहको निर्वाचनको समीक्षा गर्ने गरी पार्टी बैठक राख्न सकेको छैन । आफ्नो दल सरकारमा भए पनि सरकार सञ्चालनमा पार्टीको एजेन्डा र भूमिकाको विषयमा देउवाले केन्द्रीय नेतृत्वसँग बसेर संवाद नै गर्न चाहेका छैनन् ।

सभापतिले गर्ने निर्णय कार्यकारी भूमिकामा रहेका महामन्त्रीद्वयले उनीहरूकै भनाइमा सुइँकोसमेत पाउँदैनन् । उनीहरूको एजेन्डा पार्टीभित्र लागु हुँदैन । नेताकार्यकर्तमा चरम निराशा छ । 

भ्रष्टाचार काण्डमा आफ्नै जिम्मेवार नेतासमेत मुछिँदासमेत पार्टी दुई कित्तामा उभिएको छ । यसले केन्द्रमा आफ्नो राजनीतिक रोटी सेकिए पनि जनता भने पार्टीबाट टाढिन थालेका छन् । त्यसकारण पनि सार्वजनिक स्थलमै पार्टी सभापति र महामन्त्रीबीच 'वाक युद्ध' चलिरहेको छ । 

सभापति देउवामा विश्वासपात्र मानिने पार्टी प्रवक्ता प्रकाशशरण महत पदले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व प्रत्येक पदाधिकारी र नेतृत्वको भएको बताउँछन् । पार्टी सञ्चालनमा भित्र एउटा कुरा गर्ने र बाहिर आएर अर्को बोल्ने पदाधिकारीहरूका कारण समस्या देखिएको आरोप उनको छ । 

“पार्टी सभापति धेरै विषयवस्तुमा बोलिराख्ने काम उहाँ गर्नुहुन्न,” महामन्त्रीहरूतर्फ संकेत गर्दै महतले भने, “जिम्मेवारी पूरा गरौं दोष दिने भन्दा पनि जसको जे पद हो, सोही अनुसारको जिम्मेवारी पनि छ । त्यो पूरा गरौँ भनेर सभापतिले भन्नुभएको हो । सबैले पूर्ण समर्थनका साथ दोहोरो मापदण्ड नगरी भित्र बोले अनुसार काम गरे भइहाल्छ नि !”

महान्त्रीद्वयप्रति संकेत गर्दै महतले विधानअनुसार पार्टी नचलाउने तर दोष अरूमाथि थोपर्ने प्रवृत्तिमा सुधार ल्याउनुपर्ने बताए । 

“सभापतिजीले पदाधिकारीहरूसँग बैठक बसेरै आफ्नो कदम अगाडि बढाइरहनुभएको छ । सार्वजनिक ठाउँमा बहस गर्नुभन्दा बहस र छलफल गर्नुपर्ने एजेन्डामा पदाधिकारी साथीहरूले सभापतिसँग बसेर संवाद गरेर आएको निष्कर्ष कार्यान्वयनमा जोड दिनुपर्छ,” महतले बाह्रखरीसँग गर्ने, “संरचनाहरू पूरा गर्न केही ढिला भएको कुरा सत्य हो र यसलाई पूर्णता दिन थालिएको छ ।”

पार्टीको १४औँ महाधिवशेनबाट दोस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका देउवाले पार्टी केन्द्रीय समितिलाई अझै पूर्णता दिन सकेका छैनन् । विधानअनुसार ६ महिनामा बन्नुपर्ने २८ विभागमध्ये प्रचार विभागले मात्र संयोजक पाएको छ । जसमा देउवाले मीन विश्वकर्मालाई संयोजक तोकेका छन् ।

अरू विभागको कुनै टुंगो छैन । लामो समयदेखि भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन ।

इतरसमूह निकट केन्द्रीय सदस्य तथा सांसद प्रतिमा गौतम पार्टी र जनताबीच दुरी बढेकाले पार्टी अन्तरसंवाद र अन्तरघुलन आवश्यक रहेको बताउँछिन् । 

“पार्टी अप्ठ्यारो अवस्थामा छ । पहिलो पार्टी भए पनि पार्टीको जीवन सरल अवस्थाबाट अघि बढेको छैन हामी समस्याकै चटारोमा परेका छौँ,” गौतमले भनिन्, “पार्टीको बैठक ९ महिना भयो केन्द्रीय समिति बैठक बसेको छैन । कार्यकर्ता त परकै कुरा केन्द्रीय सदस्यहरूले पनि बोल्न पाएका छैनन् । पार्टी यसरी पुरानै ढंगबाट चलेपछि नयाँ चुनौती कसरी हामी फेस गर्न सक्छौँ ?”

कांग्रेस इतिहासकै अप्ठ्यारो स्थितिमा पुगेको उनको बुझाइ छ ।

जानकारहरू बदलिँदो राजनीतिक कोर्सअनुसार कांग्रेस अगाडि बढ्न नसकेको बताउँछन् । नयाँ शक्तिहरूको उदयले चुनौती थपिरहेका बेला कांग्रेसले त्यसअनुसार आफूलाई बदल्न नसकेको पार्टीभित्रकै नेताहरू नै बताउँछन् ।

उनीहरूको भनाइमा यसरी बदलिएको संरचनाभित्र पुरानै ढंगबाट दल चलाउन खोज्दा आफूलाई लोकतन्त्रको हिमायती हुन भन्ने दल कांग्रेस पनि संकटबाट अछुतो छैन । पार्टीभित्र विधानअनुसार प्रत्येक महिना कार्यसम्पादन समिति र प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्ने हो भने भएका धेरै समस्या हल हुँदै जाने नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC